यस्तो छ ‘दाल भात तरकारी’को शिर्ष गीत

काठमाडौं,
चैत्र २ ।

चलचित्र ‘दाल भात तरकारी’ को शिर्ष गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको पहिलो गीत ‘भिजिट भिषामा’ले युट्युबमा करोड भ्यूज पाउन सफल भएको खुसी व्यक्त गर्दै निर्माण टिमले शिर्ष गीत सार्वजनिक गरेको हो ।

शम्भुजित बाँस्कोटाको सङ्गीत, राजेशपायल राई र स्मिता दाहालको स्वर रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पुष्प खड्का, आँचल शर्मा, हरिवंश आचार्य र निरुता सिंह फिचर्ड छन् । गीतको भिडियोमा हरिवंश र निरुतालाई भने सेफको पहिरनमा देख्न सकिन्छ ।

मह सञ्चारको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने सङ्घर्षको कथा भन्ने निर्माणपक्षले बताएको छ । चलचित्रमा हरिवंश आचार्यको कथा, पटकथा र संवाद रहेको छ । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित चलचित्र हो ।

बर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय रहेको छ । मित्र डी. गुरुङको सम्पादन रहेको चलचित्रमा दीर्घ गुरुङको छायाँकन रहेको छ । चलचित्रमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा रहेका छन् ।

यसअघि यो चलचित्र बैशाख १३ गतेबाट प्रदर्शनमा आउने भनिए पनि अब बैशाख २० गतेदेखि देशभरका सिनेमाघरमा आउने बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार