एसइई परीक्षा सुरु, चार लाख ७५ हजार परीक्षार्थी परीक्षामा सहभागी

काठमाडौं,
चैत्र १० ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि हुने परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भई यही चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

यस वर्ष नियमिततर्फ चार लाख ५० हजार १८६ परीक्षार्थी सहभागी हुँदैछन् । त्यसैगरी, देशभरि एक हजार ९६९ परीक्षा केन्द्र कायम गरिएको छ ।

सातवटै प्रदेशमा साधारणतर्फका अनिवार्य छवटा विषयको छुट्टछुट्टै प्रश्नपत्र तयार गरिएको छ । संस्कृत र प्राविधिकतर्फका परीक्षार्थीका लागि भने एउटै प्रश्नपत्र हुनेछ । परीक्षामा ७२ हजार ६७१ जनशक्ति परिचालन हुनेछन् । तीमध्ये सुरक्षाकर्मीमात्र २९ हजार ५३५ छन् ।

यसमा तपाइको मत

अन्य समाचार