जसको हातमा बन्दुक र हृदयमा कविता थियो

‘हत्या कि
आत्महत्या थियो त्यो ?
इतिहास मौन छ
कोही बोल्दैन
वर्तमान शोकमा डुबेको छ …’

प्रस्तुत कवितांश टोपबहादुर याक्खा अर्थात् टीबी याक्खाकृत कविताकृति ‘आँधी रोकिएपछि’ भित्र सङ्ग्रहित कविता ‘हत्या कि आत्महत्या’ बाट लिइएको हो । गम्भीर कवि एवम् चिन्तक धर्मेन्द्रविक्रम नेम्वाङलाई ‘वर्तमान नेपाली अन्तर्जागरणकाललाई महत्वका साथ पुष्टि गर्नका लागि नै कवि टीबी याक्खाले यी कविताहरु लेखेका हुन्’ लाग्छ ।

कविता लेख्नु भनेको आगोसँग खेल्नु हो, आँधीभित्र छिर्नु हो । जो कविहरुका निम्ति कम जोखिमपूर्ण छैन, यद्धपि जोखिम मलेरै कवि टीबी याक्खा छिरे आँधीभित्र र आँधी रोकिएपछि लेखे यति सुन्दर कविताहरु ।

‘पुरै घाम डुबाएर
हतार–हतार फर्किरहेछ एउटा मजदुर
पुरै जुन डुबाएर
हतार हतार फर्किरहेछ एउटा मजदुर
… रोटीको टुक्रा बोकेर
हतार–हतार फर्किरहेछ एउटा मजदुर’
(यो शहरको खेती)

बोल्ने आफ्नै आञ्चलिक लवज छ कविको । भन्छन्, ‘हाम्रो कुरा हामीले लोखिङ्ना भने कसैले लेख्दैना’ कवि टीबी स्वयम्मा एक सुन्दर कविताजस्तै लाग्छ । आजभन्दा ३७ ऋतुअघि सङ्खुवासभामा जन्मिएका हुन् उनी । सङ्खुवासभा भन्नासाथ प्रिय गायक मित्र स्व. खेमराज गुरुङ आँखामा धपक्क उदाउँछन्, अनन्तकालसम्मलाई थोरै तर अमर सिर्जना र त्योभन्दा बढी विस्मात् हामीलाई सुम्पिराखेर उनी पृथ्वीको महादुःखहरुबाट उमेरमै सपनाजस्तो अलप भए । त्यही सङ्खुवासभामा तिनै दुःखहरुलाई प्रेम गर्न उदाएका कवि टीबीको हालको कर्मथलो हङकङ छ ।

  • चन्द्र रानाहँछा

आफ्ना कला संस्कृतिलाई राष्ट्रकै मूल सम्पत्तिको रुपमा लिने चाइनाको सुन्दर एवम् उच्च विकसित शहर हो हङकङ । जहाँ रहेर कलम चलाइरहेका टीबी बोल्छन्, ‘यात्राको फेरो समातेर हामी जहाँसुकै जाङ, संसारमा जतासुकै पुगुङ, हामीले आफ्नो भाषा, साहित्य, संस्कार र संस्कृतिलाई आफूसँगै लैजान्छुङ र त्यसैको रङमा घोलेर त्यहाँँ बटुलेका अनुभव, ज्ञान, देखे–भोगेका त्यहाँको समाज, राजनीति, मनोचिन्तना र उद्घाटित नवीन रहस्यहरुलाई साहित्यमा लेख्छुङ ।’ यसरी कविको यात्रासँगै ठाउँ परिवेशको सापेक्षतामा सिर्जनाको पुनस्र्थापना हुने दाबी गर्दै उनी थप्छन्, ‘साहित्य भाषा तथा संस्कृतिको उच्च शिर हो, जसको जन्म सर्जकको संवेदनाको पिँधबाट हुन्छ र यसको अनुहार परिस्थितिअनुसार पृथक हुन्छ ।’

‘के गरी बित्दैछन् त
खाम्लिङे तामाङ दाइ
आजकल तिम्रा दिनहरु ?
कहाँ बिसायौ त तिम्रो त्यो जिन्दगीको भारी ?
अनि कहाँ थन्क्यायौ त
तिम्रो जिन्दगी बोक्ने त्यो ढकार र तोक्मा ?’
(गाउँले दाइलाई प्रवासीको सम्झना)

सानै उमेरमा केले मोहित पार्यो टीबीलाई कवि बन्न ? झोलामा किताब बोकेर लड्दै स्कुल आउँदा-जाँदाका पुराना धुले बाटाहरुले या कक्षामा गुरुहरुले कनीकुथी बोक्रामात्रै उप्काएका अग्रज साहित्यकारहरुका जीवनी अर्थात् रचनाहरुको प्रभावले ? घाँस–दाउरा, मेला-पात, गोठाला-खेताला जाँदा तमासले सुसाउने खोला, बतास र जङ्गलको सुसाइले ? या चराचुरुङ्गीहरुका मधुर गीतले ? हाटबजार गर्दा, साकेला नाच्दा आँखामा बस्न आएका यौवनाहरुको एकोहोरो सम्झनाले ? या आफूले पुज्दै आएका मुन्धुमको लय अर्थात् उकाली-ओराली गर्दा आफैले गाएका गीत र बजाएका बाँसुरी–सुसेलीहरुले ? या आँखा अघिल्तिर प्रकट भएका मानिसहरुका आदिम दुःख र आँशुले ? या कक्षा पाँच पढ्दापढ्दै मुटुको प्राणघातक रोगले अल्पायूमै देहवसान भएकी दिदी मञ्जुको अगाध मायाको डसाइले कवि भए उनी  ? आखिर असल होस् या खराब जीवनमा मानिसलाई जुनसुकै काम गर्न कुनै न कुनै घटनाले प्रेरित गर्छ नै । कवि टीबी याक्खा माथि उधृत गरिएका घटनाहरुसँग अन्तर्घुलित भएरै साहित्यमा होमिएका स्रष्टा हुन् । कविताका अलवा कथा, संस्मरण गीत/गजलमा समेत उत्तिकै कलम चलाउने उनको प्रिय विधा भने कविता नै हो ।

‘साहित्य मानिसका पक्षमा लेखिन्छन् भने त्यहाँ मानिसको संवेदना र जीवन दर्शन हुनैपर्छ’ को मान्यता राख्ने उनी बोल्छन्, ‘हामीले हाम्रा कथाहरुलाई नयाँ र लालित्यपूर्ण भाषामा लेख्नु सकिङ् भने मात्र साहित्य अर्थसिद्ध हुन्छ ।’
झलक्क हेर्दा घरि रिङभित्र आफ्ना प्रतिद्वन्द्वीलाई एकै प्रहरमा चित खुवाउने रेस्लर खेलाडीजस्तै देखिने त घरि चाइनिज मुभिमा खेल्ने कुनै सुन्दर नायकजस्तै देखिने कवि याक्खा पूर्व नेपाली सेना हुन् । आफू सेनाको जागिरे भइञ्जेल उनी हातमा बन्दुक र हृदयभरि कविता बोकेर अत्यासपूर्ण दैनिकी बाँचे । ६०को दशक नेपालभरि सशस्त्र जनयुद्धको आँगो दन्किएको थियो । युद्धले आक्रान्त देशको कुनै कुना सुरक्षित थिएन । कवि टीबी त्यो समयकाललाई स्मरण गर्दै बोल्छन् ‘ऊ बेला मर्नु डर लाग्दैनाथ्यो, बरु मार्नु डर लाग्थ्यो ।’ दिनानुदिन विद्रोही नेताहरुको टाउकोको मोल तोकिरहेको राज्यले त्यसबेला विद्रोहीहरुलाई मार्न सक्ने नेपाली सेना (तत्कालीन शाही सेना)हरुको बढुवा तुरुन्तै गथ्र्यो । परन्तु बढुवा (प्रमोशन)को लालचमा हातमा बन्दुक भए पनि युद्धमा सामेल कवि (सेना) टीबीले मानिसको हत्या गरेनन् । कवितै कविताले लछप्पै हृदय भिजेका सैनिक कविलाई मानिसको टाउको र छातीमा बन्दुक ताक्दा हात काप्यो । तसर्थ, उनले आफ्नो जागिर राज्यलाई नै हापेर सदालाई बन्दुक त्याग्ने निधो गरे । जब उनले जागिर छाडे, बन्दुक त हातबाट छुटिसकेको थियो तर कविताले पछ्याउन छाडेन उनलाई । ऋणको बोझ बिसाउन उनले तिनै कवितालाई आफ्ना सबसे प्रिय साथी बनाएर मकाउको यात्रा तय गरे । दुई वर्षको मकाउ बसाइपछि उनी आफ्नी जीवनप्रियाका साथमा हङकङ छिरे । उनी छिर्दा हङकङमा त्यसताका साहित्यमा कवि नरेश सुनुवार, देश सुब्बा, आशिष साम्पाङ ‘महेश’ र दाजु गुरुङहरुको अर्कै तकझक थियो । रहँदा–बस्दा जोडिँदै गए उनी कवि टंक सम्बाहाङ्फे, डीबी पालुङ्वा, सुनिता गिरी, पूर्णिमा जी. शाह, बज्र थुलुङ, मगेन्द्र राई, चन्द्र मादेन ‘आन्छन’ र जीतकर्ण राईहरुसँग । यसरी सपनाको नाउ खियाउँदै विभिन्न भूमिमा रगत, पसिना र आँशु बराबर बगाइरहँदा सङ्गालेका अनुभूतिहरुबाट जन्मिएको उनको सुन्दर सन्तान हो– कवितासङ्ग्रह ‘आँधी रोकिएपछि’ ।

कवि टीबी जब देश छोडेर उता पुगे, उनलाई देशको मायाले अगाध सतायो । घरगाउँ, गाउँले र दौतरीहरुको प्रेमिल यादले गहिरो चहर्यायो । र, उता बसेर लेखे गाउँका कविता । जब उनी थकानको श्वास फेर्न देश फर्किए, यता बस्दा उनले उता सम्झिए र लेखे उतैका कविता । कविहरुको कल्पनाको उडान जहाजको जस्तो सीधा हुँदैन, चराहरुको जस्तै हुन्छ, जुन कल्पनाको वेगमा विचारको प्वाँख जडेर लेख्नेहरु मात्र सफल कवि ठहरिन्छन् ।

कवि टीबी याक्खाले कवितामा चलाएका विम्बहरु सभा खोलाका छालहरुझैं स्निग्ध र शान्त लाग्छन्, जसले जमिरहेका दहहरुलाई गतिशील बनाइरहन्छन् । पढिसकेपछि हृदयलाई संवेदित तुल्याउँदै मानिसको मस्तिष्कमा नवीन सपना र वैचारिक मार्गहरुको अनन्त रहस्योद्घाटन गर्नु कविताको अपरिहार्य सर्त हो । कविताको फ्याक्ट अर्थ (मुहार) शब्दहरुमा हुँदैन र त्यो देखिँदैन । कविताको अर्थ त शब्दहरुको अन्तर्यमा छलिएको हुन्छ । त्यसलाई सचेततापूर्वक उधिन्ने सामथ्र्य राख्ने कवि टीबी याक्खा डायस्पोरामा रहेर कविता लेख्ने नेपाली कविहरुमा सम्झनयोग्य नाम हुन् । फेरि पनि उनको परिचय साहित्यमा मात्रै जोड्दा निःसन्देह त्यो अपूर्ण हुन्छ । उनी त असल समाजसेवी, संस्कृतिकर्मी, खेलाडी एवम् कुशल पत्रकार पनि हुन् ।

साहित्यिक संस्था ‘हङकङ साझा साहित्य शृङ्खला’का पूर्वसंयोजक उनी हाल त्यही संस्थामा सल्लाहकार छन् भने ‘सङ्खुवासभा समाज हङकङ’का वर्तमान अध्यक्षको हैसियतमा रहेर उनले महत्वपूर्ण सामाजिक–साँस्कृतिक कार्य सम्पन्नसमेत गरिरहेका छन् । त्यस्तै, उनले स्व. दिदी मञ्जु याक्खाको नाममा ‘स्व. मञ्जु याक्खा स्मृति छात्रवृत्ति अक्षयकोष’ स्थापना गरी उक्त कोषबाट हरेक साल अनाथ तथा जेहेनदार छात्रछात्राहरुलाई छात्रवृत्ति प्रदान गरिरहेका छन् भने ‘एभरेष्ट साहित्यिक डटकम’ तथा ‘बगैँचा डटकम’ जस्ता हङकङका लोकप्रिय मिडियाहरुमा आबद्ध रहेर कुशल पत्रकारितासमेत गरिरहेका छन् । यसर्थ, जीवनप्रिया एवम् एक छोरीका अभिभावक कवि टीबी याक्खा बहुआयामिक व्यक्तित्व हुन् । उनको युद्धसम्बन्धी संस्मरण प्रकाशनको अन्तिम तयारीमा छ । यस सत्कार्यका लागि उनलाई अग्रिम शुभकामना त छँदैछ तर ‘कविज्यू अब थकानको श्वास फेर्न कहिले स्वदेश आङ्नुहुन्छ त  ? आङ्दा कसैगरी भेटुङ है  !’

(मिलापको वैशाख अङ्कबाट)

यसमा तपाइको मत

अन्य समाचार