लुक्लामा समिट एयरको विमान दुर्घटना

काठमाडौं,
वैशाख १ ।

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या तीन पुगेको हो ।

समिट एयरको एउटा विमान मनाङ एयर र श्री एयरको हेलिकोप्टर ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा विमानका को–पाइलटर सुदीप ढुंगाना र पर्यटक प्रहरीका सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको थियो ।

लुक्लाबाट रामेछापको मन्थलीमा कार्गो उडान भर्न लागेको समिट एयरको विमान विमानस्थलमै रहेका मनाङ र श्री एयरको हेलिकोप्टरमा ठोक्किएको हो । दुर्घटनामा विमान चालक रविन्द्रनाथ रोकाया र मनाङ एयरका क्याप्टेन घाइते भएका छन् । घाइतेमध्ये विमान चालक रोकायाको अवस्था गम्भीर छ ।

उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । विमानकी परिचालिका आर. लामा भने सकुशल रहेको जनाइएको छ ।
बिहान ९ बजेर ७ मिनेटमा विमान उड्ने क्रममा रनवेमा चिप्लिँदा हेलिकोप्टरमा ठोक्किँदा दुर्घटना भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार