भारतमा अप्रिल ११ देखि मे १९ सम्म मतदान हुने

नयाँ दिल्ली

भारतमा आम निर्वाचनका लागि मतदानको मिति घोषणा भएको छ । भारतीय निर्वाचन आयोगले आइतबार घोषणा गरेको मतदान ७ चरणमा हुनेछ । पहिलो चरणको मतदान आगामी अप्रिल ११ मा हुनेछ ।

पहिलो चरणमा विभिन्न २० राज्यका ९१ सिटका लागि मतदान हुनेछ । यस्तै दोस्रो चरणको मतदान १८ अप्रिलमा हुनेछ । दोस्रो चरणमा विभिन्न १३ राज्यका ९७ सिटका लागि मतदान हुनेछ । यस्तै २३ अप्रिलमा हुने तेस्रो चरणको मतदानमा विभिन्न १४ राज्यका ११५ सिट हुनेछन् । यस्तै २९ अप्रिलमा हुने चौथो चरणको मतदान विभिन्न ९ राज्यका ७१ सिटका लागि हुनेछ ।

पाँचौं चरणको मतदान ६ मेममा हुनेछ । यसमा विभिन्न ७ राज्यका ५१ सिटका लागि मतदान हुनेछ । यस्तै १२ मेमा छैटौं चरणको मतदान हुनेछ । यसमा ७ राज्यका ५९ सिटका लागि मतदान हुनेछ । यस्तै अन्तिम चरणको मतदान १९ मेमा विभिन्न ८ राज्यका ५९ सिटका समावेश हुनेछन् । भारतीय सञ्चारमाध्यमका अनुसार विभिन्न सात चरणमा हुने मतदानको मतगणना एकै पटक २३ मेमा सुरु हुनेछ । भारतमा धेरैजसो मतदान केन्द्रमा विद्ययुतीय मतदान हुने भएकाले मतपरिणाम छिट्टै आउने जनाइएको छ ।

प्रमुख निर्वाचन आयुक्त सुनिल अरोडाले आइतबार पत्रकार सम्मेलन गरेर १७औं लोकसभा निर्वाचनको मिति घोषणा गरेका हुन् । यो निर्वाचनमा ९० करोड मतदाताले मतदान गर्ने उनले जनाए । उनका अनुसार १८ देखि १९ वर्षका डेढ करोेड मतदाताले पहिलो पटक मतदान गर्नेछन् । उनका अनुसार ८ करोड ४३ लाख नयाँ मतदाताले यसपटक मताधिकारको प्रयोग गर्नेछन् ।

निर्वाचन आयोगले मतदानका लागि १० लाख मतदान केन्द्र तोकेको छ । हरेक मतदान केन्द्रमा भीभीप्याटको प्रयोग गरिने निर्वाचन आयोगले जनाएको छ ।

विश्वकै सवै भन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा हुने राष्ट्रिय निर्वाचनमा अर्बौं मतदाताले सहभागिता जनाउने छन् । भारतको संविधानअनुसार तल्लो सदनमा ५४३ जना सांसद निर्वाचित हुने छन् । यो निर्वाचनपछि भारतमा फेरि पाँच वर्षका लागि नयाँ संसद् र सरकार गठन हुनेछ ।

यसअघि सन् २०१४ मा भएको निर्वाचनमा बहुमत प्राप्त गरी भारतीय जनता पार्टी (भाजपा)का नेता मोदी प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार