मानव बेचविखन तथा ओसारपसार विश्वमै चुनौती – गृहमन्त्री रामबहादुर थापा

काठमाडौं,
भाद्र २१ ।

गृहमन्त्री रामबहादुर थापाले मानव बेचविखन तथा ओसारपसार विश्वमै चुनौतीको रुपमा देखिएको बताएका छन् । उनले नेपालमा पनि यो गम्भीर समस्याको रुपमा रहेको औल्याए ।

मानव बेचविखन तथा ओसारपसारविरुद्धको १३ औं राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले मानव बेचविखन बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका हुन् । उनले यसको नियन्त्रणका लागि गम्भीर भएर लागेकोसमेत दावी गरे ।

गृहमन्त्री थापाले यस्ता जघन्य अपराधका घटना हुन नदिन सरकारले कानुनी, नीतिगत र संरचनागत प्रयास गरिरहेको समेत बताए ।

उनले सरकारले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि प्रयास गरिरहे पनि बेचविखनको बदलिँदो स्वरुपले नियन्त्रण गर्न नसकिरहेको स्वीकार गरे । गृहमन्त्री थापाले सबै तहका सरकारहरुले समन्वय गरेर अघि बढ्नसमेत सुझाव दिएका छन् ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले मानव बेचविखन तथा ओसारपसार विश्वमै बढदै गएको समस्या भएकाले यसलाई नियन्त्रण गर्न सशक्त र प्रभावकारी कदम चाल्न सरकार प्रतिवद्ध रहेको बताइन् । उनले सरकार, प्रहरी र गैरसरकारी संस्थाहरुको पहलले मात्र यसलाई नियन्त्रण गर्न नसकिने भन्दै सबै जागरुग हुन आवश्यक रहेको बताइन् ।

बालबालिका बेचविखन विरुद्धको सार्क महासन्धिलाई तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएको दिनको सम्झनामा २०६४ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार