देशैभर लगातार वर्षा, सचेत रहन चेतावनी जारी

काठमाडौं,
साउन ८ ।

लगातारको वर्षापछि देशका विभिन्न नदी तथा खहरे खोलामा बाढी आएपछि बाढी सूचना केन्द्रले सचेत रहन चेतावनी जारी गरेको छ । नेपाल बाढी सूचना अलर्टले बु्धबार मध्याह्न १२ बजेपछि ट्वीट गर्दै बागमती नदीमा जलस्तर खतराको विन्दुमा पुगेको भन्दै तटीय क्षेत्रमा सचेत रहन भनेको छ ।

सूचनामा भनिएको छ, ‘हाल बागमतीको पधेरादोभान (कर्मैया) बाढी मापन केन्द्रमा जलसतह खतरा तह पुगेको र बढ्दो रहेकाले रौतहट र सर्लाहीका बागमती नदी तटीय क्षेत्रमा हुनेहरू आज बेलुका सम्मै उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहनुहोला ।’

बाढी सूचना केन्द्रले बाढीको जोखिम रहेका स्थानका वासिन्दाहरुको मोबाईलमा सन्देशसमेत पठाएको जानकारी दिएको छ ।
यस्तै बाढी सूचना केन्द्रले ‘चितवन जिल्ला माडी क्षेत्रको कल्याणपुर, बनकट्टा, ठोरी र आसपास भारी बर्षा मापन भएको छ, रिउखोला बनकट्टा बाढी मापन केन्द्रमा बहावले सतर्कता पार गरेको र बढ्दो रहेको, खतरा तह पनि पार गर्ने संभावना रहेकाले तटीय क्षेत्रमा बेलुका सम्मै सतर्क रहन अनुरोध छ’ भनेको छ ।

यस्तै चितवन, पर्सा, बारा, मकवानपुर, नवलपुर, परासी, पाल्पा, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, झापा, मोरङ, सुनसरी लगायत प्रदेश १, २, ३, ५, गण्डकीको चुरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको संभावना रहेको बाढी सूचना केन्द्रले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार