जीतु र रिनाशा वर्ष व्यक्ति, विष्णुलाई सविन स्मृति रङ्ग पत्रकारिता पुरस्कार

काठमाडौं,
फाल्गुन २९ ।

फिल्मीखबर साप्ताहिकले यस वर्ष पनि वर्ष व्यक्ति घोषणा गरेको छ । विगत १० वर्षदेखि नियमित रुपमा प्रकाशित हुँदै आएको फिल्मीखबर साप्ताहिकले यस वर्षका लागि वर्ष व्यक्तिका रुपमा पुरुषतर्फ हास्यँ कलाकार जीतु नेपाल र महिला तर्फ कोरीयोग्राफर तथा यसै वर्षबाट निर्देशक बनेकी रिनाशा वान्तवा राईलाई चयन गरेको छ ।

जीतु नेपालले यस वर्ष अत्याधिक सफल चलचित्र छक्का पञ्जामा निर्माण, स्कृप्ट लेखन तथा अभिनय गरेका थिए भने यसै वर्ष नेपाल टीभीमा रियालिटी शो मुन्द्रेको कमेडी क्लव सञ्चालन गरी चर्चामा आएका छन् ।

साथै नेपालले यस वर्ष अन्तर्राष्ट्रिय रुपमा आधा दर्शन भन्दा बढी देशमा स्ट्याण्डअप कमेडी तथा नेपाल भित्र ६०÷६५ शो कमेडी प्रस्तुति दिएका छन् । त्यस्तै म्युजिक भिडियो बाटै प्रवेश गर्दा गर्दै चर्चामा रहेकी रिनाशाले चलचित्र कोरीयोग्राफीमा पनि सफलता प्राप्त गरेकी थिइन् । यसै वर्ष निर्देशनमा पाइला चालेकी राई इन्टु मिन्टु लण्डनमा मार्फत नव निर्देशकहरुमा सफल देखिएकी छिन् ।

वरिष्ठ रङ्ग पत्रकार सविन शाक्यको स्मृतिमा फिल्मीखबर साप्ताहिकले स्थापना गरेको फिल्मीखबर सविन स्मृति रङ्ग पत्रकारिता पुरस्कारबाट पहिलोपटक विष्णुप्रसाद सुवेदी पुरस्कृत हुने भएका छन् । विगत डेड दशकदेखि रङ्ग पत्रकारितामा संलग्न सुवेदीले यसै वर्ष मात्र लेन्स नेपाल डट कमको वेब पोर्टल प्रकाशन गरी नवीन कार्यको थालनी गरेको थिए । विष्णुले आफ्नो अनलाइन पोर्टलमा नेपाली चलचित्र, गीत–सङ्गीत क्षेत्रको अभिलेख राख्नुका साथै सेलीब्रटीका व्यक्तिगत जानकारी (वायोडाटा) समेत राखी राज्यकै सन्दर्भमा पनि योगदान गरेका छन् ।

वर्ष व्यक्तिलाई सम्मानपत्र तथा ट्रफिका साथ समान गरीने छ भने रङ्ग पत्रकारिता पुरस्कारमा प्रमाणपत्र, ट्रफि एवम् दश हजार दश रुपैयाँ राशी रकम सहित पुरस्कार प्रदान गरीने फिल्मीखबरले जनाएको छ ।

फिल्मीखबर नेपाली रङ्ग पत्रकारिता इतिहासमा १० औं वर्ष मनाउने पहिलो साप्ताहिक पत्रिका भएको छ । रङ्ग पत्रकारिताको क्षेत्रमा प्रकाशित कुनै पनि साप्ताहिक पत्रिकाले १० औं वर्ष मनाउने अवसर पाएका थिएनन् । यस किसिमको अवसर पाउनुलाई फिल्मीखबर साप्ताहिकका सम्पादक शान्तिप्रियले खुशी प्रकट गरेका छन् ।

प्रविशा प्रकाशन प्रा. लि. बाट प्रकाशन गर्ने यस संस्थाको अध्यक्ष प्रदीप कुमार उदय, संस्थापक सम्पादक विनोद अर्याल र सम्पादकका रुपमा शान्तिप्रिय रहेका छन् । पत्रिकाले आफ्नो दशौं वार्षिकोत्सव चैत १ गते एक कार्यक्रमकाबीच मनाउदै छ । सोही अवसरमा वर्ष व्यक्तिलाई सम्मान एवम् पुरस्कार प्रदान गरिने सम्पादक शान्ति प्रियले जानकारी गराए ।

यसमा तपाइको मत

अन्य समाचार