नेपाल बन्दको आंशिक प्रभाव

काठमाडौं,
फाल्गुन ३० ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । काठमाडौं उपत्यकामा बिहानमा अरु दिनको तुलनामा कम गाडी चलेका छन् ।

देशका प्रमुख शहरहरु काठमाडौं, पोखरा, बिराटनगर, बुटवल, धरान, जनकपुरलगायतका स्थानमा बिहानैदेखि सबारी साधन कम चलेका छन् भने बिद्यालय समेत बन्द भएका छन् ।

विप्लव नेकपाले बन्दको आश्वान गरेपछि आज प्रमुख शहरहरुमा सुरक्षा सर्तकता बढाइएको छ । नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता कार्यकर्ताको गिरफ्तारी, झूटा मुद्दा, कपिलवस्तुमा भएको गोलीकाण्ड, रोल्पा, र कालीकोटलगायत जिल्लामा भएको प्रहरी अप्रेसनका विरुद्ध आज नेपाल बन्दको घोषणा गरेको जनाएको छ ।

नेकपाका महासचिव विप्लवले फागुन २४ गते विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको र सङ्घर्षको कार्यक्रम घोषणा गरेका थिए । यता, काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले सर्वसाधारणले डर, त्रासमा बसेर यात्रामा ननिस्किनु पर्ने वा पसल बन्द गर्नुपर्ने आवश्यकता नभएको बताएका छन् ।

महासचिव विप्लवले बिज्ञप्ति मार्फत सरकार परिवर्तनकामी जनतामाथि फासिष्ट स्तरको दमनमा उत्रिएको भन्दै डटेर त्यसको प्रतिरोध गर्न आह्वान गरेका छन् । सरकारले चलाएको ‘फासिष्ट दमन’ कसैगरी सहन गर्न नसक्ने पनि महासचिव विप्लवले स्पष्ट पारेका छन् ।

सरकारले देशैभर सङ्कटकालको झल्को दिने गरी दमन र गिरफ्तार श्रृंखला मच्चाएको भन्दै उनले बिहीबार कपिलवस्तुको शिवगढीमा भएको सशस्त्र प्रहरीसहितको हतियारबन्द टोलीले छापा मारेको र स्थानीय युवक दुर्गाबहादुर रोकालाई बिनाकारण गोली हानेर घाइते बनाएको जनाउँदै घटनाको घोर भत्र्सना गरेका छन् ।

विप्लवले शिवगढी, रोल्पालगायत देशभर घटाइएका घटनाको निष्पक्ष अध्ययन, अनुगमन र सत्यतथ्य रिपोर्ट सम्प्रेषण गर्न सञ्चारकर्मी, मानवअधिकारी, बुद्धिजीवि, नागरिक समाज, राजनीतिक दलहरुसँग आग्रह गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार