बाढी पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या ५०, ३३ बेपत्ता, २५ घाइते

काठमाडौं,
असार २९ ।

शुक्रबारबाट आएको बाढी पहिरोका कारण देशभर ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । बाढी पहिरोमा परी २२ जना महिला र २८ जना पुरुषको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा जनाईएको छ ।

आइतबार मध्यान्हसम्मको विवरण अनुसार २५ जना घाइते भएकाले उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३३ जना बेपत्ता भएका छन् । अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार प्रदेश नं. १ मा १७, प्रदेश नं. २ मा ८, प्रदेश नं. ३ मा १३, प्रदेश नं. ५ र कर्णाली प्रदेशमा दुई-दुई र उपत्यकाका तीन जिल्लामा आठ गरी ५० जनाको ज्यान गएको हो ।

उपत्यकाको काठमाडौँमा तीन र ललितपुरमा पाँच जनाले ज्यान गुमाएका छन् । सुरक्षाकर्मीले उपत्यकाबाट १९४ जना, प्रदेश नं. १ बाट १२ जना, प्रदेश नं. २ बाट ८२७ जना, प्रदेश नं. ३ बाट ७१ जनाको उद्धार गरेको जनाएको छ । अहिले पनि उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार