बन्दका कारण जनजीवन प्रभावित, टाइमर मिलाउन नजान्दा हिजै पड्कीयो बम

काठमाडौं,
जेठ १३ ।

विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका कारण जनजीवन प्रभावित बनेको छ । काठमाडौंमा साविकझैं गाडी चलेका छैनन् भने अघिकांश शैक्षिकसंस्था बन्द भएका छन् । यस्तै राजधानी बाहिरिने गाडी न्यून सङ्ख्यामा मात्रै चलेका छन् । सार्वजनिक सवारीका साधन कम चल्दा कलेज जान हिँडेका विद्यार्थी बढी मार्कामा परेका छन् ।

प्रहरीले भोजपुरमा आफ्नो कार्यकर्ता तिर्थ घिमिरे ‘राजु’लाई गोली हानेर हत्या गरेको विरोधमा विप्लव समूहले बन्द आह्वान गरेको हो ।

बन्दको पूर्वसन्धयामा आइतबार राजधानीलाई आतंकित पार्ने उद्देश्यले बम विस्फोट गराउँदा चार जनाको मृत्यु भएको थियो । सोमबार बन्द सफल पार्न झिससिमेमै बिस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार अपरान्ह ४ः१५ मा विस्फोट भएको प्रहरीको भनाई छ । सुकेधारा र घट्टेकुलोमा एकैपटक विस्फोट भएको थियो । राजधानीका थप चार ठाउँमा बम भेटिएको थियो ।

राजधानीको चोक चोकमा ठूलो मात्रमा सुरक्षाकर्मी तैनाथ गरिएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार