उपत्यका भित्रका पोखरी र ढुङ्गेधाराको संरक्षणमा गरिने-खानेपानी मन्त्री

काठमाडौं,
जेठ १८ ।

खानेपानी मन्त्री बिना मगरले उपत्यका भित्र रहेका ताल तलैया, पोखरी र ढुंगेधाराको संरक्षण, सम्बर्द्धन र सौर्न्दयीकरणमा योजना बनाएर अघि बढिने बताएकी छन् ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) द्वारा प्रकाशित भएको काठमाडौं उपत्यका भित्रका पुराना ढुङगे धारा तथा पोखरीहरुको लगत-नक्साङकन सम्बन्धि पुस्तकको बिमोचन गर्दै खानेपानी मन्त्री मगरले नास हुँदै गइरहेको पोखरी र ढुंगेधाराको संरक्षण र सम्बर्द्धनमा योजनासहित अघि बढिने बताएकी हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘आधुनिकताले हाम्रो प्राचीन सभ्यता झल्काउने कलात्मक ढुंगेधारा र पोखरीहरु मासिदै गैरहेका छन् । सहरीकरणका कारण हाम्रो जीवन्त कला, संस्कृति लोप भएका छन् । अब यसलाई सम्भाव्यता अध्ययन गरेर यसको संरक्षणमा जोड दिनु आवश्यक छ ।’

ढुंगेधारा र पोखरीको संरक्षण र सौन्दर्यीकरण गरेर पर्यटकहरुलाई समेत आकर्षित गर्न सकिने मन्त्री मगरको भनाइ छ ।
काठमाडौं उपत्यका भित्र रहेका ढुंगेधारा र पोखरीहरुको बारेमा लगत तथ्याङ्क सङ्कलन गरि पहिलोपटक यस्तो पुस्तक तयार भएको हो ।

काठमाडौं उपत्यका भित्रका १० वटा नगरपालिका क्षेत्र भित्र रहेका ढुङ्गेधारा तथा पोखरीहरुको स्थलगत रूपमा अध्ययन तथा अनुसन्धान गरि सो को विस्तृत लगत सङ्कलन गरि पुस्तक तयार गरिएको छ ।

जसमा उपत्यका भित्र रहेका २ सय ३३ पोखरीहरु मध्ये स्थलगत रूपमा भेटिएका पोखरीको सङ्ख्या १ सय ९३ रहेको पुस्तकमा उल्लेख छ । त्यस्तै ४० वटा पोखरीहरु लोप भएका छन् ।

यसैगरी उपत्यका भित्र अध्ययनका क्रममा ५ सय ७३ ढुङ्गेधाराहरु सङ्कलित गरिएकोमा स्थलगत रूपमा भेटिएका ढुङ्गेधाराहरुको सङ्ख्या ४ सय ७९ वटा, मासिएको ढुंगेधाराको संख्या ५२ वटा र पत्ता नलागेको ढुङ्गेधाराको सङ्ख्या ४२ वटा रहेका छन् ।

१० वटा नगरपालिका क्षेत्र भित्र रहेका ४ सय ७९ ढुङ्गेधारा मध्ये अध्ययनको क्रममा १ सय ७१ वटा ढुङ्गेधारामा मात्र पानी बगेको पाइएको अध्ययनले देखाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार