अन्तर्राष्ट्रिय नारी दिवस मनाइँरहदा

नारीहरुको पर्वको रुपमा मान्यता पाएको नारी दिवस यो वर्ष पनि विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम गरि आज अर्थात ८ मार्चमा मनाइदै छ । मार्च आठ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पूर्ण महिलाहरुले महान पर्वको रुपमा मनाउन थालेको एकसय दश बर्ष भएको छ । यो सर्वप्रथम १९०९ फेबु्रअरी २८मा मनाइएको थियो । संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले पहिलो पटक मनाएको थियो । उक्त पार्टीले सन् १९०८को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा यो दिवस मनाएको थियो । अहिले महिला जागरुकता सम्बन्धी दिवसको रुपमा पनि हेरिने गरिन्छ यो दिवसलाई । आजको दिनलाई विश्वभर नै विभिन्न कार्यक्रमको आयोजना गरि मनउने गरिन्छ ।

सुरुमा राजनितिक तवर बाट यसको सुरुवात भएता पनि अहिले आएर महिला अधिकार, महिला सशक्तिकरण र समानता जस्ता कुराहरु अन्तर्राष्ट्रिय महिला दिवसका बिषयले महत्व पाएका छन् । १९१०मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो ।

सन् १९१०मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दर्जा प्राप्त भएको थियो । नेपालको सन्दर्भमा भने यो दिवस वि.स.२००७ को परिवर्तन पश्चात मनाउन थालिएको भए पनि २०१६ सालदेखि ७१ औं दिवसबाट अलिक खुलेर मनाउन थालेको पाइन्छ । अर्थात् बि.स.२०१६ सालदेखि मात्र मनाउन थालेको पाईन्छ । तर, संस्थागत रुपमा भने २०३६÷२०३७ देखि मनाउने गरेको देखिन्छ ।

  • गीता अधिकारी

हरेक वर्षका नारी दिवसमा एउटा नाराहरु तय गर्ने गरिन्छ । यस वर्ष अन्तर्राष्ट्रिय नारा ‘धेरै राम्रोका लागि सन्तुलन’ भन्ने रहेको छ । सबै देशले आ–आफ्नै समसामयिक बिषयहरुलाई समाबेस गरि यस्ता नाराहरु बनाउने गरेको पाइन्छ । अहिले पनि नारी अधिकारका कुरामा जति कामहरु भएका छन् कार्यन्वयन पक्षमा भने त्यस्तो भएको पाइदैन । यसका लागि कार्यन्वयन पक्षमा जोड दिनु जरुरी छ ।
यो अन्तर्राष्ट्रिय दिवसका अवसरमा केही देशमा सरकारी विदा दिने घोषणा गरिएको छ भने कमबोडिया, चीनमा केवल महिलाका लागि मात्रै विदा दिने गरिन्छ । त्यस्तै केही देशमा सरकारी छुट्टीको घोषणा गरिएको छ ।

केही ठाउँहरुमा पुरुष यो दिन आफ्नी आमा, पत्नी, गर्लफ्रेन्ड, सहकर्मी आदिलाई फूल र उपहार दिने गर्छन । केही देशहरुमा यो दिनलाई ‘मदर्स डे’जस्तै सम्मान दिने गरिन्छ । बालबालिकाहरुले आफ्नो आमा, दिदि, बहिनी, फुपु तथा घरका अन्य महिला सदस्यहरुलाई उपहार दिने गर्छन । यो दिन सम्पूर्ण विश्वका महिला देश, जात–पात, भाषा, राजनीतिक, सांस्कृतिक भेदभावबाट पर एकजुट भएर यो दिनलाई उत्सवका रुपमा मान्ने गर्छन । महिला दिवसमा स्त्रीको प्रेम, स्नेह वा मातृत्वसँगै शक्तिसम्पन्न स्त्रीको मूर्ति सामुन्ने आउछ । आज २१औं सताब्दीका महिलाले स्वयंमा रहेको शक्तिलाई चिन्नु आवश्यक छ र आफ्नो अधिकारका लागि लडन सिक्नु आवश्यक छ । आज महिलाहरुले सिद्ध गरेका छन् कि उनीहरु एक–अर्कोका दुश्मन होइनन, सहयोगी हुन् ।

नारीका प्रति समाजले गर्ने व्यवहारमा परिवर्तन ल्याउनु जरुरी छ । उनलाई पनि समानता चाहियो र दासत्वबाट मुक्ति । हामिले जति कुरा गरे पनि वर्षैै देखि चल्दै आएको पुरुषप्रधान समानलाई चलाउन त्यति सिजिलो छैन । कानूनी अधिकारमा समान भए पनि जीवनका हरेक क्षेत्रमा नारीले आफ्नो भूमिका बढाउन जरुरी छ, तर त्यसो हुन सकेको छैन । अहिले पनि समान कामका लागि महिला पुरुष भनेर भेदभाव गर्ने गरिन्छ । अहिले पनि गाउँ घरको त के कुरा शहर बजारमा शिक्षित मानिसहरु बसोबास गर्ने क्षेत्रमा, अर्थात आफूलाई शिक्षित ठान्नेहरुले नै महिला हिंसा गरिरहेका छन् । सबै भन्दा दुःखको कुरा हो यो । जहाँ जीवनका प्रति मानिसहरुको मनोभाव बृहद भएको भनिन्छ त्यहाँ पनि नारीले हिंसा खेप्नु परिरहेको छ ।

पछिल्ला दिनहरुमा केही नारीहरुले व्यक्तिगतरुपमा आफूलाई उपल्लो स्थानमा राख्न सफल भएका छन् । अहिले त हामीसँग देशको प्रमुख राष्ट्रपति नारी नै हुनुहुन्छ । त्यस्तै सभामुख पनि हुनुभयो नारी । यस्तै अन्य केही निकायका प्रमुखहरु नारी बन्नु भएको छ र थियो । तर, पनि नारीमाथि हुने हिंसामा कमि आउन सकेको छैन । नारीहरुले स्कूलको परिधि पार गेरर विश्वद्यालयमा कदम राखेका छन् । केही वर्ष देखि अन्तर्राष्ट्रिय नारी दिवस नकारात्मकतालाई सम्झाउन होइन बल्कि सकारात्मकका तर्फ कदम बढाउने अवसरका रुपमा मनाउने गरिन्छ ।

यो वर्ष फेरि हामी प्रतिज्ञा गरौ अहिंसा र दासत्व खत्म होस् र नारी शिक्षित समाज बनोस् । यसका लागि स्थानीयस्तरबाट सुरु गरेर विश्वव्यापी स्तरमा यो काम पुरा होस् । एक दिन दिवसकारुपमा होइन हरेक दिन अन्तर्राष्ट्रिय नारी दिवस हुनुपर्छ । पूरावर्षमा केवल एक दिन मात्रै किन अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिन्छ । नारीलाई हरेक समय समान ब्यावहारको खाँचो छ न की बर्षको एक दिन । हरेक महीना, हरेक घन्टा, हरेक मिनेट र हरेक सेकेन्डमा व्यवहारिक रुपमा समान व्यवहार हुनुपर्दछ नारी र पुरुष बीचमा । पुरुषले पनि यो भुल्नु हुँदैन कि उनकी आमा पनि एक महिला हुन् । आज उनीहरु जुन स्थानमा छन् त्यसको कारण कोही नभएर आमा नै हो ।

नारी शिशुको भविष्य सुरक्षित, उज्जवल र समान होस् यो न भुलौ कि नारी स्वस्थ र सशक्त समाजको आधारशिला हो । वर्षमा एक दिन औपचारिकरुपमा सम्झने कामले मात्र नारी दिवसको सार्थकता हुन सक्दैन । नारी दिवसका अवसरमा विविध कार्यक्रम गरी केही नारीलाई सम्मान र सम्झना हरेक वर्ष गरिदै आइए पनि व्यवहारमा जसलाई जन्म दिएका हुन तिनै बाट नेपाली नारीहरु अपेहेलित, उपेक्षित रहदै आएको र नारी दिवस औपचारिकतामा मात्रै सीमित रहँदै आएको छ । नारी दिवस होस् वा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस यदि त्यसको मर्म तत्–तत् सन्दर्भको भावनासँग मिल्दैन भने ती दिवसहरु मनाउनुको कुनै अर्थ रहँदैन ।

हरेक वर्ष महिलाहरुका लागि यो गर्ने त्यो गर्ने भनेर ठूला ठूला बाचाहरु गर्ने गरिन्छ । एकातर्फ भने अर्को तफ पुरै विश्वमा लाखौं महिलाहरु आज पनि हरेक प्रकारका शोषण र दमनका शिकार भइरहेका छन् । अहिलेको उदारीकरण र भूमण्डलीकरणको युगमा मानिसहरु रोजगारको खोजिमा गाउँ घर छोडेर शहर र देश बाहिर जाने प्रचलनको तिब्र विकास भएको छ । जहाँ उनीहरुलाई न जागिर मिल्छ न सुरक्षा । जसले उनीहरुको हालत खराब हुने गर्दछ र जिविका चलाउनका लागि उनीहरु जस्तो पनि काम गर्न बाध्य पारिन्छन् । यसमा पुरुषहरुले भन्दा महिलाहरुले दुइगुण, तिनगुण शोषणको सामना गरिरहेका हुन्छन् ।

नारीको अधिकारको कुरा पहिला उसको घर बाटै सुरु हुन्छ, जबसम्म नारीहरु माथि हुने घरेलु हिँसा र नारी पुरुषबीच को भेदभाव को अन्त्य हुदैन तबसम्म महिला अधिकारको सुरुवात नै हुदैन । नारी र पुरुष एक रथका दुई पाङग्रा वा भनौ नारी र पुरुष एक सिक्काका दुई पाटा समाज मा सुख–शान्तिका आधार मन्त्र । हाम्रा शास्त्रहरुले भने ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ । तर, व्यवाहरमा त्यस्तो भएको पाइदैन ।

हामी २१औं शताब्दीका कुरा गरिरहदा आज पनि महिलाहरु सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रबाट उत्पीडित र उपेक्षित छन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट महिला हक, हित र अधिकारका निम्ति गरिएका प्रयत्नका बाबजुद महिलाहरुको स्थितिमा तात्विक अन्तर आउन सकेको देखिदैन् । महिला हिंसा सामाजिक अपराध हो, यसका विरुद्ध समाजलाई जागरुक बनाउन जरुरी छ । यदि समाज जागरुक भयो भने समाजमा देखा परेका विभिन्न विकृतिहरु जस्तै बोक्सी, छुवाछुत, बलात्कार, दाइजो पिडित लगायतका घटनाहरु स्वयं निराकरण हुनेछन् । महिला हिंसालाई बढावा दिने अपराधीलाई कडा भन्दा कडा सजाय दिनका निम्ति नियम तथा कानुन कडाइका साथ लागु गर्नुपर्ने देखिन्छ अन्यथा महिला अधिकारका कुरा केवल नारामा मात्र सिमित हुनेछ । आजको दिनमा हामी सबैले यसको प्रण गर्नु जरुरी छ ।

यसमा तपाइको मत

अन्य समाचार