तत्काल उद्दार गरी राहत र उपचारमा जुट्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,
असार २८ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढि, पहिरो र डुबानबाट पीडितको तत्काल उद्दार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रालयहरूको समीक्षात्मक बैठकमा प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्दारमा जुटन मातहतका सबै निकायलाई निर्देशन दिनुभएको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री ओलीले सर्लाहीको मलंगवाको डुबान समस्या भारत सरकारसँग कुरा गरेर खुलाउनु भएको पनि बताउँनुभयो । बाँस्कोटाका अनुसार प्रधानमन्त्री ओलीले रौतहटको डुबान समस्या समाधान गर्न पनि भारत सरकारसँग कुरा पनि गर्नुभएको छ ।

सरकारी तथ्याङ्क अनुसार हालसम्म बाढि, पहिरो र डुबानबाट देशभरका गरी १७ जनाको ज्यान गएको पुष्टि भएको छ भने १३ जना घाइते भएको र ७ जना वेपत्ता भएका छन्। मन्त्री बाँस्कोटाले डुबान समस्याबाट सतर्कता अपनाउन आवश्यक सूचना प्रणालीको व्यवस्था गरिएको पनि बताउँनुभयो ।

मन्त्री बाँस्कोटाले राजधानी काठमाडौंसहित पर्सा, भोजपुर, रामेछाप, सिन्धुली, खोटाङ, काभ्रे, सर्लाही, रौतहटलगायतका जिल्ला डुबान, बाढी र पहिरोको चपेटामा परेको बताउँनुभयो ।

बिहीबार साँझबाट सुरु भएको अविरल वर्षासँगै देशका विभिन्न भाग बाढी, पहिरो र डुबानको चपेटामा परेको छ ।

यसमा तपाइको मत

अन्य समाचार