सामाजिक सकारात्मक कथा नै नेपाली दर्शकको रोजाइ हो-रामकाजी घिमिरे

नेपाली कला क्षेत्रमा आफूलाई पूर्णरुपमा समर्पित गराई यसै क्षेत्रको श्रीवृद्धिमा तल्लीन रहेको नाम हो- रामकाजी घिमिरे  । रङ्गमञ्च, टेलिभिजन र चलचित्रका त्रिवेणी रामकाजी नृत्य तथा अभिनय प्रशिक्षकका रुपमा पनि चिनिन्छन् । अभिनय, लेखन र निर्देशनमा आफूलाई व्यस्त बनाउँदै आएका उनले पाँच दर्जन जति चलचित्रमा अभिनय गरेका छन् । थुप्रै टेलिचलचित्र, सिरियल, सडक नाटक, डकुमेन्ट्रीमा लेखन, निर्देशन र अभियन गरेका उनी धेरै सङ्घ-संस्थाहरुमा आबद्ध पनि छन् । नेपाली कलाकर्ममा सक्रिय रहेका अभिनेता, लेखक तथा निर्देशक रामकाजी घिमिरेसँग मिलापले गरेको कुराकानी:-

अहिले के गर्दै हुनुहुन्छ  ?
तत्काल म चलचित्र शिवाको पोष्ट प्रोडक्सनको काममा र अन्य लेखन, लघु सन्देशहरुको निमार्णको तयारीमा छु । साथै, अभिनय प्रशिक्षण कार्यमा पनि लागिरहेको छु  ।

यो क्षेत्रमा कसरी आउनु भयो  ?
यसो त बाल्यावस्थादेखि नै म रङ्गकर्ममा अभिरुचि राख्ने र स्कुल पढ्दा पनि नाटकहरुमा उत्साहका साथ सहभागी हुने गर्थें । यो क्षेत्रमै मेरो भविष्य छ जस्तो लाग्नुको पहिलो बीउचाहिँ मेरो गाउँ काभ्रे ढुङखर्कको पार्वती स्कुलमा म ३ कक्षा पढ्थें र मेरो स्कुलका अग्रज दाइहरु हरेक वर्ष नाटकको आयोजना गर्नुहुन्थ्यो । त्यस बेला मलाई नाटकको बीचबीचमा रमाइलो प्रस्तुति गर्न मौका दिइन्थ्यो र मैले जँड्याहाको रोल गर्ने गर्थें । मेरो थेगो ‘घ्याम्पे कम्पनीको कोठीको सर्वत खाएको संसारै मेरो भएछ’ भन्ने थियो । यो थेगोले र मेरो प्रस्तुतिले गर्दा नाटकको मूल विषयवस्तु नै ओझेलमा पर्यो । गाउँमा सबै आफन्त, चिनेजानेकाबीच म निकै समय चर्चित रहें र मलाई जसले पनि ‘तँ भविष्यमा राम्रो कलाकार बन्छस्’ भन्थे । त्यो फक्रिंदै गरेको जीवनमा अरु के चाहियो ? ममा अभिनय गर्ने रङ गाडा हुँदै गयो । स्कुल लेवल सकेर सहर आइयो र बागबजारस्थित प्रतिभा कला मन्दिर, जसको प्रशिक्षक सुभाष गजुरेल र व्यवस्थापक रवि राजो पाध्याय हुनुहुन्थ्यो, त्यहाँ भर्ना भएँ । आजसम्म पनि २०४६ सालदेखिका हामी प्रतिभा ग्रुप्स भनेर चिनिने बेला–बेलामा जमघट हुने गर्छौं । जसमा मलगायत सुभाष गजुरेल, उत्तम के.सी., मोहन निरौला अग्रजका साथ रवि डंगोल, कृष्ण गिरी, दिनेश कार्की, भरत कार्की, कृष्णा ढुंगाना, बद्री पौडेल, रामहरि श्रेष्ठ, वसन्त श्रेष्ठ, अनिल खड्की (आकाश), जीतेन्द्रमान श्रेष्ठ, नारायण नगरकोटी, धु्रवबहादुर क्षेत्री, सुन्दर श्रेष्ठ (नायक), सन्तकुमार गिरी, उद्यव गिरीलगायत नयाँसहित ४०-५० जना निरन्तर साथमा छौं । प्रायः सबै साथीहरु यही कला क्षेत्रमा रहे तापनि अन्य काम पनि गर्नुहुन्छ तर म भने यसैमा निरन्तर छु, अरु कुनै काम गरेको छैन ।

यो क्षेत्रमा लाग्न उत्प्रेरणा दिने कोही थिए कि ?
सबैभन्दा पहिला त यसको उत्प्रेरक म मेरो अर्धाङ्गिनीलाई दिन्छु, जसले कयौं समस्या आइपर्दा पनि यो कला क्षेत्रलाई छोड्नुस् अर्कै काम गरी पैसा कमाउनुस् भनेर दबाव दिइनन् । म पनि हर दुःख–सुखलाई यो कला क्षेत्रकै उपज ठानेर निरन्तर लागिरहेँ । यदि श्रीमतीले मलाई दबाव दिएको भए म यो क्षेत्र छोड्न बाध्य हुन्थें या दुवैतिर लाग्थें । तर, आज लगभग ३० वर्ष निरन्तर उनैको सहयोगमा म यही क्षेत्रमा छु । त्यसपछि दाजुभाइहरुका साथै गुरुलाई पनि सम्झनै पर्छ मैले ।

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रलाई कस्तो पाउनुहुन्छ ?
नेपाली चलचित्रलाई हिजोभन्दा धेरै विकसित र परिष्कृत रुपमा देख्छु । यसको बजार पनि विस्तार भएको छ । भारतीय त्यो पनि बलिउडका २ सय ४ सय करोड भारुमा बन्ने चलचित्रकै दाँजोमा बढीमा एक–डेढ करोड नेपाली रुपैयाँमा नेपाली चलचित्र बन्ने माहोल बनेको छ । नेपाली दर्शकले नेपाली चलचित्रलाई पनि भारतीय चलचित्रकै स्तरमा हेर्न पाइरहेका छन् । यो राम्रो प्रगति हो नेपाली चलचित्र जगतको ।

बलिउडस्तरका नेपाली चलचित्र बन्दाबन्दै पनि व्यापार भने राम्रो नुहुनुको कारणचाहिँ के हो नि  ?
यसका कयौं कारण छन् । एक त हामीले सबै नेपालीसामु नेपाली चलचित्र पु¥याउन सकेका छैनौं । ७७ जिल्लामा कयौं जिल्ला छन्, जहाँ एउटा पनि सिनेमा घर छैन । दोस्रो, हामी चलचित्र बनाउँछौं तर प्रचारप्रसारमा कञ्जुस्याइँ गर्छौं । तेस्रो, चलचित्र वितरकहरु एकमत छैनन्, होडबाजीमा छन्, जसले गर्दा राम्रो चलचित्रले हल पाउँदैन, पाए पनि विदेशी या स्वदेशी नै ३–४ वटा एउटै टाइममा लन्च गरिन्छ । चौंथो, राम्रो अर्थात् सहमान्यमा चलचित्र निकै कम बन्छन्, हावादारी र सिकारु चलचित्र धेरै बन्छन्, जसले गर्दा राम्रा चलचित्र पनि माथ खान्छन् र व्यापार राम्रो हुँदैन । त्यसैले राम्रो चलचित्र बनाउने, त्यसको राम्रो प्रचार गर्ने र दुईवटा भन्दा बढी चलचित्र एकैपटक नचलाउने गरेमा राम्रो व्यापार हुन्छ । यस्तो रेकर्ड हामीले देखी–भोगी रहेकै छौं ।

कला क्षेत्र मनोरञ्जनमात्रै हो त  ?
होइन, कला क्षेत्रअन्तर्गतका नाटक, टेलिफिल्म र चलचित्र त समाजलाई बाटो देखाउने, नैतिकता सिकाउने, हिम्मत बढाउने, दोषीले उन्मुक्त हुन नदिने, माया–प्रेम नै मानव समुदायको पहिचान हो भन्ने कुराको बोध गराउने माध्यम हुन् । यस्ता सन्देशलाई कला क्षेत्रले मनोरञ्जनात्मक तवरले प्रस्तुत गर्छ  ।

नेपाली दर्शकले कस्तो चलचित्र बढी मन पराउँछन्  ?
पछिल्लो २-३ वर्षयताको कुरा गर्ने हो भने हास्यप्रद चलचित्रलाई दर्शकले अलि बढी मन पराएका हुन् कि भन्ने लाग्छ । तर, वास्तवमा नेपाली दर्शक पारिवारिक र प्रेम, वियोग अनि वीर भावका चलचित्र बढी मन पराउँछन् भन्ने मेरो अनुभव छ । किनकि, कुसुमे रुमाल, बलिदान, आफन्त, नाइँ नभन्नू ल, बाटोमुनिको फूल, कबड्डीजस्ता चलचित्र मन परेरै दोहोर्याई-तेहेर्याई हेरेको पाइन्छ । सामाजिक जीवनमा आइपर्ने सकारात्मक कथा नै नेपाली दर्शकको रोजाइ भएको देखिन्छ ।

मिलापको फाल्गुन अङ्कबाट

यसमा तपाइको मत

अन्य समाचार