नेपाली सुगम सङ्गीतका एक धरोहर

पहिलो पटक २०४७ सालको पुसमा साहित्यकार ज्ञानेन्द्र गदालको शब्द ‘कहीँ कतै देखेजस्तो, कहीँ कतै भेटे जस्तो’मा सङ्गीत भरेका राजु सिंहले अहिलेसम्म आइपुग्दा नेपाली सङ्गीत क्षेत्रमा ठूलो योगदान पु¥याएका छन् । ‘नजरको दोषी बनी किन झुल्कन्छौं नयनमा ए साइँला’, ‘मेरो साथ बिताएका पल सबै’, ‘बादलहरु हो’, ‘म पग्लिसकें’, ‘वचन तोडे कसम नि तोडे’ जस्ता सयौं कणप्रिय र चर्चित गीतमा सङ्गीत भरेका राजु सिंह काठमाडौंको बागबजारमा १३ मङ्सिर २०२७ मा जन्मिएका हुन् । उनी अहिले नेपाली साङ्गीतिक क्षेत्रका एक नक्षत्र बन्न पुगेका छन् । सधैं शान्त र सौम्य देखिने राजुको सङ्गीत पनि शान्त र विशाल छ । एउटा चिनिया उखान छ- ‘मानिसको स्वभाव र खोलाको धार परिवर्तन गर्न गाह्रो हुन्छ ।’ राजु सिंह भन्छन्– ‘बाल्यकालदेखि नै म शान्त स्वभावको थिएँ । मलाई सानोबाट अहिलेसम्म देख्नेहरु भन्छन्– राजु सिंह पहिलेबाट अहिलेसम्म परिवर्तन नभएको मान्छे हो ।’ जतिसुकै तनाव भएको मान्छे पनि उनीसँग एकैछिन बस्यो भने शान्तको अनुभूति गर्छ, त्यो मैले पनि उनमा पाएकी छु ।

  • गीता अधिकारी
    उनका बुबा भगत सिंह नेपालका वरिष्ठ वाद्यवादक हुन् । त्यो भएर पनि होला, घरको माहोलले नै राजु सिंह सङ्गीततिर आकर्षित हुन पुगे । साङ्गीतिक माहोलमा उनको बाल्यकाल बित्यो । उनी बढ्दै जाँदा उनीसँगै सङ्गीतको मोह पनि बढ्दै गयो । प्रवेशिका परीक्षा उत्तीर्ण भएपछि रत्न राज्यलक्ष्मी क्याम्पस पढेका उनले डा. बेनी जंगम, सकुन्तला प्रधान, श्रीराम आचार्य, जर्मन गुरु ह्याब्रोन जस्ता विद्वान्हरुलाई सङ्गीतको गुरुका रुपमा पाए । उनले पद्मकन्या क्याम्पस र बूढानीलकण्ठ स्कुलका सङ्गीत शिक्षक स्व. जीतेन्द्र जोशीबाट पनि सङ्गीत सिक्ने मौका पाए । घरकै वातावरण सङ्गीतमय थियो प्रारम्भिक सङ्गीत बुबाबाटै सुरु गरेका उनले विभिन्न गुरुहरु हुँदै थप सङ्गीत अध्ययन लण्डनको ट्रिनिटी विश्वविद्यालयमाबाट समेत गरे । काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट अर्थशास्त्रमा स्नातक गरेका उनले त्रिभुवन युनिभसिर्टीबाट अर्थशास्त्रमा नै स्नातकोत्तर गरे । पढाइमा समेत अब्बल देखिएका उनको अर्थशास्त्रमा भन्दा पनि मोह सङ्गीतमा नै थियो । बुबाले सङ्गीतलाई शोखको रुपमा मात्र लिन गरेको आग्रहलाई उनको भित्रीमनले स्विकारेन र लागिरहे निरन्तर सङ्गीत साधनामा अनि जन्मिए कालजयी सङ्गीतहरु ।
    नेपालमा २०४७ सालको परिवर्तनसँगै एक खालको नयाँपन थियो । ‘प्रतिविम्ब’ ब्यान्डमार्फत् २०४७ सालमा सङ्गीतकारको रुपमा आएका उनले गायक सुदीप रिजाल, पुनम प्रधान, आफ्नै बहिनी धनुषा सिंह, गीतकार नवीन श्रेष्ठ, शास्वत पराजुली, वसन्त वित्यासी थापालगायतकाको साथ र सहयोग पाए सुरुका दिनहरुमा । गीतकार वसन्त वित्यासी उनको सङ्गीतको ठूला प्रशंसक थिए र जोडिए उनीसँगै । यो जोडीको गीत रुचाइए पनि । त्यो समय वसन्त वित्यासी थापाका शब्द र उनकोे सङ्गीतबाट जन्मिएका सिर्जना मनपराइए निकै नै । उनीहरुको नाम एक अर्काको पर्यायवाचीजस्तै बन्यो ।
    त्यतिबेला नारायण गोपालका गीतहरु अग्रस्थानमा थिए, त्यसो त उनका गीतहरु अहिले पनि त्यत्तिकै रुचाइन्छन् । त्यस्तै, लोक आधुनिकमा शम्भु राईका गीत र पप शैलीमा प्रतिविम्ब ब्यान्डका गीतहरु चर्चामा थिए । पछि समयको अन्तरालसँगै ब्यान्डका साथीहरु कोही विदेश लागे भने केही अन्य काममा व्यस्त भएकाले त्यसले निरन्तरता पाएन ।
    उनले पहिलो गायक आनन्द कार्कीको सोलो एल्बममा सङ्गीत दिए । त्यसपछि उनी निरन्तर यस क्षेत्रमा छन् । तर, उनले आज आफू यो ठाउँसम्म आइपुग्नका लागि ‘प्रतिविम्ब’लाई नै श्रेय दिन्छन् । पुराना स्रष्टाहरुको योगदानका कारण नै आज नेपाली सङ्गीतले यो स्थान चुम्न सफल भएको मान्यता राख्ने राजुले वन ट्रयाक रेकर्डिङदेखि फो ट्रयाक रेकर्डिङ, एनलग रेकर्डिङ हुँदै आजको डिजिटल रेकर्डिङसम्म काम गरेका छन् ।
    उनको घरमा पनि साङ्गीतिक माहोल छ । दिनहुँ सङ्गीतको विषयमा कुरा हुन्छ । गीतको पहिलो स्रोता परिवारलाई बनाउँछन् उनी । उनकी बहिनी धनुषा सिंह राम्रो गायिका हुन् । भाइ कल्याण सिंह पछिल्लो समय सबैले मन पराएका सङ्गीतकार हुन् ।
    २०५५ सालमा रिता सिंहसँग लगनगाँठोमा बाँधिएका राजु आफूलाई आजको स्थानसम्म आइपुग्न उनको पनि ठूलो साथ रहको बताउँछन् । उनी भन्छन्– ‘रिता राम्रो स्रोता पनि हुन् ।’ कति गीतहरुमा रिताको सुझाव पनि लिने गर्छन् उनी ।
    पुराना स्रष्टाहरु यादव खरेल, रबिन शर्मा, गुलाम अलीजस्ता र नयाँ स्रष्टा थुप्रै स्रष्टाहरुसँग काम गरेका राजु सधैँ अनुशासन, लगनशीलता, धैर्यता र निरन्तरतामा विश्वास गर्छन् । कसरी राम्रो सिर्जना दिन सकिन्छ भनेर हरसमय तल्लीन रहने उनी सङ्गीतकारमा सधैँ चुनौती रहेको बताउँछन् । उनी भन्छन्– ‘गायक–गायिका एउटा गीत राम्रो भयो भने पनि स्थापित हुन सक्छन् तर सङ्गीतकार एउटै गीतले स्थापित हुन सक्दैन, नयाँ–नयाँ कुरा दिन सक्नुपर्छ ।’
    लन्डनको ट्रिनिटी विश्व विद्यालयसम्म गएर सङ्गीतको राम्रो अध्ययनपछि नै साङ्गीतिक क्षेत्रमा होमिएका उनको बुझाइमा सङ्गीत सिक्नु भनेको गाउनु मात्र होइन, सङ्गीतको ज्ञान राख्नु र संस्कार सिक्नु पनि हो । २८ वर्षदेखि साङ्गीतिक क्षेत्रमा निरन्तर उनी सङ्गीत नै आफ्नो जीवन भएको बताउँछन् । स्रोताहरुको विश्वास र मायाले आजका दिनसम्म काम गर्न पाएको उनी बताउँछन् । उनी आफू स्रोताको माया र साथले नै सफल भएको बताउँछन् । ‘ललितकलाका लागि सरकारले केही गरेको छैन । जसरी इञ्जिनियर, डाक्टर, पाइलटजस्ता विषयमा सरकारले लगानी गर्छ, त्यसरी नै कला क्षेत्रमा पनि छात्रवृत्ति राख्न जरुरी छ । सङ्गीतका विद्यार्थीहरुलाई विश्वका प्रसिद्ध सङ्गीत विश्व विद्यालय, ट्रिनिटी, मोजार्ट, योजिमा जस्ता सङ्गीत विश्वविद्यालयमा छात्रवृत्तिमा पठाउन सकियो भने राम्रो सङ्गीतकर्मी देशमा उत्पादन हुन्छ । बिनालगानी राज्यले गीत सुनेर सङ्गीतको विकास हुँदैन्’ उनी भन्छन् । सबै स्रोताप्रति आभारी रहने उनी आफ्नो कर्तव्य नेपाली सङ्गीतलाई राम्रो सिर्जना दिने भएको बताउँछन् ।

‘बिनालगानी राज्यले गीत सुनेर सङ्गीतको विकास हुँदैन’

अहिले के गर्दै हुनुहुन्छ ?
गीत-सङ्गीत नै मेरो कर्म हो, त्यसैका कार्यहरुमा व्यस्त रहँदै आएको छु । अर्को एउटा मेरो नियमित काम भनेको अध्यापन हो, त्यसलाई पनि निरन्तरता दिइरहेको छु । गीत–सङ्गीतका धेरै कामहरु पाइपलाइनमा छन्, तिनैको कार्य गरिरहेको छु । सबै पुस्ताका गायकगायिकाहरुले मलाई माया गर्नुहुन्छ, सम्झनुहुन्छ र हौसला– प्रेरणा दिइरहनुहुन्छ, यसैमा व्यस्त छु । यी कामहरुमध्ये अहिले तत्कालैका केही प्रोजेक्टका काम गरिरहेको छु । मेरो आफ्नै मित्र वसन्त वित्यासी थापा, जो एकदमै राम्रो गीतकार हुनुहुन्छ, उहाँको पनि केही काम भइरहेको छ । सबै विधाका नयाँदेखि पुराना गायकगायिकाहरुसँग पनि काम भइरहेको छ । त्यस्तै, रेडियो जिङ्गल, विज्ञापन आईडीहरुको काम पनि भइरहेको छ । गीत–सङ्गीतमै व्यस्त छु ।

यति धेरै काम । भनेपछि निकै व्यस्त हुनुहुन्छ ?
व्यस्त अर्थात् बिजी नभनौं, एउटा जिम्मेवारी र चुनौतीको काम छ । सबैले माया दिनुहुन्छ, गरिरहनुभएको छ । व्यस्त हुँदा सङ्गीतमै व्यस्त हुनुको मज्जा अर्कै छ । त्यसबाहेक कलेज पढाउनुको अर्को काम छँदै छ । सबैभन्दा ठूलो कुरा तीन दशक हुन लागेको छ मेरो यो क्षेत्रमा । यो अवधिमा यो क्षेत्रका सबैले मलाई आराम गर्ने मौका दिनुभएको छैन । यसैमा म आफूलाई भाग्यमानी ठान्दछु । मलाई लाग्छ, यसले आगामी दिन मेरा अझै चुनौतीपूर्ण र जिम्मेवार हुनेछन् । नेपाली सङ्गीतमा राजु सिंहलाई एउटा पहिचान दिलाउन धेरै आदरणीय व्यक्तित्वहरु हुनुहुन्छ । उहाँहरु सबैप्रति आभार व्यक्त गर्दछु ।

यहाँलाई राजधानीमा हुने विभिन्न कार्यक्रममा अतिथिको रुपमा पनि देखिन्छ, गीत–सङ्गीतमा पनि त्यत्तिकै चापाचाप छ, अर्कोतर्फ कलेज पनि छ, समयलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
मलाई के लाग्छ भने सबैभन्दा ठूलो कुरा अनुशासित हुनुपर्छ । मलाई कलेजमा पनि प्राध्यापकभन्दा सङ्गीतकारकै रुपमा बढी चिन्नुहुन्छ उहाँहरुले । म्यानेज गर्नुभन्दा पनि मैले त्यसलाई प्लानिङमा राखेको हुन्छु । मलाई के लाग्छ भने कसैको खुसीमा म सेयर हुँदा, मैले उहाँहरुलाई खुसी दिँदा, बधाई दिँदा उहाँहरुलाई केही हौसला मिल्छ भने किन नगर्ने भन्ने हुन्छ । म धेरै एकैठाउँमा बस्दिन र सबैतिर पुग्ने कोशिसमा हुन्छु । तपाईंले भनेजस्तै कसरी सबैतिर सम्भव भयो होला भन्ने कुरामा कहिलेकाहीँ आफैँलाई पनि अचम्म लाग्छ । जति पनि म इन्भल्व हुने सङ्घ–संस्था र व्यक्ति हुनुहुन्छ, उहाँहरुको साथ–सहयोगले पनि यो सम्भव भएको होला ।

नेपाली सुगम सङ्गीतमा राजु सिंहको नाम छुट्टै स्थानमा छ, यसको कुनै खास भित्री कुरा केही छ कि ?
यसको मुख्य कुरा तपाईंहरुजस्तो मिडिया र आदरणीय स्रोता/दर्शकले मूल्याङ्कन गर्ने हो । मैले आफूले दिने कुरा भनेको के हो भने हरेक सङ्गीतमा एउटा राजु सिंह जन्माउने प्रयास गर्छु । मैले कतिवटा हिट एल्बम गरें, कतिवटा हिट गीत गरें, कतिवटा गीत मेरो भिजुअल भयो र म कुन ठाउँमा छु भन्नुभन्दा म एउटा सङ्गीतकारभन्दा पनि साधकको रुपमा आफूलाई लिन चाहन्छु । एउटा कुरा पक्कै चाहिँ के हो भने मैले गरेका गीतलाई स्रोता÷दर्शकले अत्याधिक मन पराइदिनुभयो । त्यसको पछाडि मेरो साधना र मिहिनेत नै हो । त्यससँगै मेरो सङ्गीतको अध्ययन पनि हो । मलाई लाग्छ, तपाईंले भनेजस्तै मेरो आफ्नै छुट्टै पहिचान बनाउन अझै मैले धेरै गर्नु छ र गरिरहनेछु । हाम्रा अग्रजहरुले जुन बत्ती बालेर जानुभएको छ, त्यसमा तेल थप्ने प्रयासचाहिँ मैले गरिरहेको छु ।

जब गीतमा सङ्गीत भर्न बस्नुहुन्छ, त्यसबेला यहाँको प्राथमिकतामा के पर्छ ?
एकदमै राम्रो प्रश्न गर्नुभयो । मलाई के लाग्छ भने सङ्गीतमा पहिला एउटा गीत हुन्छ, त्यसमा हामीले श्वास भर्ने काम गर्नुपर्छ । सङ्गीतकारलाई धेरै नै चुनौती हुन्छ । संसारमा कहीँ पनि गायक निर्देशक, गायिका निर्देशक भनिँदैन तर सङ्गीतकारलाई निर्देशक भनिन्छ । उसले गायक-गायिकालाई लिड गर्नुपर्ने हुन्छ, एरेन्जरलाई पनि गर्नुपर्ने हुन्छ र गीतकारलाई पनि गर्नुपर्ने हुन्छ । त्यसकारण गीतको मेलोडी चाहिँ पहिलो प्राथमिकतामा पर्छ । मेलोडी राम्रो भएपछि मात्रै शब्द कसको हो, स्वर कसको हो भनेर आउँछ । सबैभन्दा ठूलो कुरा हामीले म्युजिकलाई सुन्दाखेरी राम्रो हुनुपर्छ, त्यसपछि मात्रै शब्द अनि गायकगायिकामा जानुपर्छ । तर, मेरो पहिलो प्राथमिकताचाहिँ गीतको शब्द कस्तो छ ? त्यसले आधुनिक मागेको छ कि, पाश्चात्य सङ्गीत मागेको छ कि या फोल्क सङ्गीत मागेको छ त्यसअनुसार कम्पोज अर्थात् सिर्जना गर्ने प्रयास गर्छु । चाहे जसको शब्द होस्, भोलि त्यो बजारमा आइसकेपछि देशको सम्पत्ति हो । यही कुरालाई नै ध्यानमा राखेर म सङ्गीत भर्ने गर्छु ।

यहाँ तीन दशकदेखि यो क्षेत्रमा हुनुहुन्छ । अहिलेको सङ्गीतलाई कसरी हेर्नुहुन्छ ? यो क्षेत्रमा विकृति आयो पनि भन्ने गरिन्छ, मौलिक सङ्गीत हराइसक्यो भन्ने गरेको पनि यदाकदा सुनिन्छ ।
म विकृति नै आएको भन्ने कुरालाई त मान्दैन । म सकारात्मक सोच भएको मान्छे हो । हाम्रो सङ्गीतलाई अलिकति नयाँपनमा ल्याइएको चाहिँ छ । जसले जे सुकै सङ्गीत गरे पनि त्यही सात सुरमा गर्ने हो, त्यही तालमा गर्ने हो, त्यही रागमा गर्ने हो । हामीले त्यसलाई कसरी प्रस्तुत गर्छौं भन्नेमात्र हो । अहिले पनि कतिपय नेपालीपनको गीतहरु जस्तै चलचित्र छक्का पञ्जाको गीत, कालिप्रसादजीले गरेको गीत होस् या अर्जुन पोखरेलजीले गरेको गीत होस् या आदरणीय शम्भुजीतजीहरुले, गोपाल योञ्जनजीहरुले, शक्ति वल्लभजीहरुले, नातिकाजीजीहरुले गरेको गीत होस् त्योभन्दा अग्रज पुस्ताले पनि राम्रो भनेको थिएन । हामीले अहिले सङ्गीतको विश्लेषण गर्ने भनेको त्यसको वास्तविक विश्लेषण भनेको धेरै पछि चालीस÷पचास वर्षपछि मात्र त्यो सङ्गीतकारको मूल्याङ्कन हुन्छ जस्तो लाग्छ । अहिले जति पनि पपुलर गीत छ, त्यो उहाँहरुले स्रोतालाई रक्सी दिइरहनुभएको छ कि दूध दिइरहनुभएको छ ? उहाँहरुले औषधि बेचिरहनुभएको छ कि रक्सी बेचिरहनु भएको छ ? त्यो फरक कुरा हो । त्यसलाई इतिहास, भविष्य र स्रोता÷दर्शकले नै मूल्याङ्कन गर्नुहुन्छ । मलाई लाग्छ, यो बीचमा अति राम्रा सङ्गीतहरु पनि आएका छन् । अति नराम्रा सङ्गीत पनि आएका छन् । ठिकैको सङ्गीत पनि आएको छ । सङ्गीतमा डुबाउने पनि आएका छन् र डुब्नेहरु पनि आएका छन् । राम्रो सिर्जनालाई बचाउने कामचाहिँ स्रोता÷दर्शक र तपाईंहरु जस्तो मिडियाको काम पनि हो । कुनै गीत बजारमा एकदमै हिट भयो भने पनि त्यो गीतको कुनै मापदण्ड छ कि छैन गायक, सङ्गीतकार या गीतकारले आफूलाई पपुलर बनाउन सङ्गीतको मापदण्डलाई मिचेको छ कि छैन भन्ने कुरालाई ध्यान दिनुपर्छ । हामीले गर्व गर्ने कुरा कहाँनिर छ भने अहिले हामीले अङ्ग्रेजी र हिन्दी गीतहरुलाई विस्थापित गर्न सकेका छौं । नेपालबाहिर जाँदा पनि नेपाली गीतमा नाचेको देख्दा गर्व लाग्छ ।

त्यसो भए सङ्गीतमा डुब्ने र डुबाउनेलाई कसरी चिन्ने त ?
सङ्गीतमा डुब्ने भनेको चाहिँ यो क्षेत्रलाई बुझेर आउनुप¥यो, एकदमै पढेर आउनुप¥यो । उसले रियाज कति गरेको छ ? उसले गीतकार हुनुमा, सङ्गीतकार हुनुमा, गायक हुनुमा लगानी कत्तिको ग¥यो अर्थात् कति बुझेको छ यो क्षेत्रलाई, अध्ययन कति गरेको छ ? भन्ने कुरा आउँछ । अब डुबाउनेहरुचाहिँ जथाभावी स्वर नभइकन नै गीतहरु गाइदिने, सङ्गीतको सामान्य नियमहरु नै नबुझेका मान्छेहरुले पनि गायकको भरमा, ऐरेञ्जरको भरमा सङ्गीत गरिदिनेहरु हुन् । यदि यो क्षेत्रमा आउने एकदमै चाहना छ भने प्रस्तुतिको रुपमा आउनुपर्छ । जबर्जस्ती गरेको पक्कै पनि राम्रो हुँदैन । राम्रो गीतकारको, राम्रो गायकको, राम्रो सङ्गीतकारको एल्बमहरु निकाल्न सहयोग गरिदिनुहोस्, प्रस्तुतिका रुपमा आउनुहोस् भन्न चाहन्छु । तपाईंले राम्रो सङ्गीत गर्न सक्नुहुन्न भने नराम्रो गर्न पनि तपाईंलाई अधिकार छैन ।

लामो समयदेखि यो क्षेत्रमा हुनुहुन्छ, यो क्षेत्रमा राजु सिंहले एकक्षत्र राज गर्नुभएको छ मौलिक सङ्गीत पस्कनेमा भन्नेहरु पनि छन् । आफ्नो करिअरको ट्रनिङ प्वाइन्ट आउने गीतचाहिँ कुन मान्नुहुन्छ ?
मेरो जीवनमा सबैभन्दा ठूलो ट्रनिङ प्वाइन्टको गीतभन्दा मैले सधैं राम्रो गीत गर्ने मौका पाए । माथि पनि भनें– म यस मानेमा भाग्यमानी सङ्गीतकार भन्नु पर्ला मैले सङ्गीत गरेका प्रायः सबैजसो गीतहरु स्रोत÷दर्शकले मन पराइदिनुभयो । मैले प्रतिविम्ब ब्याण्डमा हुँदा जुन एल्बमहरु गरें, ती एल्बमहरु नेपालकै रेकडेर्ड एल्बमहरु रहन सफल भए । त्यतिबेला राजु सिंह, वसन्त वित्यासी थापा, सुदीप रिजाल, पुनम, पारु र धुनषालाई चिनिँदैनथ्यो । जब मैले राजु सिंह भएर ‘फेरि तिम्रो याद आयो’ गरें गायक आनन्द कार्कीसँग त्यसपछि म राजु सिंहको रुपमा आइरहेको छु । त्यस्तै, ट्रनिङ प्वाइन्टकै कुरा गर्दा रित्तो सडक, नजरको दोषी, तिमी जून हौ, माया हो माया, कता हिँडेको, वचन तोडे, कति राम्रो, अचानो, बादलभरि, नवीन भट्टराईको मेरो साँझ ढल्यो, ढुकढुकी थुप्रै छन् । ४० वटाभन्दा बढी एल्बम भए सबै गीतलाई राम्रै रुचाइएको छ । तर, मैले रित्तो सडकलाई कहिल्यै पनि भुल्नु हुँदैन ।

सङ्गीत क्षेत्रलाई नै किन रोज्नुभयो ?
मेरो पारिवारिक माहोल पनि गीत-सङ्गीत नै थियो । घरबाट नै सङ्गीतको बेसिक कुराहरु सिक्ने मौका पाएँ । बुबा भगत सिंह नेपालको वरिष्ठ वाद्यवादक हुनुहुन्थ्यो । घरको माहोलले नै होला मलाई सङ्गीततिर आकर्षित ग¥यो । साङ्गीतिक माहोलमा मेरो बाल्यकाल बित्यो । म बढ्दै जादा मसँगै सङ्गीतको मोहल पनि बढ्दै गयो । प्रवेशिका परीक्षा उत्तीर्णसँगै रत्न राज्यलक्ष्मी क्याम्पस पढें र डा. बेनी जंगम, सकुन्तला प्रधान, श्रीराम आचार्य, जर्मन गुरु ह्याब्रोनजस्ता विद्वान्हरुलाई सङ्गीतको गुरुका रुपमा पाएँ । पद्मकन्या क्याम्पस र बूढानीलकण्ठ स्कुलका सङ्गीत शिक्षक स्व. जीतेन्द्र जोसीबाट पनि सङ्गीत सिक्ने मौका पाएँ । प्रारम्भिक सङ्गीत बुबाबाटै सुरु गरेको मैले विभिन्न गुरुहरु हुँदै थप सङ्गीत अध्ययन लण्डनको ट्रिनिटी विश्वविद्यालयबाट समेत गरेँ । काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट अर्थशास्त्रमा स्नातक गरें र त्रिभुवन युनिभसिर्टीबाट अर्थशास्त्रमा नै स्नातकोत्तर गरें । पढाइमा समेत अब्बल थिएँ म तर अर्थशास्त्रमा भन्दा पनि मोह सङ्गीतमा रह्यो मेरो । बुबाले सङ्गीतलाई शोखको रुपमा मात्र लिन आग्रह गर्नुभएको थियो तर भित्रीमनले स्विकारेन र लागिरहें निरन्तर सङ्गीत साधनामा ।

तपाईंको क्रिएशनको पहिलो स्रोता को हो ?
घरमा दिनहुँ सङ्गीतको विषयमा कुरा हुन्छ । गीतको पहिलो स्रोता परिवारलाई बनाउँछु म । बहिनी धनुषा सिंह राम्रो गायिका हुन् । भाइ कल्याण सिंह पछिल्लो समय सबैले मन पराएका सङ्गीतकार हुन् । २०५५ सालमा रिता सिंहसँग लगनगाँठोमा बाँधिएँ । म आजको स्थानसम्म आइपुग्न उनको पनि ठूलो साथ रहेको छ । रिता मेरो राम्रो स्रोता पनि हुन् । कति गीतहरुमा रिताको सुझाव पनि लिने गर्छु । उनलाई मनपर्ने धेरै गीतमध्ये एउटा गीत ‘कतै नपाई तिमीलाई मनभित्र छोइदिएँ..’ हो । यो गीत उनकै लागि बनाएको थिएँ मैले ।

देशले नेपाली गीत-सङ्गीतलाई कुन रुपमा लिएको पाउनुहुन्छ ?
जसरी इन्जिनियर, डाक्टर, पाइलटजस्ता विषयमा सरकारले लगानी गर्छ, त्यसरी नै कला क्षेत्रमा पनि छात्रवृत्ति राख्न जरुरी छ । सङ्गीतका विद्यार्थीहरुलाई विश्वका प्रसिद्ध सङ्गीत विश्वविद्यालय– ट्रिनिटी, मोजार्ट, योजिमा आदिमा छात्रवृत्तिमा पठाउन सकियो भने राम्रो सङ्गीतकर्मी देशमा उत्पादन हुन्छ । बिना लगानी राज्यले गीत सुनेर सङ्गीतको विकास हुँदैन ।

जीवन र सङ्गीतलाई कसरी बुझ्ने ?
एकदमै राम्रो प्रश्न । जीवन र सङ्गीत एकअर्काका परिपुरक हुन् । जस्तै भन्छौ नि– कस्तो सुर खुस्केको मान्छे ? कस्तो ताल नभएको मान्छे ? कस्तो बेसुरको कुरा गर्छ ? त्यसैले जीवनसँग गीत–सङ्गीत जोडिएको छ । जीवन भनेकै सङ्गीत हो र सङ्गीत भनेकै जीवन हो । सभ्यताको उषाकालदेखि नै सायद मान्छेहरु गुनगुनाउँथे होला । सङ्गीतको विन्दू ध्वनीसँग सम्बन्धित हुन्छ भनिन्छ, जसलाई शास्त्रले नाद भनेको पाइन्छ । संसारमा गीत–सङ्गीत मन नपर्ने को नै हुन्छ होला र ?

अहिलेसम्म तपाईंका लाखौं फ्यानहरुलाई थाहा नभएको तपाईंको कुरा  ?
मेरो धेरै कुरा सार्वजनिक नै छ । प्रायः म खुल्ला किताब नै हुँ । फेरि पनि केही भन्नै पर्दा मैले कम्पोज प्रायः रातिमात्रै गर्छु । च्यालेन्जिङ एल्बम गर्नुभन्दा अघि व्रत पनि बस्ने गर्छु । भगवान्प्रति आस्था राख्छु । त्यो गीतलाई भगवान्प्रति समर्पण गरेर गर्छु । म पार्टीहरुमा एकदमै कम बस्छु । अर्को कुरा एक दर्जनभन्दा बढी वाद्यवादन बजाउन सक्छु र मेरो चाहना के पनि रहने गर्छ भने सधैं मेरो गीत–सङ्गीतलाई दर्शक÷स्रोताले एकदमै रुचाऊन्, चिनून् तर मलाई नचिनून् भन्ने पनि हो ।

यति धेरै गीतमा सङ्गीत गर्नुभएको छ । सर्वाधिक रुचाइएका पनि छन् तर पाश्र्वसङ्गीतमा कम देखिन्छ  ?
त्यस्तो होइन, मैले केही फिल्मका गीत पनि गरेको छु । मलाई के लाग्छ भने फिल्मको कथावस्तुअनुसार म्युजिक डाइरेक्टर छान्नुपर्छ । तर, मैले सानो संसार, युगदेखि युगसम्म, मालती, अरबपति, मूर्खमान्छेलगायत धेरै फिल्ममा गरें । मलाई धेरै फिल्मबाट अफर आए पनि मैले समय दिन सकिन । फिल्ममा अहिलेको परिपाटी डिपार्टमेन्टल स्टोर जस्तो खोजिरहेका छौं, त्यो राम्रो होइन । त्यो सङ्गीतकारले गीत पनि लेखोस्, गाओस्, स्टुडियो पनि त्यसैको होस्, कम्पोज पनि गरोस् भन्ने हुन्छ । तर, म त्यस्तो छैन । फिल्मी सङ्गीतमा अझै पनि पूर्ण व्यावसायिकता छैन भन्ने मलाई लाग्छ ।

(मिलापको साउन अङ्कबाट)

यसमा तपाइको मत

अन्य समाचार