दुवै कान नसुन्ने र नबोल्ने भए पनि अद्भूत कला र क्षमताकी धनी सुजल

– मिलाप डेस्क

वि.सं. २०६८ मा भएको जनगणनाअनुसार नेपालमा करिब पाँच लाख व्यक्ति (जनसङ्ख्याको १.९४ प्रतिशत)मा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ  । विज्ञहरू भने नेपालमा अपाङ्गताको वास्तविक दर त्योभन्दा बढी हुन सक्ने दाबी गर्छन्  ।
त्यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को सन् २०११ को प्रतिवेदनअनुसार संसारका १५ प्रतिशत जनसङ्ख्या अर्थात् एक अर्बभन्दा बढी मानिसहरुमा कुनै न कुनै रुपमा अपाङ्गता भएको देखिन्छ  ।

विश्वको जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको अपाङ्गता भएका व्यक्तिहरुले समाजमा अन्य मानिससरह अर्थात् सम्मानपूर्वक जीवनयापन गर्न पाइरहेका छैनन्  । हाम्रो समाजमा अहिले पनि अपाङ्गतालाई हेय वा कठैबराको दृष्टिकोणले हेर्ने गरिन्छ  । उनीहरुलाई अवसरभन्दा पनि पूर्वजन्मको पापको परिणाम हो अथवा पूर्वजन्मको अपराधको सजाय हो भनी चित्रण गर्ने प्रचलन यद्यपि विद्यमान छ, जुन अत्यन्त दुःखद कुरा हो  । हो, अपाङ्गता भएपछि सामान्य मान्छेसरह काम गर्न कठिन हुन्छ तर इच्छाशक्ति, दृढ सङ्कल्प र उचित अवसर भयो भने साङ्गभन्दा कुनै पनि हिसाबमा अपाङ्ग कम छैनन् भन्ने धेरै उदाहरणहरु छन् यहाँ  । त्यसैले त अहिले अपाङ्ग भन्ने शब्दलाई पनि सुधार गर्दै ‘फरक क्षमता’का व्यक्ति भन्न थालिएको छ  । हो, उनीहरुको कुनै शारीरिक अङ्गले काम नगरेको मात्रै हो अन्य क्षेत्रमा उनीहरुको दखल रहने गरेको पाइन्छ  । मात्र खाँचो छ अवसर र सही निर्णयको  । त्यस्तै, दुवै कान नसुन्ने सुजल बमले आफूलाई अरुभन्दा फरक देखाएकी छन् । उनले कान सुन्न नसक्ने भए पनि अद्भूत कला, क्षमता छ उनीभित्र । सानैदेखि सुन्ने क्षमता नभएकी उनी त्यसकै कारण बोल्न पनि सक्दिनन् । तर, सुजल सानैदेखि विभिन्न क्रियाकलापमा भने अग्रपङ्क्तिमा उभिँदै आएकी छन् । त्यसैले त अहिले चुम्न सफल भएकी छन् उनले– ‘मिस्टर एन्ड मिस एसईई’मा विभिन्न उपाधि । अपाङ्गताकै कारणले असक्षम भए पनि उनले ‘सक्षम छु’ भन्ने पुष्टि गरेकी छन् । उनले ८४ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै पाँचौँ रनर अपको उपाधि चुम्न सफल भएकी हुन् ।

प्रतियोगितामा उनले ‘अर्गनाइजर च्वाइस अवार्ड’, ‘मोस्ट कन्फिडेन्ट र मल्टिमिडिया अवार्ड’ हात पार्न सफल भइन् । प्रतियोगितामा उनका पिता टेकबहादुरले समेत ‘बेस्ट प्यारेन्ट’को अवार्ड प्राप्त गरे । छोरीको यो फरक क्षमताबाट पुलिकत भएका छन् बुबा टेकबहादुर यतिबेला । टेकबहादुर आफैँमा सचेत छन् छोरीको उज्जवल भविष्यका लागि । त्यसैले त उनले हरपल छोरीका हरेक क्रियाकलापमा सघाइरहेका छन् ।

बुबा टेकबहादुर बम र आमा हिरा शाहको कोखबाट डोटी जिल्लाको बोगटान गाउँपालिका, वडा नं. ७, चनुकाँडामा जन्मिएकी सुजललाई सुरूमा परिवारले शिक्षाका लागि सुदूरपश्चिम डोटीको बुडरको रामपर माध्यमिक विद्यालयमा रहेको बहिरा स्कुलमा भर्ना गरेको थियो । त्यसपछि सिन्धुपाल्चोकको बाह्रबीसेमा रहेको बहिरा स्कुल हुँदै काठमाडौंको नक्सालमा रहेको केन्द्रीय बहिरा स्कुलमा कक्षा पाँचमा भर्ना भएकी सुजल त्यही स्कुलबाट अहिले एसईईमा बी प्लसका साथ उत्तीर्ण भएकी छन् । उनी स्कुलको अध्ययनका अतिरिक्त आर्ट, नृत्य, फुटबललगायत अन्य कुरामा निकै रुचि राख्छिन् । उनको विशेष रुचि मोडलिङ, नृत्य र आर्टमा छ । उनको प्रतिभालाई देखेर ‘हिरो २०१९’बाट सम्मानित तथा एकैसाथ ७ गीतिएल्बमका ३६ ओटा गीत एकैपटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरिसकेका साथै ‘प्रणय’, ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीतिएल्बम स्रोता÷दर्शकमाझ ल्याएका र ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ पस्किएका गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायले सुजललाई आफ्नो गीतको भिडियोमा अभिनय गराएका छन् । ‘यो नानीमा एक खालको अद्भूत प्रतिभा छ, सुन्न र बोल्न नसक्ने यिनको अभिनयले मलाई मन्त्रमुग्ध बनायो र गीतको भिडियोमा अभिनय गर्न अनुरोध गरें,’ डा. उपाध्याय भन्छन् । गीतकार डा. डीआर उपाध्यायलाई ‘वर्ष गीत पुरस्कार’बाट यो वर्ष पुरस्कृत गरिएको छ । गीतकार सङ्घ नेपालले प्रदान गर्ने ‘वर्ष गीत पुरस्कार’ यो वर्ष ‘सन्तानको शिर उठाउन हजार ठाउँ शिर झुकाउने बाबालाई बिर्सिएर…’ गीतबाट उनलाई ५१ हजार र सम्मानपत्रले सम्मान गरिएको हो । यो गीतमा सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र मनोज राजको स्वर रहेको छ ।

डा. उपाध्यायको गीतको भिडियोमा सुजलले पहिलो पल्ट आफ्नो अभिनय कला पस्किएकी छन् । कविता शिवाकोटीको स्वर रहेको ‘झिम झिम परेली…’ यो गीतमा सन्तोष श्रेष्ठले सङ्गीत गरेका छन् । वसन्त सापकोेटाले निर्देशन गरेको गीतको भिडियोमा सुजलको उत्कृष्ट अभिनय देख्न सकिन्छ । ‘सुजल धेरै काम गर्ने चाह राख्छिन्, उनीभित्र निहित प्रतिभालाई प्रस्फुटनको जरुरी छ, उनी राम्रो कलाकार बन्न सक्छिन्’, निर्देशक सापकोटा भन्छन् । सुजलसँग काम गर्दा धेरै रमाइलो र राम्रो काम निस्किएको यस म्युजिक भिडियोका नृत्य निर्देशक माइकल चन्दको भनाइ छ ।

पढाइमा औसत रहेकी सुजल एसईईको रिजल्टले दङ्ग छिन् । अब म्यानेजमेन्ट लिएर अघिको शिक्षाको बाटो तय गरेकी उनले पढाइ सँगसँगै नृत्य र मोडलिङ क्षेत्रमा आफ्नो भविष्य कोर्ने बताउँछिन् । ‘राम्रो रुचि राखेर पढ्ने सुजल अतिरिक्त क्रियाकलापमा अलिक बढी संलग्न छिन् । उनको प्रतिभाले सम्पूर्ण बहिरा तथा स्कुलले पनि गर्व गर्न सकेको छ’, केन्द्रीय बहिरा स्कुल नक्सालका प्रधानाध्यापक उपेन्द्र पराजुली बताउँछन् । सबै साथीहरुसँग घुलमिल हुने र केही नयाँनयाँ काम गर्न रुचाउने सुजलको स्वभाव रहेको उनका साथीसङ्गीहरु बताउँछन् । आफ्ना फरक क्षमताका कारण विभिन्न सङ्घसंस्थाबाट सम्मान तथा कदरपत्र प्राप्त गरेकी उनलाई सशस्त्र प्रहरी परिवार महिला सङ्घको १८औं वार्षिकोत्सवको शुभअवसरमा पनि प्रशंसापत्र प्रदान गरिएको छ ।

अपाङ्गता भएकाले मात्र होइन, साङ्गहरुले पनि सुजलका कार्यहरुबाट सिक्ने अवसर पाऊन् । अपाङ्गता भएका व्यक्तिलाई उसको सर्वाङ्गीण विकासका लागि घरपरिवारको सहयोग र राज्यको दायित्व त्यत्तिकै आवश्यक छ । सुजलको हौसलामा पनि तपाईं–हामीहरु सहयोगी बन्न सकौँ ।

‘अरूसँग नभएको चिज मसँग छ त्यो हो– मेरो आँखा’

– अरिष्मा मोक्तान

साहित्यकार बेन्जामिन स्नोले भनेका थिए, ‘अपाङ्गता प्राकृतिक छ, यसले मानिसहरूलाई केही गर्नबाट रोक्छ भन्ने भ्रम हामीले हटाउनुपर्छ । किनकि त्यो सत्य होइन, अपाङ्गताले मानिसलाई केही गर्नबाट रोक्छ ।’

सामान्यतया सबै बच्चा नौ महिनामा जन्मिन्छन् । तर, उनी आमाको कोखबाट आठ महिनामै जन्मिइन् । उनी पिता टेकबहादुर बम र आमा हीरा शाहको कोखबाट जन्मेकी हुन् । समयको गतिसँगै उनी हुर्किंदै गइन् तर उनमा साधारण बच्चाझैँ बोल्ने, कराउने स्वभाव कहिल्यै देखिएन । त्यसो भएपछि परिवारमा चिन्ता बढ्न थाल्यो । उनकी आमा स्वास्थ्यकर्मी थिइन् । त्यसैकारण पनि परिवारले उनको उपचारका लागि भारत र काठमाडौँ धेरै पटक धाउनुप¥यो । उपचारका क्रममा उनी पूर्ण रूपले बोल्न र सुन्न नसक्ने अवस्थामा रहेको डाक्टरले बताएको उनका पिता टेकबहादुर सुनाउँछन् । यो जीवनकथा हो– सुजल बमको, जो जन्मजात कान सुन्न र बोल्न नसक्ने किशोरी हुन् । झट्ट हेर्दा उनलाई साधारण मान्छेजस्तो लागे पनि उनको व्यवहार तथा क्रियाकलापले मानिसलाई एकछिन सोच्न बाध्य बनाउँछ । उनका आँखा पनि सामान्य मानिसको भन्दा भिन्न प्रकारका छन् । उनी भन्छिन्, ‘अरू मान्छेमा नभएको चिज मसँग छ, त्यो हो– मेरो आँखा ।’ उनी ‘मेरो आँखा विदेशीको जस्तो’ भन्दै प्रफुल्ल भएर आफ्ना बुवालाई भन्ने गर्छिन् । सुजलको जन्मथलो डोटी जिल्लाको बोगटान गाउँ भए पनि हाल काठमाडौँको बलम्बुमा बस्दै आएकी छन् । सानैदेखि सुन्न र बोल्न नसके पनि उनी प्रतिभावान् छिन् । उनी पढ्न, लेख्न, नाच्नलगायत फुटबल खेल्न, जिम्न्याष्टिकजस्ता खेलहरूमा पनि अब्बल छिन् ।

समाजमा कुरा काट्नेको कमी भएन
सुदूरपश्चिमको दुर्गम जिल्ला डोटीमा जन्मजात सुन्न र बोल्न नसक्ने अवस्थामा जन्म लिएपछि समाजमा विभिन्न कुरा हुने गरेको उनका पिता बताउँछन् । सुजल गर्भमा हुँदा उनकी आमा कार्यालयको कामले खप्तड मेलामा गएकी थिइन् । गर्भवती भएको बेला मन्दिर जाँदा शारीरिक रूपले अपाङ्गता भएको बच्चा जन्मिन्छ भन्ने अन्धविश्वास नेपालमा अझै कायम छ । त्यसै कारणले पनि गाउँलेहरूले सुजल कोखमा भएको बेला खप्तड मन्दिर क्षेत्रमा पुगेकाले त्यस्तो भएको हो भनेर भन्ने गरेका थिए । पिता टेकबहादुर विगत सम्झिन्छन्, ‘हाम्रो वंशमा नै नभएकी छोरी जन्मी । कसरी जन्मी ? भन्नेजस्ता कुरा धेरै आए । तर, हामीले त्यसलाई ध्यान नै दिएनौँ । समाजका मान्छेको काम नै कुरा काट्ने त हो नि ।’

शिक्षाका लागि सुदूरपश्चिमदेखि पूर्वसम्म
पूर्ण रूपमा बोल्न र सुन्न नसक्ने ३ वर्षकी सुजललाई शुरूमा परिवारले शिक्षाका लागि सुदूरपश्चिम डोटीको बुडरको बहिरा स्कुल (कान नसुन्ने)मा लगियो । उक्त स्कूल घरभन्दा धेरै टाढा थियो । अब सुजलले सोही स्कूलको होस्टलमा बस्नुपर्ने बाध्यता आयो । सो स्कूलमा भर्ना गरेर पनि उनका पिताको मनले मानेन । उनी फेरि अर्कै राम्रो स्कूलको खोजीमा लागे । यसै क्रममा डोटीदेखि धेरै टाढा रहेको पूर्वी जिल्ला सिन्धुपाल्चोकको बाह्रबीसेमा बहिरा स्कूलमा भर्ना गराए । त्यहाँ सुजलले ३ र ४ कक्षा पढिन् । त्यसपछि फेरि उनलाई काठमाडौँँ ल्याइयो र नक्सालको बहिरा स्कुलमा भर्ना गरियो । त्यहाँ उनले होस्टल बसेर नै आफ्नो माध्यमिक तहको पढाइ पूरा गरिन् ।

सुन्न र बोल्न पूर्ण रूपमा नसके पनि सुजल सानैदेखि विभिन्न क्रियाकलापमा अब्बल हुँदै आएकी छन् । उनी आर्ट, नृत्य, फुटबललगायत अन्य कुरामा निकै रुचि राख्छिन् । उनको विशेष रुचि मोडलिङ, नृत्य र आर्टमा छ ।

अरू मानिसभन्दा फरक सोच भएकी उनमा सानो–सानो कुरामा पनि प्रश्न गर्ने स्वभाव थियो । उनी नयाँ ठाउँ घुम्ने, नयाँ कुरा गर्न मन लाग्नेजस्ता क्रियाकलापमा बढी रुचि राख्छिन् । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा सहभागी भइरहने सुजल कान नसुने पनि राम्रो नाच्छिन् ।

‘मिस्टर एन्ड मिस एसईई २०१९’ र सुजल
फेसन इरा काठमाडौँद्वारा आयोजित प्रतियोगितामा सुजलले पहिलोपटक ‘मिस्टर एन्ड मिस एसईईको पोस्टर ल्याएर ईशाराले देखाउँदै बुवालाई भनिन्, ‘बुवा यसमा फोन लगाइदिनू, म यसमा सहभागी हुन्छु ।’ छोरीको कुरा सुनेर टेकबहादुर एकछिन त अचम्मित भए । उनलाई अलिअलि अप्ठ्यारो लाग्यो पनि । यो मिस्टर एन्ड मिस एसईई सबै सपाङ्गका लागि होला, मेरी छोरीले कसरी यसमा भाग लिन्छिन् र ? भन्ने पनि उनका बुवालाई लाग्यो । उनका बुवाले हाँस्दै भने, ‘छोरीको जिद्दीका अगाडि मेरो केही लागेन, मैले आयोजकलाई फोन गर्दै आफ्नी छोरीको चाहना र अवस्थाबारे बताउँदा आयोजकसमेत चकित परे । मैले छोरीको चाहनालाई साकार पारिदिन अनुरोध गरेपछि आयोजकले उनलाई प्राथमिकतामा राखेर बिनाशुल्क सहभागी गराए ।’

‘मिस्टर एन्ड मिस एसईई २०१९’को यात्रा
प्रतियोगितामा देशभरबाट ८९ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । तीमध्ये ८८ जना सबै सपाङ्ग थिए । १६ वर्षीया सुजल मात्र अपाङ्गता भएकी प्रतियोगी थिइन् । अपाङ्गताकै कारणले असक्षम भए पनि उनले ‘सक्षम छु’ भन्ने पुष्टि गरेकी छन् ।

प्रतियोगिताको पहिलो दिन नै कार्यक्रममा सहभागिता जनाएकी सुजलका बारेमा आयोजकले पहिला नै परिचय दिए । त्यसबेला दर्शकदीर्घा, अन्य सहभागीलगायतबाट अपाङ्गतालाई सहानुभूति दिनुपर्छ भन्ने तरिकाले सहानुभूति प्राप्त भयो । पिता टेकबहादुरले भने, ‘तर निरन्तर दिन प्रतिदिन प्रतियोगितामा अगाडि बढ्दै जाँदा आफ्नो कलाले उनले सबैलाई चकित बनाइन् । प्रतिस्पर्धा गर्दै जाँदा उनी अरू सपाङ्ग व्यक्तिभन्दा कम छैनन् भन्ने पुष्टि गरेर देखाएकी छन् । अन्ततः ८४ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै पाँचौँ रनर अपको उपाधि जित्न उनी सफल भइन् ।’

उक्त प्रतियोगितामा उनले ‘अर्गनाइजर च्वाइस अवार्ड’ र क्राउन पाएकी छन् । त्यतिमात्र होइन, उनले ‘मोस्ट कन्फिडेन्ट र मल्टिमिडिया अवार्ड’समेत हात पारेकी छन् । अर्को उल्लेखनीय कुरा त के छ भने यस प्रतियोगितामा उनका पिता टेकबहादुरले समेत ‘बेस्ट प्यारेन्ट’को अवार्ड पाएका छन् ।

उनले सामाजिक सञ्जाल अर्थात् यूट्युब खोलेर आफ्ना दुईवटा नृत्य पनि हालेकी छन् । सुन्न र बोल्न नसक्ने आफ्नी छोरीको यस्तो प्रतिभा देखेर परिवारले गर्वको महसुस गरेको सुजलको बुवाले सुनाए । उनले भने, ‘मेरो छोरीजस्तै कैयौँ बालबालिका छन्, उनीहरूलाई पनि आफ्नो परिवारले सकेसम्म धेरै सहयोग गरौँ र हौसला प्रदान गरौँ । उनीहरूले पनि केही गरेर देखाउन सक्छन् ।’

यसमा तपाइको मत

अन्य समाचार