छैटौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

काठमाडौं,
साउन २५ ।

छैटौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन बेलायतमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन (३-५ अगष्ट २०१९) बेलायतमा सम्पन्न भएको हो ।

सम्मेलनमा संसारका विभिन्न देशहरुबाट झण्डै ६ दर्जन नेपाली भाषी साहित्यकारहरु अनेसासका विभिन्न च्याप्टरहरुको प्रतिनिधित्व गर्दै बेलायत पुगेका थिए ।

बेलायतको दक्षिण पूर्वी शहर वेलिङ्गमा भएको सम्मेलनको पुर्वसन्ध्यामा बेलायत आइपुगेका साहित्यकारहरुको स्वागतार्थ बेलायत च्याप्टरले रात्रिभोजको आयोजना गरेको थियो ।

स्थानीय कम्युनिटी सेन्टरमा अगष्ट तीन मा कार्यक्रमको उद्धाटन बेलायतस्थित नेपाली राजदुत तथा साहित्यकार दुबसु क्षेत्री र प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले संयुक्तरुपमा गरेका थिए ।

कार्यक्रममा क्षत्रीले सभ्यताको माटो बेलायतमा यतिधेरै साहित्यकारहरुको जमघट हुनु नेपाली भाषा र साहित्यको क्षेत्रमा ठुलो फड्को भएको बताए । यस्तै प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले भाषा बाँचे संस्कृति र सभ्यता बाँच्ने भएकोले साहित्यको सिमाना र क्षेत्र नहुने बताउँदै नेपाली सभ्यता फस्टाएकोमा प्रवासमा नेपाली साहित्यको काम गर्ने अनेसास प्रशंसाको पात्र रहेको बताएका थिए ।

अनेसास बेलायतका अध्यक्ष तथा कार्यक्रमका संयोजक सुमल कुमार गुरुङले स्वागत मन्तव्यसहित कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाली भाषा तथा साहित्यमा विद्यावारिधि गरेका बेलायती नागरिक माइकल हटले ०७२ सालको भूकम्पपछि नेपाली साहित्य लेखनले फरक धार समातेको बताए । भूकम्पपछिको नेपाली साहित्य विषयमा कार्यपत्र प्रस्तुत गर्दै माइकल हटले भने, ‘भूकम्पपछि नेपाली साहित्यमा मृत्युको त्रास देखिँदैन, बरु देश बनाउन एकजुट हुनुपर्ने सन्देश जताततै पाइन्छ । जिजिभिषाका बीचमा यसखालको मनोवृत्ति हुने नेपालका लागि धेरै खुसीको कुरा हो ।’

भूकम्पका विषयमा लेखिएका सयौं कविताको अध्ययन गरिसकेको बताउँदै माइकल हटले कथा र उपन्यासमा पनि त्यही प्रवृत्ति देखिएको बताए । अहिले उनी भूकम्पपछिको नेपाली साहित्य विषयमा पुस्तक प्रकाशनको तयारीमा छन् ।

कार्यपत्रका अर्का प्रस्तोता प्राध्यापक डा. खगेन्द्र लुइँटेलले डायोस्परिक साहित्यको रुपरेखा र मूलधारको साहित्यबीचको सीमारेखा प्रस्तुत गरे । ‘विदेशमा बसेर लेख्ने वित्तिकै त्यो लेखन डायस्परिक हुँदैन । न त नेपालबाट घुम्न आएका लेखकले विदेशका नेपालीका बारेमा कुनै कृति लेख्दा त्यो डायस्परिक हुन्छ । डायस्परिक हुनका लागि त्यसले डायोस्परिक चरित्र बोकेको हुनपर्छ ।’

कार्यक्रममा बोर्ड अफ ट्रस्टी उपाध्यक्ष पदम विश्वकर्मा, अनेसास केन्द्रका बरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल माइला, गोरखापत्र संस्थानका प्रधान सम्पादक श्रीओम श्रेष्ठ रोदन, अनेसास उपाध्यक्ष सुनिल संगमलगायत बोलेका थिए ।

सम्मेलनमा केन्द्रीय कार्यसमितिबाट घोषणा भएको अनेसास वासुदेव-मालती सम्मान तथा पुरस्कार बरिष्ठ साहित्यकार लीलबहादुर क्षत्रीका प्रतिनिधिलाई पुरस्कार स्थापनकर्ता डा. प्रा. दुर्गा दाहालमार्फत हस्तान्तरण गरिएको थियो ।

त्यसै गरि अनेसास केन्द्रले साहित्यमा पवन चाम्लिङ, कलामा मदनदाश श्रेष्ठ, संस्कृतिमा डा. जगमान गुरुङलाई अनेसास विशिष्ट सम्मान प्रदान गरिएको थियो भने साहित्यकार डा. रुपक श्रेष्ठलगायत चौथो र पाँचौ सम्मेलनका संयोजकहरु प्रकाश पौडेल ‘माइला’ र गणेश घिमिरेलाई सम्मान गरिएको थियो । यसै अवसरमा सुप्रमा पुरस्कार गजलकार नृपेश उप्रेतीलाई प्रदान गरिएको थियो ।

अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको सम्मेलनमा पहिलो दिन केहि प्रतिनिधि कविता वाचन तथा कृतिहरुको विमोचन गरिएको थियो । नेपाली कथाहरूको अनुवाद सङ्ग्रह सिल्भर क्यास्केड, अन्तर्दृष्टि, प्रतिबिम्ब (बेलायत), पर्थ स्मारिका, लाभेदरका परागहरू (पोर्चुगल)लगायत यात्रा स्पर्शका अनुभूतिहरू (सुमलकुमार गुरुङ), रोटीको दन्त्य कथा (लालगोपाल सुवेदी), जीवन बासुरी (मोहन सिटौला), खाप्परेका कथाहरू (रामप्रसाद घिमिरे), अन्तर्मन अन्तर्गत (डा. कृष्णराज घतानी), मनका तरङ्गहरू (संयुक्त गीति सङ्ग्रह, साँझकी शशि (शशि थापा शुब्बा)लगायत दर्जन बढी कृतिहरू प्रमुख अतिथि तथा अन्य अतिथिहरूबाट विमोचित भए ।

सम्मेलनले नेपाली साहित्यकारका चर्चित कृतिलाई संसारका धेरै जनसंख्याले बोल्ने भाषामा अनुवाद गर्ने कामलाई तीब्रता दिने निर्णय गरेको छ ।

सम्मेलनले डायस्पोरिक साहित्यको इतिहास तयार गर्न विज्ञ टोली गठन गर्ने, विदेशमा रहेका नेपालीभाषी परिवारका सन्तानहरुले नेपाली भाषामा पनि पठन-पाठन गर्न तयार भएका पाठ्यसामग्रीहरुलाई सामयिक बनाउने एवं त्यस्ता बालबालिकालाई नेपाली भाषामा चासो जगाउन प्रविधि मैत्री बनाउने निर्यण पनि गरेको छ ।

संसारभर छरिएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्यहरुको सदस्यतालाई अद्यावधिक गर्ने र नेपालका विश्वविद्यालय एवं संघसंस्थाहरुसँग सम्पर्क गरी साहित्य अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय पनि सम्मलेनले गरेको छ ।

‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ नेपालीभाषीहरुको बसोबास रहेका सबैजसो देशमा फैलिएको छ । यस संस्थामा साहित्य लेखन तथा साहित्यिक सेवामा संलग्न एक हजारभन्दा बढी आजीवन सदस्य रहेको दाबी गरिएको छ । संस्थाले वार्षिक १० लाख रुपैयाँ बराबरको पुरस्कार तथा सम्मानसमेत वितरण गर्दै आएको छ ।

यसमा तपाइको मत

अन्य समाचार