सिक्किम गजल मञ्चको समन्वय सभा नेपाली साहित्य परिषदको सम्मेलन कक्षमा सम्पन्न

गान्तोक,
अगस्त २ ।

सिक्किम गजल मञ्चको एक समन्वय सभा नेपाली साहित्य परिषदको सम्मेलन कक्षमा सम्पन्न भएको छ । यो सभा सिक्किम गजल मञ्चकी अध्यक्ष जीविका खतिवडाको अध्यक्षतामा भएको थियो भने सभामा सिक्किम गजल मञ्चका कार्यकारी अध्यक्ष राधा पाण्डे, महासचिव अर्जुन पीयूष, संयुक्त सचिव एसबी कार्कीलगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।

यो सभा मूल रूपमा मञ्चले २६ जुलाईमा सम्पन्न गरेको सभाको निर्णयअनुसार ११ सेप्टेम्बरमा मोती जयन्ती पालन गर्ने विषयलाई प्रमुखता दिनु रहेको थियो जुन प्रस्ताव २६ जुलाईमा ग्रहण गरिएको थियो। यसबाहेक सभामा ११ सेप्टेम्बरको दिन हुने कार्यक्रमलाई कसरी सफल पार्ने भन्ने विषयमा गहन छलफल भएको जनाइएको छ ।

यो सभामार्फत् सिक्किमका अन्य साहित्यिक व्यक्तित्वहरू पनि सिक्किम गजल मञ्चसित जोडिएका छन् । मञ्चले वरिष्ट साहित्यकार राज के. श्रेष्ठ, सिने निदेशक चुनिलाल घिमिरे, नेपाली साहित्य परिषद्का महासचिव जीवन शर्मा अनि एनपीएस निरौलालाई सल्लाहकारको रूपमा सर्वसम्मत्तिद्वारा चयन गरेको छ भने संयोजकको रूपमा नेपाली साहित्य परिषद्का कार्यालय सचिव चन्द्र दुलाल अनि टीका ढुङ्गेललाई चयन गरेको छ । यसरी नै कार्यकारी सदस्यमा गायत्री गौतम, रूपा तामाङ, पारिजात शर्मा, ममता शर्मा आदिलाई चयन गरेको छ । सभामा सबैको मत लिएर मोतीराम भट्टको जन्म जयन्तीको अवसरमा कुनै एक साहित्यकारलाई सम्मान गर्ने अनि यसको नियमावली वरिष्ठ साहित्यकार राज के. श्रेष्ठको नेतृत्वमा अनि साहित्यकार अर्जुन पीयूषको रेखदेखमा गरिने विषममाथि पनि निर्णय भएको छ ।

सभामा गरिमामय उपस्थिति दिँदै आफ्नो सारगर्वित सम्बोधनमा वरिष्ठ साहित्यकार तथा नाटककार चुनिलाल घिमिरेले भानुभक्त आचार्यलाई नेपाली समाजले मोतीराम भट्टमार्फत् चिनेको अनि भानुलाई नेपाली समाजमा उभ्याउने व्यक्ति प्रमुख भएका कारण उनको जन्म जयन्ती मनाउनुलाई उपयुक्त ठहर गरे । आफू जहिल्यै गजल मञ्चको कार्यको पक्षमा रहेको पनि उनले उल्लेख गरे । यसै गरी नेपाली साहित्य परिषद्का महासचिव जीवन शर्माले आफ्नो उद्बोधनमा गजल मञ्चले यस्ता साहित्यकारहरूलाई उभ्याउने कार्य गरोस्, जो समाजको नजरमा ओझेलमा परेका छन् अनि ती व्यक्तिहरूलाई अघि ल्याउने कार्य गरेको खण्डमा आफूद्वारा भरपूर सहयोग दिने कुरा प्रकाश पार्दै सभालाई आश्‍वस्त बनाए ।

यसमा तपाइको मत

अन्य समाचार