राप्ती यातायात पूर्ण अटोमेशनमा

काठमाडौं,
भाद्र २६ ।

राप्ती अञ्चलको सबैभन्दा पुरानो यातायात संस्था त्रिदेश्वरी राप्ती यातायात सेवा प्रा.लि. पूर्ण रूपमा अटोमेशनमा गएको छ । कम्पनीले बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण अटोमेशनमा लगेको हो ।

पछिल्लो समय नेपालका हरेक क्षेत्रमा प्रविधिको प्रयोग तिब्र रूपमा बढिरहेको बेला यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरिय सेवा दिनको लागि अटोमेशनमा गएको संस्थाका अध्यक्ष सुरेश हमालले बताए ।

अटोमेशनमा गएसँगै अब राप्ती यातायातका कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ । पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यलय सञ्चालन, चलानी, अभिलेखन लगायतका सबै कार्यहरू सफ्टवेयरमार्फत नियन्त्रण हुनेछन् ।

अबदेखि यात्रुहरूले राप्ती यातायातका एसी, डिलक्स् तथा मिनिबसको टिकट अनलाईन मार्फत काट्न सकिनेछ । यात्रुहरूले राप्ती यातायातको राप्ती यातायात डटकम डट एनपी, बससेवा डटकम, बससेवाको मोबाईल एप्लीकेशन तथा इसेवा डटकम डट एनपी मार्फत अनलाइन टिकट काट्न सकिनेछ । साथै नजिकको इसेवा जोन, पोइन्टलगायत साइबर, कम्युनिकेशन, आइएमई पे, मोबाईल बैंकिङ तथा ईन्टरनेट बैंकिङमार्फत समेत टिकट काट्न सकिनेछ ।

यात्रुहरूले आउँदै गरेको दशैैँ तिहारमा समेत आफू जाने कुनै पनि गन्तव्यमा सहजै टिकट काट्न सक्नेछन् । २०३७ सालमा अनौपचारिक रुपमा राप्ती अञ्चल बस तथा मिनीबस समिति नामबाट सुरू भएको यातायात सेवा २०४१ सालबाट राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका रूपमा सञ्चालनमा थियो ।

हाल संस्था कम्पनीका रूपमा दर्ता भइ त्रिदेश्वरी राप्ती यातायात सेवा प्रा.लि.का रूपमा सेवा गर्दै आएको छ । कम्पनीले लामो तथा छोटो दुरीमा राप्ती अञ्चल भित्र दाङ, सल्यान, प्यूठान, रुकुम, रोल्पा र राप्ती अञ्चल बाहिर काठमाडौंलगायत पोखरा, विरगञ्ज, काँंकडभित्ता, विराटनगर, नारायणगढ, बुटवल, पाल्पा, कृष्णनगर, भैरहवा, नेपालगञ्ज, सुर्खेत, राजापुर, धनगढी, महेन्द्रनगरका विभिन्न स्थानसम्म करिब एकसय वटा रुटहरुमा आफ्नो यातायात सेवा सञ्चालन गरिरहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार