परिवर्तनलाई अपमानित गर्ने काम अमान्य हुने – अध्यक्ष दाहाल

काठमाडौं,
भाद्र २३ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनलाई अपमानित गर्ने काम अमान्य हुने बताएका छन् । उनले पार्टी मुख्यालय धुमवराहिमा सोमबार आयोजित २१ औँ सुरेश वाग्ले स्मृति कार्यक्रममा बोल्दै परिवर्तनलाई अपमानित गर्ने काम अमान्य हुने बताएका हुन् । उनले गणतन्त्र र लोकतन्त्रलाई उल्टाउनका लागि प्रतिक्रियावादी शक्तिहरुले षड्यन्त्र गर्न थालेको बताउँदै सिंहको अगाडि स्याल आएर हल्ला गरेकै भरमा सिंह र स्यालको तुलना हुन नसक्ने बताए ।

अध्यक्ष दाहालले निरंकुशतावादी र कुनै पनि नाममा प्रतिक्रियावादी शक्तिलाई यो देशलाई फेरि निरंकुशताको जातोमा पिस्न दिने कुरा आफूहरुलाई स्वीकार्य नहुने बताए ।

आफूहरुको कमजोरी भए त्यसलाई सच्याउन तयार रहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सबैसँग आग्रह पनि गरे ।

अध्यक्ष दाहालले जनयुद्ध सुरु गर्दा आफूहरु छिटै मरिन्छ भन्ने लागेको बताए । उनले जनयुद्धका बेला मर्नका लागि तछाडमछाड भएको पनि बताए । को बाँचिन्छ को मरिन्छ त्यसबेला ठेगान थिएन, अध्यक्ष दाहालले भने, त्यसबेला हामी केन्द्रीय समितिमा १९ जना थियौं ।

हामीमध्ये धेरै छिटै मारिन्छौं भन्ने लागेको थियो । विद्रोहलाई निरन्तरता दिन सकिन्छ तर हाम्रो बौद्धिक तागतले राज्यसँग लडेर छिट्टै जित्न सकिन्छ भन्ने थिएन । त्यसैले पनि नेतृत्व सबै बाँकी राख्ने भन्ने हुँदैन । नेतृत्व पंक्तिबाटै बलिदान हुनुपर्छ भन्ने थियो । उनले वाग्लेको हत्यापछि सहिद हुन तछाडमछाड भएको बताए । उनले अहिले केही व्यक्तिहरुले यसरी प्राप्त भएको उपलब्धिको बदनाम गर्न लागिपरेको बताउँदै उनीहरु सफल हुन नसक्ने धारणा राखे ।

अध्यक्ष दाहालले सुरेश वाग्ले कम्युनिष्ट वैचारिक अग्रज र इमान्दार भएको बताउँदै राजनीतिक कुशलताद्वारा सबैलाई प्रभावित पार्न सक्ने नेताको रुपमा वाग्ले रहेको भन्दै वैचारिक अन्तरसंघर्षलाई ठीक ढङ्गले परिचालन गर्न अग्रणी भूमिकामा खेलेको बताए ।

यसमा तपाइको मत

अन्य समाचार