धादिङको चैनपुरमा खानेपानी योजनाको उद्घाटन

धादिङ,
जेठ २७ ।

धादिङ जिल्लाको ज्वालामूखी गाउँपालिकाको चैनपुरमा सम्पन्न भएको चैनपुर खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । सोमबार खानेपानी मन्त्री बिना मगरले धादिङको सदरमुकाम धादिङबेसीबाट १९ किलोमिटर उत्तरमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको उद्घाटन गरेकी हुन् । उक्त खानेपानी आयोजना उद्घाटन गर्दै मन्त्री मगरले चैनपुरबासीले घण्टौं हिडेर खानेपानी ल्याउनुपर्ने बाध्यता अन्त्य भएकोमा खुसी व्यक्त गरिन ।

‘महिला सबल भए, महिला आत्मनिर्भर भए मात्र समाज र देश समृद्ध बन्छ । महिलाहरु घरायसी काममा मात्र अल्झिदा अन्य उत्पादनमूलक काममा समय दिन भ्याएका छैनन्, यो बाध्यता मैले राम्रोसँग बुझेको छु । तपाईहरुको समस्यालाई आफ्नै समस्या ठानेर काम गरिरहेको छु र गर्नेछु’, मन्त्री मगरले भनिन, ‘संविधानले खानेपानीलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । त्यसको कार्यान्वयनका लागि मन्त्रालय गम्भीर रुपमा लागिरहेको छ ।’

विश्व बैङ्क र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड)को आर्थिक सहयोगमा सञ्चालित उक्त आयोजना सम्पन्न भएपछि करिब १ हजार जनसङ्ख्या लाभान्वित हुने भएका छन् ।

यस आयोजनामा ४ वटा इन्टेक, ६ वटा ट्याङकी, ४ ठाउँमा पम्प हाउस र २ ठाउँमा पानी वितरण केन्द्र छन् । यस आयोजना अन्तर्गत १ सय ६१ घरमा मिटर सहितको धारा जडान गरिएको छ ।

फोकस नेपालको प्राविधिक सहयोगमा सम्पन्न भएको यो आयोजना वि.सं. २०७१ बाट प्रारम्भ भएको हो । १ करोड ३४ लाख ४२ हजार छत्तीस रुपैयाँको लागतमा सम्पन्न उक्त आयोजनाबाट चैनपुरका १६१ घरधुरी लाभान्वित भएका छन् ।

आयोजनाले उत्तरी धादिङका हजारौं नागरिक लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रसाद छत्खुलीले बताए ।

कार्यक्रममा धादिङ्का सङ्घीय सांसदहरु गुरु बुर्लाकोटी, खेमप्रसाद लोहनी, विश्व बैङ्कका नेपाल प्रबन्धक फारिस हदाद जेरबोस, फण्ड बोर्डका कार्यकारी निर्देशक लिलाप्रसाद ढकाललगायतले सम्बोधन गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार