निर्देशक किशोर राना मगरको निधन

काठमाडौं,
भाद्र ४ ।

बरिष्ठ फिल्म निर्देशक किशोर राना मगरको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट ग्रसित उहाँको ५४ वर्षको उमेरमा बुधबार निदान हस्पिटलमा निधन भएको हो । उहाँले ‘सीमारेखा’, ‘करोडपति’, ‘राँको’, ‘एक नम्बरको पाखे’लगायतका सफल चलचित्र निर्देशन गर्नुभएको छ ।

पछिल्लो समय चलचित्र ‘प्रतिबिम्ब’ निर्माणको क्रममा उहाँको स्वास्थ्यमा समस्या देखा परेको थियो । मृगौलामा समस्या देखापछि उहाँले भारतको बैंगलोरमा गएर दुई पटक डाइलिसिस गर्नुभएको थियो । त्यसपछि फेरि निमोनियाले ग्रसित भएपछि उहाँको दुबै मृगौलामा खराबी आएको थियो । विगत ६ वर्षदेखि उहाँले नियमित डाइलिसिस गर्दै आउँनुभएको थियो ।

बलिउडमा करीब १५ वर्ष विताउनु भएका उहाँले नेपाली चलचित्रमा पहिलो पटक विएस थापाको चलचित्र ‘कान्छी’मा सहायक निर्देशकको रुपमा काम गर्नुभएको थियो । उहाँको डेब्यू निर्देशन चललचित्र ‘राँको’ रहेको थियो ।

एक भोजपुरी चलचित्रको समेत उहाँले लेखन तथा निर्देशन गर्नुभएको छ । उहाँकी श्रीमती गायिका संगीता राना प्रधान हुनुहन्छ ।

२०१२ साल माघ ७ गते सुनसरीमा जन्मिनुभएका निर्देशक रानाको पूर्खौली घर गुल्मी हो ।

यसमा तपाइको मत

अन्य समाचार