अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने – प्रधानमन्त्री

काठमाडौं,
असार ६ ।

अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । ‘समय निकालेर हरेक मानिसले दैनिक योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुन्छ’, उनले भने ।

अहिले देशलाई आवेश र उत्तेजनातिर लैजान खोजिएको बताउँदै प्रधानमन्त्री ओलीले त्यस किसिमका प्रयासलाई निस्तेज गरेर सरकार देशलाई समृद्धिको यात्रामा अघि बढाउन प्रतिवद्ध रहेको बताए ।

‘योगाभ्यास तथा प्रवचन कार्यक्रम’मा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘योगको अभ्यास भाषा र लिपी सुरु हुनुभन्दा धेरै अघिबाट सुरु भएको हो । मानिस स्वस्थ रहनका लागि योगको निरन्तरता जरुरी छ ।’

प्रधानमन्त्री ओलीले अगाडि भने, ‘हामीले ५, ६ हजार बर्ष पहिलेका मूर्तिहरु हेर्‍यौं भने पनि योगका विभिन्न आसन देखिन्छन् ।’

प्रधानमन्त्री ओलीले नेपालको कोशी किनारमा बेदका ऋचाहरुको रचना भएको उल्लेख गरे । ‘यस्तो ज्ञान भूमीमा बस्ने हामीहरु केही समयपछि परेका हौँ तर अब त्यो अवस्था रहँदैन,’ प्रधानमन्त्री ओलीेले भने ।

प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा शिक्षा मन्त्रालयका तर्फबाट आयोजना गरिएको प्रवचन कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल र भारतीय राजदूत मञ्जीव सिंह पुरीसमेत अतिथिका रुमपा सहभागी थिए ।

यसमा तपाइको मत

अन्य समाचार