देशभर निरन्तर वर्षा, राजमार्गसहित केही ठाउँमा सडक अवरुद्ध

काठमाडौं,
असार २७ ।

देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । निरन्तरको अविरल वर्षाका कारण देशका विभिन्न भागमा राजमार्गहरु अवरुद्ध भएका छन् । गृह मातहतको राष्ट्रिय आपत्कालीन परिचालन केन्द्रका अनुसार वीपी राजमार्ग, बुटवल पाल्पा सडक खण्डसँगै भोजपुर धरान जाने बाटो बन्द भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले मनसुन पूर्ण सक्रिय भई देशभर पूर्ण बदली भई पानी परिरहेको जनाएको छ । महाशाखाका अनुसार शुक्रवार र शनिवार देशका अधिकांश स्थानहरूमा वर्षा हुनेछ। केही स्थाहरुमा भारी वर्षा हुने र थोरै स्थानहरूमा अत्यधिक वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाई छ । उच्च सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

मनसुनी न्यूनचापीय रेखा र मध्य तथा पूर्वी भागमा बनेको न्यूनचापीय क्षेत्रका कारण केही भूभागमा ठूलो वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ । अहिले पनि देशभर लगातार मनसुनी वर्षा भइरहेको छ ।

आज पूर्ण बदलीको सम्भावना रहेकाले पानी पर्न नरोकिने महाशाखाले जनाएको छ । यस्तै, पानीसँगै हावाहुरी पनि चल्ने भएकाले थप सतर्कता अपनाउन मौसमविद्हरुको आग्रह छ ।

यसमा तपाइको मत

अन्य समाचार