शृङ्खलाबद्ध ‘सिरिन्ज’ आक्रमण गर्ने पक्राउ

काठमाडौं,
असार १३ ।

काठमाडौँ उपत्यकामा शृङ्खलाबद्ध रुपमा तिखो हतियारले महिलालाई आक्रमण गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३० बर्षिय सन्तोष कार्की रहेका छन् । उनले काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा शृङ्खलाबद्ध रुपमा महिलामाथि आक्रमण गर्दै आएका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सन्तोष कार्कीलाई शुक्रबार सार्वजनिक गरेको हो । कार्कीलाई बिहीबार राति १० बजे महाराजगन्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रामेछाप घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका कार्कीलाई प्रहरीले विभिन्न युवतीहरुलाई जथाभावी सूई घोच्दै हिँडेको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका कार्कीले प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ । उनले सिरिन्जले आक्रमण नगरी किलाले आक्रमण गरेको बयान प्रहरीसमक्ष दिएका छन् ।

कुनै रोग सार्न नभई आफ्नो रमाइलोका लागि सिरिन्जले नभई सुरुमा काठको सुइरो र पछि ढलान किलाले घोच्ने गरेको बयान दिएको प्रहरीले पत्रकारसम्मेलनमार्फत जनाएको छ ।
प्रहरीले उनको बयानमा पुरा विश्वास नगरी सकेकाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

काठमाडौं र भक्तपुरमा केही दिनअघि शृङ्खलाबद्ध रुपमा युवतीहरुमाथि तीखो वस्तुले घोचेर आक्रमण भएको थियो । त्यसलाई कतिपयले सिरिन्ज आक्रमण भएको बताए पनि पक्राउ परेका अभियुक्तले भने काठ र ढलानको किलाले घोच्ने गरेको बताएका छन् ।

सोही प्रकृतिको घटना भक्तपुर र काभ्रेमा समेत भएको थियो । घटनामा एकजना ब्यक्ति या समूहको संलग्नता थियो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अहिलेसम्म पाँच जना महिलाले आफुमाथि आक्रमण भएको उजुरी प्रहरीमा दर्ता गराएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार