तीज-ऋषिपञ्चमीका विकृति, वैज्ञानिक तथ्य एवम् महत्व

सधैंको वर्षजस्तै यसपाली पनि नेपाली महिलाहरुको चाड तीजले शहर तथा गाउँ–घरका महिला दिदी– बहिनीहरुलाई छोएको छ । तीज खासगरी दिदी–बहिनीहरुको मिलनको पर्व हो । यो पर्वमा साँस्कृतिक, पौराणिक, सामाजिकजस्ता धेरै पक्षहरु जोडिएका छन् । भाद्र महिनाको शुक्ल पक्षको प्रतिपदाका दिन आफ्ना चेलीबेटीहरुलाई बोलाई द्वितीयाको दिन आफ्नो सामथ्र्यअनुसार मीठा-मीठा खाद्यवस्तुहरु तयार गरिन्छ र प्रेमपूर्वक उनीहरुलाई खुवाइन्छ । अर्को दिन अर्थात् भाद्र महिनाको शुक्लपक्षको तृतीयाको दिन तीज हो । तृतीया शब्दबाट तीज बनेको हो । प्रतिपदाबाट पञ्चमीसम्मका पाँचवटै दिनलाई समन्वितरुपमा तीज भने पनि खास तीजचाहिँ यसै दिनलाई मानिन्छ । यो दिन महिलाहरु निराहर व्रत बस्छन् ।
तीजसँगै जोडिएको अर्को पक्ष ऋषिपञ्चमी हो । यो दिन महिलाहरुको अति पवित्र चाड हो । पञ्चमीको दिन महिलाहरु सबेरै उठी विशेषरुपले स्नान गर्छन् र ऋषिहरुको पूजा गर्छन् ।

– ज्यो.पं. भरतमणि मरासिनी

बिहान नजिकको नदी वा जलशायमा गई अपमार्ग नामक ३ सय ६० वटा दतिवनले दाँत माझेर विशेषरुपले स्नान गर्छन् र शुद्ध वस्त्र धारण गरी सप्तऋषिहरुको पूजा गर्छन् अनि गोरूले नजोतिएको अन्न खान्छन् । यो व्रत एक पक्षबाट हेर्दा अत्यन्त वैज्ञानिक छ र यसमा केही भ्रामक कुराहरु धेरै गाँसिएका पनि छन् । तिनीहरुलाई समाजले निवारण अवश्य नै गर्नुपर्छ । यसको खास महत्व र यसका वैज्ञानिक पक्ष तथा विकृतिहरुका बारेमा मिलापको यस अङ्कमा प्रकाश पार्ने जमर्को गरेको छु ।
ऋषिक् भनेका इन्द्रीयहरु हुन् । ज्ञानेन्द्रीय (नाक, कान, आँखा, छाला, जिब्रो) र कर्मेन्द्रीय (हात, खुट्टा, मुख, मलद्वार र गुदद्वार) यी दस इन्द्रीयहरुलाई जितेर आफू संयमी रहनेलाई ऋषि भनिएको हो, जुन कुरा हाम्रो जीवनमा अत्यन्त आवश्यक छ  ।

हाम्रा वेद र पुराण तथा उपनिषद्हरुका निर्माता यिनै आदरणीय ऋषिहरु हुन् । ऋषि भनेको सबै प्रकारले इन्द्रीयहरुलाई जितेको, आत्मसंयमी, त्रिकालदर्शी, मन्त्रहरुका द्रष्टा, अन्तयन्त लामो समयसम्म बाँच्ने व्यक्ति हुन् ।

हामी यिनै ऋषिमुनिहरुका सन्तान हौं र हामीमा पनि ऋषिमुनिहरुमा जस्तै तेज र शक्ति छ । तर, त्यो शक्ति लुकेको छ, जसलाई हामीहरु भुलेर यत्रतत्र भट्किएका छौं । उनै दिव्य ऋषिहरुको पथको अनुशरण गर्न वा तिनीहरुले बताएको बाटो हिँड्ने प्रण गर्ने दिन ऋषिपञ्चमी हो । हामीहरु हाम्रा पूर्वज ऋषिहरुजस्तै वीर, शक्तिशाली र दीर्घजीवी बन्न सकौं भनी यसलाई महोत्वसका रुपमा मनाइएको हो । साँचोरुपमा उनीहरुले बताएको बाटोमा हिँड्नु नै ऋषिपञ्चमीको वास्तविक ऋषिपुजन हुन आउँछ । तर, आजभोलि पाश्चात्य विकृतिको प्रभावले गर्दा मानिसहरुमा शक्ति ह्रास भई दिनानुदिन मलिन, थकित र गलित भएका छन् । हाम्रा ऋषिहरुको पथ अनुशरण गरी हामी संसारका सर्वश्रेष्ठ व्यक्ति बन्ने प्रयास हामी गर्नुपर्छ । ऋषिपञ्चमीले हाम्रो दैनिक व्यवहार यस दिन गरिने क्रियाकलापजस्तो हुनुपर्छ भन्ने सन्देश दिएका छन् ।

जस्तै प्रत्येक दिन सबेरै उठेर चिसो पानीले स्नान गर्नुभन्दा पूर्व अपामार्गले या आफूकहाँ उपलब्ध कुनै चिजले दाँत माझ्ने र सफा हुने अनि काम, क्रोध, लोभ र मोहबाट मुक्त भई सफा र सात्विक भोजन गर्ने, झुटो नबोल्ने, आफ्ना पतिहरुसितको सहवास पनि केवल कामवासनाका लागि जनावरहरुले जस्तो नगरी ठीक समयमा सोच–विचार गरेरमात्र गर्ने, अन्यथा खराब प्रवृत्तिका बच्चा जन्मिन्छन् । रजोवती अर्थात् पन्छिएको बेलामा सहवास भयो भने या त गर्भ नै तुहिन्छ र आमालाई शारीरिकरुपमा यस्तो अवस्थामा खतरा हुन्छ । यदाकदा रहिहाल्यो भने पनि शारीरिकरुपमा असक्षम बच्चा जन्मिन्छन् । यदि सबलाङ्ग नै जन्मिए पनि हिरण्याक्ष र हिरयण्कश्यपुजस्ता, रावणजस्ता दुष्ट प्रकृतिका बच्चा जन्मिन्छन् । यसको प्रत्यक्ष प्रमाण हो रजावती भएकी दिदी र कश्यपमुनिबीच साँझका बेलामा भएको गर्भधान क्रियाबाट जन्मिएका दुईवटा बच्चा हिरण्याक्ष र हिरण्यकश्यपु । हामीलाई ऋषिहरुले आफ्नो जीवनमा उतारेर सत्य विचार गरेपछि मात्र मन्त्रको रुपमा दिएको ज्ञान हो यो । तसर्थ, यसरी संयमी जीवन बिताउन ऋषिपञ्चमीले हामीलाई सन्देश दिएको छ । यसरी आफू संयमी बनेर कामुकतालाई नियन्त्रण गरेर धर्मभावले उचित समयमा विचार गरेर योग्य सन्तान उत्पादन गर्नु, रजोवती भएका बेलामा सहवास नगर्नु र रजोवती भएका बेलामा शारीरिक र मानसिकरुपमा अत्यन्त थकित हुने भएकाले घरमा पकाउने काम पनि पुरूष आफैँले गर्नुपर्छ । यस्तो बेला नारीहरुलाई नेपालका पश्चिमी भेगमा पन्छिएपछि घरबाहिर छुट्टै छाप्रो हालेर राख्ने र सर्पले डसे वा बाघ–भालुले खाए पनि वास्तै नगर्नेजस्तो कुप्रथा गर्ने भन्ने होइन कि उनीहरुलाई घरकै अलि न्यानो ठाउँमा राखेर तातो, झोलिलो, पोसिलो खानेकुराहरु दिने, मानसिक र शारीरिक तनावबाट मुक्त गराउन पकाउने काम पुरूष आफैंले गर्नुपर्छ । विशेषगरी सँगै बस्ने र छोइने गर्नाले कामुकता उत्पन्न हुन्छ र सहवास हुन्छ भन्ने कारणले पुरूषहरुलाई नछुने भनिएको हो । उनीहरुलाई घृणा गरेर यसो गरिएको होइन । अन्य कुराहरु विकृतिका रुपमा आएका हुन् । यस्ता कुरा बिस्तारै समाजले हटाउँदै जानेछ ।

एकातिर ऋषिपञ्चमीका ३ सय ६५ दतिवन लगाउनुपर्छ भन्दै सकीनसकी ती दतिवनहरु मुखमा घोट्ने चलन छ, जसले गर्दा दाँतका गिँजाहरुमा घाउ भएर केही खान नसक्ने अवस्था हुन्छ । यो त प्रत्येक दिन एउटा–एउटा घोटेर दाँत सफा गर भनेको पो हो । एकै दिन ३ सय ६५ पटक नुहाऊ भनेको होइन, यो त ३ सय ६५ दिनै नुहाऊ भनेको हो । शास्त्रले कहिल्यै पनि दुःख हुने काम गर भन्दैन । यदि कहीँ छ भने मानिसहरुले भावुकतावस वा आलस्यतावस बनाएका कुरा हुन् । यस्ता कुराहरुलाई हामीहरुले निराकरण गर्दै वैज्ञानिक ढङ्गले चल्नुपर्छ । सप्तऋषिहरुको पूजाको आफ्नो ठाउँमा महत्व त छँदैछ, त्यसको सबभन्दा महत्वपूर्ण भनेको ऋषिहरुको पथमा चल्नु या अब म यो बाटो छोड्ने छैन म ऋषिहरुको जस्तो दीर्घजीवी, शान्त र आनन्दको बाटो लिनेछु भनी प्रण गर्नु हो ।

यसरी भाद्र महिनाको शुक्लपक्षको प्रतिपदाका दिनदेखि सुरू भएर पञ्चमीको दिनसम्म चल्ने यो हिन्दू महिलाहरुको महान् चाड हो । खुसियाली मनाउने चाड हो । आफ्ना अन्तर्मनका भावनाहरु गीतको माध्यमबाट व्यक्त गर्ने चाड हो । आफ्ना श्रीमान्को आयूवृद्धिको कामना गरी सदा अटल सौभाग्यको कामना गर्ने चाडका साथै ऋषिपथ अनुशरण गर्ने प्रतिज्ञा गर्ने चाड हो तर अहिले भने कसका धेरै राम्रा र महँगा लुगा, कसको धेरै ठूलाठूला तिलहरी आदि गहना छन् भनी सुनको प्रदर्शन गर्ने विकृतिको चाड बन्न थालेको छ । साथै, एक महिनाअघिदेखि नै दर खाने, दरमा मादक पदार्थको सेवन गर्नेजस्ता विकृति पनि भित्रिएको छ । यसलाई समाजका सचेत नागरिकहरुले रोक्न पहल गर्नुपर्छ अन्यथा हाम्रा चाडवाडहरु भड्किला र विकृतितर्फ उन्मुख हुनेछन् ।

यसमा तपाइको मत

अन्य समाचार