चलचित्र क्षेत्रका बेथिती विषयक अन्तरक्रिया

काठमाडौं,
वैशाख ३ ।

चलचित्र पत्रकार संघको आयोजना तथा चलचित्र निर्माता संघको सहकार्यमा काठमाडौंको बसुन्धरामा ‘चियापान तथा चलचित्र क्षेत्रको बेथिती’को विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमूख अतिथ्यतामा बसुन्धरा स्थित स्काई पार्टि भेन्युमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालले नवनियुक्त विकास बोर्डका अध्यक्ष केशव भट्टराईलाई बधाई ज्ञापन पनि गरेका छन् । साथै बर्ष २०७५को समिक्षगत अवधारण पनि कार्यक्रममा संयोजक तथा चलचित्र पत्रकार संघका सचिव समीर बलामी प्रस्तुत गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै विकास बोर्डका अध्यक्ष केशव भट्टराईले चलचित्र क्षेत्रमा समस्या नै समस्या रहेको बताए । चलचित्र निर्माण, वितरण र प्रदर्शनमा धेरै समस्या भएको उनले स्विकारे । त्यसको समाधानको लागि पहल गर्दा पनि अहिले नीति अभावका कारण सम्भव नरहेको उनको तर्क छ । उनले आफ्नो पहिलो काम चलचित्र नीतिलाई सरकारबाट पारित गराउने रहेको बताए । जब चलचित्र नीति बन्छ, त्यसपछि चलचित्र क्षेत्रमा देखिएका बेथितीहरुको वारेमा समाधान खोज्न सजिलो हुन्छ । हामी सबै मिलेर प्रक्रियागत रुपमा समाधान खोज्न सक्छौं अध्यक्ष भट्टराईले भने ।

हामी विभिन्न समयमा चलचित्र क्षेत्रमा देखिएका समस्याहरुको वारेमा छलफल गर्छौं, समस्या निकाल्छौं तर समाधान गर्न सक्दैनौं । त्यसैले अब चलचित्र नीतिले मात्रै समाधान खोज्ने हुदाँ नीति पास गराउन सबै चलचित्रकर्मीहरु एकतावद्ध तरिकाले लाग्नुपर्ने उनको धारणा थियो । साथसाथै अध्यक्ष भट्टराईले आउँदो आर्थिक बर्ष भित्र देशैभर बक्स अफिसको परिक्षण गरिने बताए । बक्स अफिस परिक्षण पश्चात पूर्ण कार्यन्वयन तिर आफु अग्रसर हुने पनि उनले बताए ।

यस्तै निर्माता संघका अध्यक्ष आकाश अधिकारीले समस्याको समाधानतिर सम्बन्धित संस्थाले पहल नखोजेको र त्यसको मारमा निर्मातालाई मात्रै पारेको बताए । उनले निर्माताको धेरै समस्याहरुको वारेमा चलचित्र संघसँग सम्झौता भए पनि त्यो कार्यान्वयन नभएको बताए । ‘सम्झौता कार्यन्वयन गर्न चलचित्र संघ हच्किएको देखिन्छ, वितरकसँगको सम्झौता पत्रमा पनि उल्लेख भएअनुसारको कार्यान्वयन हुँदैन’, अध्यक्ष अधिकारीले भने । उनले कलाकारले आफ्नो आचरण परिवर्तन गर्नुपर्ने पनि बताए । कलाकारले आफुलाई रिजर्भ गर्न नसक्नु, आफ्नो दिनचार्य देखि सबै कुरा सामाजिक सञ्जालमा पोख्नु, अनावश्यक पारश्रमिकको माग गर्नु जस्ता समस्याहरु कलाकारमा रहेको उनले बताए । वितरण र प्रदर्शनको समस्यामा निर्माता मारमा परेको उनले बताए । त्यसको जिम्मेवार निकाय वितरक र चलचित्र संघले यस विषयमा सोच्नुपर्ने भन्दै यसमा सहकार्य र समन्वय गर्न विकास बोर्डलाई पनिअधिकारीले आग्रह गरे ।

कार्यक्रममा चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयले चलचित्र क्षेत्रमा कोही पनि ईमान्दार नभएको आरोप लगाए । उनले चलचित्रकर्मीमा सम्मान र सद्भाव नै नरहेको दावी गरे । आफ्नो चलचित्र आउँदा सबै जायज र अरुको चलचित्र आउँदा सबै कमजोरी देख्ने समस्या रहेको बताए । यस्तै प्रदर्शन र वितरणमा देखिएको समस्यामा बोल्दै उदयले गलत समाचार दिने निर्माताहरु जिम्मेवार रहेको बताए । आफ्नो वास्तविक व्यापार लुकाएर मिडियामा प्रचारबाजी व्यापारको तथ्याङ्क दिने, गलत समाचार दिने परम्पराको अन्त्य हुनुपर्ने बताए । कलाकारहरुले पनि आफ्नो पारश्रमिक बढि दावी गर्नु गलत रहेको उनको भनाई छ । उनले पारश्रमिक बढि माग्ने कलाकारले व्यापारको केही प्रतिशत जिम्मेवारी लिनुपर्ने दावी गरे ।
प्रदर्शन र वितरणमा देखिएका समस्यामा सबैमा मपाईत्व भएको कारण समाधान नभईरहेको उनले बताए । साझा समस्यालाई सबै चलचित्रकर्मीले आफ्नो समस्या सम्झेर समाधान गर्नुपर्ने उनको तर्क थियो । जबसम्म एकको समस्यामा अर्को चलचित्रकर्मीले साथ र सहयोग गर्न सक्दैन तबसम्म समस्याहरु निराकरण नहुने उनको दावी छ ।

यस्तै चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले निर्माताहरुले नै गलत समाचार सम्पे्रषण गरिरहेको बताए । आफ्नो चलचित्र लाग्दै गर्दा गलत समाचार र गलत व्यापारको तथ्याङ्क दिने गरेको उनको भनाई छ । हामी पत्रकारको काम सहि सुचनादिने हो । तर सूचना आउने स्रोतबाट नै गलत आएपछि त्यसको जवाफदेहिता स्रोत अर्थात निर्माताहरुले नै लिनुपर्ने अध्यक्ष सापकोटाले बताए । सबै पत्रकार सहि भने पनि हैन । तर, गलत समाचार सम्प्रेषण गर्छ भने त्यसको
ध्यानाकर्षन गराउनु पर्छ । गलत समाचार सम्प्रेषण गर्न निर्माताहरुले नै पत्रकार दिइरहने र समस्या पत्रकारमाथी थुपारिरहने निर्माताहरु सचेत हुनुपर्ने सापकोटाको तर्क थियो ।

आधादर्जन बढि वितरकहरुलाई कार्यक्रमको सन्दर्भ दिएर पटक पटक उपस्थित हुन आग्रह गर्दा पनि वितरकहरु मिडिया माझ आउन डराएको चलचित्र पत्रकार संघका सचिव समीर बलामीले दावी गरे । सबैलाई पटक पटक आग्रह गरेर कार्यक्रमको वारेमा जानकारी गराउँदा पनि उपस्थित हुने वचन गरेका वितरकहरु उपस्थित नभएको उनले बताए । निर्माताको समस्याको वारेमा वितरकमा देखिएका कारणहरुको समाचार बनाउँदा पत्रकारलाई धम्की दिने र सामाजिक सञ्जालमा मनको बहपोख्ने वितरकहरु कार्यक्रममा उपस्थित नहुनुने प्रदर्शन र वितरणमा ठुलो समस्यावितरककै कारण भएको उनको दावी थियो । वितरकहरु मनोज राठी, शुशिल पोखरेल, गोविन्द शाही, प्रचण्डमान श्रेष्ठ, निरक पौडेल, अशोक शर्मालगायतलाई आमन्त्रण गरिएको चलचित्र पत्रकार संघले जनाएको छ ।

वितरकको रुपमा उपस्थित भएका गोपालकाजी कायस्थाले वितरकहरुमा प्रतिस्पर्धा रहेको बताए । अरुको अस्तित्व स्विकार गर्न नसक्नुले वितरकको राजनीतिमा नेपाली निर्माताहरु मारमा परेको उनले स्विकारे । उनले पछिल्लो समय मनोज राठी र विक्रम पराजुलीका कारण चलचित्र ए मेरो हजुर ३ र यात्रा एक साथ रिलिज भएको बताए । यस्तै समस्या चलचित्र क्षेत्रमा धेरै छ । वितरकहरु आफ्नो मात्रै अस्तित्व रहेको भान गर्छन् । ‘अरुको मतलब राख्दैनन् त्यस कारण निर्माताहरु मारमा परेको हो’, वितरक गोपालकाजी कायस्थाले भने । सबै वितरकहरु दोषि नभएको उनले बताए । केही वितरकहरु मात्रै यस्तो भएको गोपालकाजीको तर्क थियो ।

कार्यक्रममा कलाकार तथा निर्देशक दीपाश्री निरौलाले समग्र चलचित्र क्षेत्र सबैको साझा भएकोले सबै मिलेर समस्या समाधान गर्नुपर्ने बताइन । एउटाले अर्को लाई असर पार्ने भएकोले १÷२ मात्र चलचित्र नभएर सबै चलचित्र चल्नुपर्ने उनको तर्क थियो ।

उक्त कार्यक्रममा चलचित्र क्षेत्रका बेथितीहरु वारे धेरै सञ्चारकर्मीहरुले आफ्ना जिज्ञासा राखेका थिए ।

एक बर्ष भरि ९७ वटा चलचित्रहरु रिलिजमा ८० चलचित्र डुबानका कारण, बक्स अफिस पूर्ण कार्यन्वयननहुनुका कारण, निर्माणमा देखिएका समस्या, वितरकहरुले एकै दिनदुई भन्दा बढि चलचित्र जुधाउने समस्या, प्रमोशन र वितरणमा देखिएका समस्या, चारैतिरबाट विदेशी फिल्मले घेर्ने तथा चलचित्र इन्कोड देखि हलमाहुने प्रमोशनमा र केडिएम चार्जमा समेत रहेको समस्याका वारेमा छलफल भएको थियो ।

कार्यक्रममा निर्देशकहरु प्रदिप भट्टराई, दिवाकर भट्टराई, दीपेन्द्र के खनाल, दिनेश श्रेष्ठ, निर्माताहरु उदय सुब्बा, माधव वाग्ले, रोज राणा, अर्जुन कुमार, कलाकार निर्मल शर्मा, चलचित्र पत्रकार संघका पदाधिकारीहरु सहित सञ्चारकर्मी र चलचित्र कर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार