कोपिला परिवारद्वारा ३५औं भानु स्मृति जयन्ती पालन

अर्जुन पियुष

गान्तोक, सिक्किम ।
साउन १५ ।

विगत वर्षहरूमा जस्तै यस वर्ष पनि टाशी नामग्याल अकादमी अधीनस्थ कोपिला परिवारद्वारा ३० जुलाई, को दिन भव्य रूपमा २०५ औं भानु जयन्तीप्रति आफूलाई समर्पित गर्दै ३५औं भानु स्मृति जयन्ती पालन गरियो ।

सो अवसरमा वर्ष २०१९को भानु पुरस्कारले सम्मानित वरिष्ठ साहित्यकार ध्रुव लोहागण मुख्य अतिथि अनि महेश क्षेत्री विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए । नेपाली विभाग प्रमुख सुवास तामाङको स्वागत भाषणद्वारा शुरु भएको कार्यक्रममा रामायण पाठ, सांस्कृतिक नृत्य, एकल कविता वाचन अनि तर्क प्रतियोगिता आदि सामेल रहेका थिए ।

कार्यक्रमको मुख्य आकर्षण अन्तर विद्यालय नेपाली तर्क प्रतियोगिता रहेको थियो, जसमा आयोजक टाशी नामग्याल अकादमीबाहेक सर टाशी नामग्याल उच्चतर माध्यमिक पाठशाला, पाल्जर नामग्याल कन्या उच्च माध्यमिक पाठशाला अनि मोर्डन उच्च माध्यमिक पाठशालाले सहभागिता जनाएका थिए। तर्क प्रतियोगिता ‘केवल एकदिन मात्र भानु जयन्ती मनाउने प्रथाबाट हाम्रो भाषा, साहित्य अनि संस्कृतिको संरक्षण हुनसक्दैन’ भन्ने विषय रहेको थियो । तर्क प्रतियोगितामा सहभागी तार्किकहरूले जोशिला तर्कहरू प्रस्तुत गरे । तर्क प्रतियोगितामा वरिष्ठ पत्रकार एवं स्थापित साहित्यकार अर्जुन पीयूष, तादोङ सरकारी महाविद्यालयका इतिहास विभागका सह(प्राध्यपक डा। राजेन उपाध्यय अनि बुर्तुक कलेजकी नेपाली विभागकी सह(प्राध्यपक दीपा शर्मा निर्णायकगणमा रहेका थिए। यस प्रतियोगितामा सर टाशी नामग्याल उच्च माध्यमिक पाठशाला विजेता, टाशी नामग्याल अकादमी उपविजेता बने भने टाशी नामग्याल उच्च माध्यमिक पाठशालाका अभिषेक शर्मा सर्वश्रेष्ठ वक्ता चयनित भए ।

कोपिला परिवारद्वारा कार्यक्रमका मुख्य अतिथि यसपालीका भानु पुरस्कारद्वारा विभूषित ध्रुव लोहागणलाई सम्मान जनाइयो । लोहागणले आफ्नो छोटा सम्बोधनमा कोपिला परिवारको पहललाई सराहना गर्दै टीएनएको कोपिला परिवारको औचित्य तब मात्र सार्थक हुनेछ, जब यहाँका कुनै विद्यार्थीले नेपाली भाषामा कथा, कविताहरूका सङ्ग्रह प्रकाशित गर्नेछन् भन्ने बताए। यसै सन्दर्भमा आगामी तीन वर्षभित्रमा टीएनएका कुनै पनि विद्यार्थीले पुस्तक तयार पारेको खण्डमा आफूद्वारा प्रकाशित गरिदिने वचन पनि दिए ।

विद्यार्थी अक्षता शर्मा, अरण्य तामाङ अनि निधिषा प्रधानले सञ्चालन गरेको कार्यक्रमलाई अकादमीका प्राचार्य ब्रिगेडियर एम। जी। जेकबले पनि सम्बोधन गरेका थिए ।

कार्यक्रममा उपस्थित साहित्यकारहरूमा वरिष्ठ नाटककार चुनिलाल घिमिरे, सिक्किम अकादमीका सचिव पी। एल शर्मा, बाल दर्पणका सम्पादक एवम् साहित्य अकादमीद्वारा बाल पुरस्कारद्वारा विभूषित भीम प्रधान, टीका ढुङ्गेल, चन्द्र दुलाल, वीणाश्री खरेल, मीना सुब्बा, एनपीएस निरौला, शीला थामी, प्रवीण कुमार प्रधान, गजलकार जीविका अश्रु तथा राधा पाण्डे आदिको विशेष उपस्थिति रहेको थियो ।

स्मरण रहोस्, कोपिला परिवारले विगत ३५ वर्षदेखि अनवरत रूपमा भानु स्मृति जयन्ती पालन गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार