सन् २०२० को टी-२० विश्वकप खेल्ने नेपालको सपना अधुरै

काठमाडौं,
साउन १२ ।

आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको हार बेहोर्दै नेपालको सन् २०२० को टी-२० विश्वकप खेल्ने सपना अधुरै रहेने भएको छ । जितका लागि १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २३ रन बनाए ।

कप्तान पारसले १२ रनको योगदान दिए भने सोमपाल कामीले ११ रन बनाए । मध्यक्रमका अन्य ब्याटसम्यानले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् । सिंगापुरका लागि सेलाडोर विजयाकुमारले ४ विकेट लिँदै नेपालको ब्याटिङक्रमलाई ध्वस्त बनाएका थिए ।

यसअघि, टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो ।

नेपालका लागि अभिनाष बोहराले ४ विकेट लिए । चार ओभर बलिङ गर्दै उनले ३५ रन खर्चिए । त्यस्तै करण केसीले ३ ओभर बलिङ गर्दै २६ रन खर्चेर २ विकेट लिए ।

आजको खेलमा नेपालका दुई स्पीनर सन्दीप लामिछाने र बसन्त रेग्मी निकै महंगो साबित भए । दुवैले कुनै विकेट लिन सकेनन् र ७ ओभरमा ८८ रन खर्चिए ।

नेपाललाई हराउँदै सिंगापुरले अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार