कुशे औँशी, बुवाको मुख हेर्ने दिन

काठमाडौं,
भाद्र १३ ।

आज कुशे औँशी देशभर मनाइँदै छ । यो अवसरमा आज भाद्र कृष्ण औशीका दिन भौतिक रुपमा उपस्थित हुने पिताको मुख हेरेर, मिष्ठान्न भोजन गराएर आशीर्वाद लिइ यो पर्व मनाइदैछ भने परलोक भइसकेका पिताहरुको नाममा फोटो हेरेर, सम्झना गरेर तथा श्राद्ध गरेर पिताको मुख हेरी यो पर्व मनाउने गर्ने चलन छ । यसै गरी आजकल प्रविधीको समयमा पिता भएर पनि घर बाहिर रहेका तथा पितालाई प्रत्यक्ष भेट्न नपाएका छोराछोरीहरुले पितालाई फोन गरेर पिताबाट आशीर्वाद लिइ यो पर्व मनाउँदै छन् ।

औशीको दिनलाई हिन्दू धर्मशास्त्र अनुसार पितृको सम्झना गर्ने वा पितृको दिन मानिन्छ । यसै गरी भाद्र कृष्ण औशीको दिन भने विशेष गरी आफ्ना बुबा प्रति श्रद्धा र सम्मान गर्ने दिनको रुपमा मानिन्छ । आजको दिनमा पिता नहुनेहरुले काठमाडौँको गोकर्णेश्वर महादेव, रसुवाको वेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहक्षेत्रजस्ता पवित्र तीर्थस्थलमा गई आफ्ना दिवङ्गत बुबाको नाममा श्राद्ध गर्ने, तर्पण दिने र व्राम्हणहरुलाई सिदा दान गर्ने प्रचलन छ ।

आजको दिन उत्तरगया भनी पवित्र मानिएको काठमाडौँको गोकर्णेश्वरमा बुबाको नाममा श्राद्ध गर्नेहरुको भिड लागेको छ । यस क्षेत्रमा आज व्राम्हणहरुले विशेष श्राद्ध कार्यको आयोजना गरेका छन् भने दर्शनार्थी, श्रद्धालु र श्राद्ध गर्न आउनेको यो क्षेत्रमा ठूलै भिड लागेको छ ।

आजको औशी तिथिलाई कुशे औशी पनि भनिन्छ । आजको दिनमा घरमा ल्याएर राखेको कुशलाई वर्ष भरी नै शुभ तथा अशुभ धार्मिक कार्यहरुमा प्रयोग गर्न सकिने मान्यता छ । विहानै नुहाइ धुवाई शुद्ध भएर ब्राह्मणले कुश हरेकका घर र कोठा कोठामा पुर्याउने गर्दछन् ।

यसमा तपाइको मत

अन्य समाचार