गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदै

काठमाडौं,
भाद्र ६ ।

उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज अँध्यारी गौरा एवं दूर्वाष्टमी पर्व मनाउँदैछन् । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइँने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली हो । हिजो साँझ गौराघरमा भित्र्याएको गौरालाई आज व्रतालु महिलाहरुले गौराखला (आँगन)मा लगेर पूजा गर्ने प्रचलन छ ।

तागाधारी पुरुषहरुले जनै धारण गरेजस्तै पश्चिम नेपालमा महिलाहरुले दुबधागो धारण गर्ने गर्दछन् । गौराघरबाट गौरालाई सिँगारेर गौराखलामा लग्ने गरिन्छ ।

सोही खलामा महिलाहरुले सामुहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ । गौराको उत्पत्ति, महेश्वरसँगको विवाह लगायतका प्रसंग ब्रतालु महिलाहरुले फागमार्फत नै भन्ने गरेका छन् ।

ब्रतालु महिलाहरुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान, छोराछोरी र आफन्तजनको दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् ।

पुरुषहरुले ठाडोखेल, ढुस्को धमारीलगायतका ऐतिहासिक संस्कृतिमा आधारित खेलहरु खेल्ने गर्दछन् । महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसी पूजाआजा गर्दछन् । गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्लाहरु र भारतको कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो ।

यसमा तपाइको मत

अन्य समाचार