असार १५ अर्थात धान दिवस मनाइरहँदा

कृषिप्रधान देश भनेर चिनिएको हाम्रो देशमा हरेक वर्ष मध्यअसार तथा असार १५ लाई धानदिवसको रूपमा मनाउने गरिन्छ । १६औँ अन्तर्राष्ट्रिय धान दिवस ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ नेपाल सरकारले मनाउँदैछ ।

सरकारले यो दिवसलाई विविध कार्यक्रमसहित देशका ७५ वटै जिल्लामा मनाउँदैछ । उसो त असार १५ लाई नेपालमा कृषकहरूले विशेष दिन ‘असार पन्ध्र’को रूपमा मनाउँदै आएका छन् । कृषि क्षेत्रको प्रवद्र्धन तथा कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ०६० सालदेखि हरेक वर्ष असार १५ लाई धान दिवसको रूपमा मनाउँदै आएको छ । सरकारले यस वर्षको धान दिवस आज बर्दियामा मनाउँदै छ । विगतका वर्षहरूमा उपत्यका भित्रका जिल्लाहरू मात्रै मनाउँदै आएको धान दिवस यसपटक उपत्यका बाहिर वर्दियाको राजापुर नगरपालिका–८, धोविनीपुरमा मनाइँदै छ ।

– गीता अधिकारी

धान हाम्रो प्रमुख खाद्य बाली हो । नेपालमा सबै भन्दा धेरै खेती गरिने बालीका रूपमा धान पहिलो स्थानमा पर्छ । राष्ट्रको कूल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाइँले ठूलो महत्व राख्छ । कृषिप्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसैअनुसार प्रभाव पार्ने भएकाले रोपाइँको ठूलो महत्व रहिआएको हो ।

खेतिका लागि उपयुक्तमौसम सुरु भएको दिन असार १५ लाई रोपाई सुरु भएको दिनको रूपमा दही चिउरा खाएर मनाउने हाम्रो परम्परा रहिआएको छ । रोपाइँ गरी दहीचिउरा खानाले शरीरमा स्फूर्ति उत्पन्नहुने जन विश्वासमा खेतीपाती नहुनेले पनि अरूको खेतमा वा आफ्नै करेसा बारीमा रोपाइँ गरेर हिलो छयापा छयाप गरी रमाइलो गर्ने गर्दछन् । पछिल्लो समय पर्यटकहरूलाई पनि यो अवसरमा संलग्न गराउने थालिएको छ । पोखरा, चितवनलगायतका स्थानमा विशेष सामारोहको आयोजना गरी धान दिवस मनाउँदै रमाइलो गर्ने चलन बढ्दै गएको छ । काठमाडौं उपत्यकामा पनि धान रोप्ने नजिकका स्थानहरूमा पुगेर युवा युवतीले रमाइलो गर्ने गरेका छन् ।

सिँचाइ सुविधा सबै ठाउँमा उपलब्ध नभएकाले बाँकी क्षेत्र मनसुनमै भर पर्नुपर्ने स्थिति छ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भए पनि असारे भेल छोपी धान रोप्न व्यस्त हुन्छन् । असार महिनाभित्रै रोपाइँ गर्न नपाइएमा धान पाक्ने सम्भावना कम हुनाले पनि रोपाइँमा व्यस्त हुनुपरेको हो ।

साता–पन्ध्र दिन काम गरेर वर्षभर खाने बाली लगाउन कामको मिचो भएकाले वास्तवमा सबै कृषकका लागि असारको पन्ध्र महत्वको हुन्छ । लासलाई एकछिन घुमले छोपेर भए पनि असारे भेल छोप्नुपर्दछ भन्ने बूढापाकाको भनाइले पनि यसको महत्व दर्शाउँछ । त्यस्तै ‘असारमा डुल्ने पजनीमा भुल्ने’ अर्थात् असारमा काम गर्ने वेलामा त्यसै डुल्ने र सरकारको काम इमानदारीपूर्वक नगरी पदोन्नति अर्थात् पजनीमा नपर्ने व्यक्तिले गरी खाँदैन भन्ने बूढापाकाको अर्को उखानले पनि असारको महत्वलाई पुष्टि गर्छ ।

रोपाइँ कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ । रोपाइँको पहिलो दिन देवतालाई बिउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाइँको श्रीगणेश गरिन्छ । रोपाइँमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाइँ गरिने भएकाले यसले सामाजिक एकता र सद्भाव बढाउन पनि ठूलो टेवा पु¥याउँदै आएको छ ।

कतै–कतै ठूला खेती भएकाले रोपाइँ गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजाबजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रूमाल बाँड्ने पनि प्रचलन छ । दोहोरी रोपाईं गीतको रन्कोमा रोपाईं गर्नु असारको अर्को आकर्षण हो । खेत ग¥हामा लाठे र रोपाहारहरू असारे गीतको भाकासँगै रोपाईंमा व्यस्त हुन्छन् । लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरीबाटी चिटिक्क परेर मेलामा झरेका रोपाहारहरू कोही ब्याडमा बिउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन् ।

एक तथ्यांकअनुसार, धानखेतीको करिब ६० प्रतिशत क्षेत्र अझै पनि आकाशेपानीमै निर्भर हुनुपर्ने बाध्यता छ । पानी धेरै नपर्ने स्थानमा एकप्रकारको घैया धान लगाउन सकिन्छ तर वर्षे धानभन्दा यसको उत्पादन भने कम हुने बताइन्छ ।

हाम्रो देशमा समुद्री सतहभन्दा ७० मिटर उचाईमा रहेको झापाको केचनादेखि २ हजार ७८० मिटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धान खेती गरिंदै आएको छ । जुम्लामा लगाइने धानखेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा धानखेती भएको मानिन्छ । पछिल्लो समयको एक तथ्यांकअनुसार धानखेतीको ७९ प्रतिशत क्षेत्रफल भन्दा बढी विकासे जातका धानखेतीले ओगटेको बताइन्छ । यसले हाम्रो स्थानीय उत्पादन लोप हुँदै गएको छ ।

किसानहरूका लागि एउटा उत्सव पनि हो यो असार १५ । तर, किसानहरू टाउकोमा हात लगाएर बस्न बाध्य छन्, सहज मलखाँद उपलब्ध नहुनाले र सिंचाईका कारणले । वर्षेनी मनसुनले पनि किसानलाई ठग्दै आएको छ । कि अतिवृष्टि कि अनावृष्टि । सामान्यतया नेपालमा जुन १० अर्थात् जेठको अन्तिम सातादेखि मनसुन सुरु हुने गर्दछ । तर, यो वर्ष करिब दश दिन ढिलो गरी मनसुनी वर्षा सुरु भएको छ । मनसुनी वर्षा सबै क्षेत्रमा एकै रूपले सक्रिय हुन सकेन ।

कुनै स्थानमा थोर बहुत पानी परेको छ भने कुनै स्थानमा मनसुनी पानी नपरेर धानको ब्याडसमेत राख्न पाएका छैनन् किसानले । यसले सबैभन्दा बढी मर्का किसानलाई पारेको छ नै अन्ततः उब्जनीमा पार्ने प्रभावले आमनागरिकलाई नै यसले पीडित बनाउनेछ । सिँचाइ भएका ठाउँमा रोपाइँ गर्न थालेका किसानले सहुलियतको मल पाएका छैनन् । जहाँ सिँचाइ छैन, त्यहाँका किसान असार १५ लाई धान दिवसको रूपमा मनाएर उत्सवमा रमाउने साटो ब्याडसमेत राख्न नसकेको अवस्था छ । विद्युत्को सहज पहुँच अभाव, डिप बोरिङको चोरी र उपकरण जीर्ण हुँदै जाँदा तराईका कतिपय जिल्लाहरूमा भूमिगत सिँचाइ पनि पूर्णरूपमा सूचारू छैन । समग्रमा सुनका बाला फलाउने तराई क्षेत्रका किसान पीडामा छन् ।

अतः यसतर्फ सम्बद्ध निकायको ध्यान जानुपर्छ । त्यतिमात्र होइन, अतिवृष्टि र अनावृष्टिको शिकार भएका किसानहरूका लागि राज्यले राहतको व्यवस्था मिलाउनुपर्छ । राहतसँगै सिंचाई उपलब्ध भएका ठाउँमा सहुलियत मलको व्यवस्था गरिनुपर्छ । अनि मात्र उत्पादक क्षेत्रको उत्साहसँगै किसानहरूमा हर्षको सञ्चार हुनेछ । त्यसले समग्र उत्पादनका क्षेत्रमा सकारात्मक प्रभाव पर्न सक्छ । अनि मात्र असार १५ साँच्चिकै उत्सवका रूपमा मनाउन सकिन्छ । नेपालमा कूल क्षेत्रफलको ५५ प्रतिशत क्षेत्रफल धान खेती गरिँदै आएको भनिए तापनि यसमा प्रविधि, बिउबिजनलगायत विविध विषयमा ध्यान दिन नसक्दा आयात प्रतिस्थापन हुन नसकेको हाम्रो तीतो यथार्थ हो ।

अर्को तीतो यथार्थ के हो भने गाउँघर युवाविहीन छन्, दैनिक युवाहरू विदेश पलायन भइरहेका छन् । आफ्नै देशमा पसिना बगाउनुपर्ने युवाशक्ति मरूभूमिमा पसिना बगाउन बाध्य छन् यतिवेला । कृषिप्रधान हाम्रो मुलुकमा खाद्यवस्तु आयात हुँदै आएको छ । हाम्रो भान्सामा पाक्ने चामल, तरकारी, दाल, पिठो, माछा, मासु र फलफूल गरी अर्बौंको खाद्यान्न आयात गरिन्छ ।

यसलाई न्यूनीकरण गर्न र युवाशक्तिलाई देशमै पसिना बगाउन नलगाएसम्म जस्ता दिवस मनाए पनि यी दिवसमै सीमित हुने निश्चित छ । कृषि प्रधान देश जहाँको मुख्य उत्पादन धान, हाम्रो विहान बेलुकाको खानाका रूपमा भान्सामा आउँने चामलमा परनिर्भरताले हामीलाई कहाँ पु¥याउँला । धानलगायत प्रमुख बालीमा आत्मनिर्भरताको अवधारणाअनुुसार नेपाल सरकारले आफ्ना कामहरू गर्न आज धान दिवस मनाइँरहदा जरुरी छ । यसमा प्रविधि, बिउ बिजनलगायत विविध विषयमा ध्यान दिन नसक्दा आयात प्रतिस्थापन हुन नसकेको हाम्रो तितो यथार्थ हो ।

यसमा तपाइको मत

अन्य समाचार