दशैं, तिहार र छठ पर्वका लागि सरकारले देशभर ७३ वटा सुपथ मूल्य पसल स्थापना गर्दै

काठमाडौं,
भाद्र २३ ।

दशैं, तिहार र छठ पर्वका लागि सरकारले देशभर ७३ वटा सुपथ मूल्य पसल स्थापना गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आइतबार बसेको बैठकले सुपथ मूल्य पसलको सङ्ख्या, स्थान र छुटको टुङ्गो लगाएको हो ।

वाणिज्य मन्त्रालयकाअनुसार साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दूग्ध विकास संस्थाले ती पसहरु सञ्चालन गर्ने छन्, जसमध्ये काठमाडौंमा तीन वटा घुम्ती पसल हुनेछन् । वाणिज्य विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार साल्ट ट्रेडिङले देशभर ३५ वटा, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २३ वटा र दुग्ध विकास संस्थानले १५ वटा सहुलियत पसल सञ्चालन गर्ने छ ।

कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुरलगायतका स्थानमा ९ वटा र ३ वटा घुम्तीसहित साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा ११ वटा पसल सञ्चालन गर्ने छ । उपत्यका बाहिर साल्ट ट्रेडिङले २४ वटा यस्ता पसल सञ्चालन गर्ने महानिर्देशक गौचनले बताए । गौचनकाअनुसार उपत्यका बाहिर, बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लाहानगायतका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा आउने छन् ।

यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौं उपत्याकामा पाँच र उपत्यका बाहिर १८ वटा पसल सञ्चालन गर्नेछ । दुग्ध विकास संस्थानले पनि काठमाडौं उपत्याकामा ४ र काठमाडौं बाहिर ११ वटा स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछ । भदौ २३ गते (आज)देखि कात्तिक १६ गते छठको दिनसम्म यस्ता सहुलियत पसल सञ्चालनमा आउनेछन् ।
सहुलियत पसलमा नुन, चामल, चीनी, गेडागुडीदेखि मासुसमेत छुट मूल्यमा पाइने छ ।

यसमा तपाइको मत

अन्य समाचार