भारतको अर्थतन्त्रलाई सन् २०२५ भित्र पचास खर्ब डलर बराबरको पुर्याउने घोषणा

एजेन्सी,
असार २० ।

भारतमा शुक्रबार आगामी आर्थिक वर्षका लागि संसदमा बजेट प्रस्तुत भएको छ । हालै चुनाव जितेर दोस्रो कार्यकाल सम्हालेको नरेन्द्र मोदी नेतृत्वको सरकारको यो पहिलो बजेट हो ।

भारतकी प्रथम महिला अर्थमन्त्री निर्मला सीतारमणले लोकसभामा शुक्रबार ब्रिफकेस होइन बजेट फाइल खोलिन् । भारतीय इतिहासमा पूर्ण अथमन्त्री हुने निर्मला सीतारमण पहिलो महिला हुन् । मोदीको अघिल्लो कार्यकालमा उनी रक्षामन्त्री थिइन् ।

मन्त्री सीतारमणले भारतको अर्थतन्त्रलाई सन् २०२५ भित्र पाँच ट्रिलियन अर्थात् पचास खर्ब डलर बराबरको पुर्याउने घोषणा गरेकी छिन् । त्यसको अर्थ हो, आगामी पाँच वर्षमा भारतीय अर्थतन्त्रको आकार हालको भन्दा झण्डै दोबर पारिनेछ । संसदमा आफ्नो पहिलो बजेट प्रस्तुत गर्दै उनले त्यो लक्ष्य हासिल गर्न थुप्रै नयाँ योजनाको घोषणा गरिन् ।

त्यस्ता नयाँ योजनाहरूमा सामाजिक पूर्वाधार विकासदेखि लिएर अन्तरिक्ष तथा वातावरणसम्बन्धी कार्यक्रमहरू समावेश छन् । सन् २०२२ भित्र सबै ग्रामीण परिवारको पहुँचमा बिजुली र सफा खानपानको सुविधा पुर्याउने घोषणा उनले गरिन् ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भारतमा ब्रिटिश औपनिवेशिक कालदेखि नै प्रचलनमा रहेको बजेटको ब्रिफकेस बोकेर संसदमा जाने परम्परा तोडेकी छन् । त्यसको साटो उनले गाढा रातो रंगको परम्परागत बहिखाता बोकेकी थिइन् । उनको प्रमुख आर्थिक सल्लाहकार कृष्णामूर्ति सुब्रहमण्यमले यो कदमले ‘पश्चिमा सोचाइप्रतिको दासताबाट अलग’ भएको प्रतीक प्रस्तुत गर्ने बताए ।

यसअघि बिहीवार भारत सरकारले त्यहाँको संसद्मा पछिल्लो आर्थिक सर्वेक्षण पेस गरेको थियो । त्यसमा बितेको वर्ष भारतको आर्थिक वृद्धि सात प्रतिशतमा रहने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार