वाईडबडी प्रकरण, राष्ट्रघातको विद्रुप नमुना

काठमाडौं,

उठान
पृथ्वीनारायण शाहले ई. १७६८मा काठमाडौं उपत्यका जित्ने क्रममा कान्तिपुर जिती यसैलाई विजितराज्यको नयाँ राजधानी घोषणा एवम् गोर्खाको सट्टा यसैलाई ‘नेपाल’का रुपमा नयाँ देशको जग हालेको २५० वर्ष पुगेको छ । उता, आजको अमेरिका बन्न थालेको त्योभन्दा ७ वर्षले कम्ती भए पनि विकास–निर्माण, विज्ञान र प्रविधि एवम् समृद्धिले हामी अमेरिका त के भुटान बराबरी पनि हुन सकेनौं । अमेरिका ई. १७७६मा बेलायती उपनिवेशबाट स्वतन्त्र हुने क्रममा नै ‘संयुक्त राष्ट्र’ बन्न थाल्यो भने फ्रान्सको राज्यक्रान्ति ई. १७८९बाट सुरु भएको समेत सर्वविदितै विषय हो । प्रश्न छ– हाम्रो मुलुक यत्तिको समृद्धिको इतिहास र हैसियत भएको अतिरिक्त किन यसप्रकार कचल्टिइरहन विवश बन्यो ? निरङ्कुशताले त्यस्तो भयो भनौं भने अब राजसंस्था पनि हाम्रो बाधक रहेन । सरकारको अस्थिरतामाथि दोष थोपरौं भने त्यहाँ पनि दुई तिहाईको सरकार बनिसक्यो । मधेसवादी, माओवादी बहाना पनि अब हाम्रो सुविधामा रहेन । त्यसो भए यस असफलताको कारण के त ? तथापि मिलाप मासिकको माघ महिनाका लागि प्रस्तुत यस आलेख मुलुकको समग्र राजनीतिक विफलता र विकृति–विसङ्गतिमाथि फरफारक गर्न नभई नेपाली अर्थराजनीतिभित्र हालै अतिशय चर्चाको विषय रहेको नेपाल वायुसेवा निगमभित्रको वाइड बडी प्रकरणका केही विषयमाथि खोज–खबर गर्नुमात्र रहेको छ ।

प्रसङ्ग
नेवानिमात्र होइन, नेपाल दूरसञ्चार र नेपाल आयल निगमहरु नै पनि हाम्रो नेतृत्वका कामधेनु नै हुन् । अन्यथा, बाँसबारी छाला जुत्ता, भृकुण्टी कागज कारखाना, ट्रली बस, नेसनल ट्रेडिङ, नेपाल चिया, हरिसिद्धि ईंट्टा कारखाना, कृषि औजार कारखानालगायतका झरझराउँदा तीन सय बढी उद्योग ‘निजीकरण’को नाममा कमशिनका लागि साहुहरुका हातमा बिक्री गर्ने यिनले के कारण यी नेवानिहरुलाई चाहिँ आफ्नै नियन्त्रणमा राखी छोडेका होलान् त ?

  • प्रा.डा. सुरेन्द्र केसी

निश्चयन नै अब यो कुनै पर्दा पछाडिको विषय रहेन । तर, प्रश्न उठ्छ– के लोकतन्त्रको नाममा राजनीतिले मुलुकलाई सदाकाल यसरी नै निर्ममतापूर्वक लुटिरहन पाउँछ ? के अब पनि मौन नै रहिरहने हो ? के देशको सञ्चार, बौद्धिक र नागरिक समाज सबका सब दिवङ्गत नै भइसके ? आज राष्ट्रका अगाडि एउटा गम्भीर प्रश्नका रुपमा नेवानिको भाग्य र भविष्यको प्रश्न खडा भएको छ । तर, यसको तात्पर्य यहाँमात्र मातम छाएको भन्ने पनि होइन । यसको विपरीत आयल निगम र दूरसञ्चारभित्रको भ्रष्टाचार एवम् नेतृत्वको साङ्घातिक हमला पनि उत्तिकै सक्रिय छ । अनि हामीचाहिँ ‘रोम जलिरहेछ निरो बाँसुरी बजाइरहेछ’ झैँ रमिते भएर बसेको अवस्था छ ।

वाइड बडी प्रकरण
विगत देउवाकै सरकरहरुकै पालामा जहाजले अभावग्रस्त भई युरोप सेक्टर गुमाउन विवश नेपाली आफ्नो भौतिक लक्ष्य हासिल गर्नमा व्यग्र थिए । भर्खरै मात्र बोइङ कि एयरबस ? विवादको माखे साङ्लामा परी चारखालको हावा खाइसकेको कङ्शाकार नेतृत्वको महत्वाकाङ्क्षी टिम कुनै प्रकार नेवानिका लागि वाइड बडी खरिद प्रक्रियालाई पूर्णता दिन सक्षम बन्नु नेवानिका लागि ‘अँध्यारोमा जूनकीरी’ सरह थियो, किनभने पञ्चायतका अन्तिम दिन साना–ठूला २८ जहाज लिई जापान–युरोपका आकाशसम्मको पहुँच राख्ने नेवानि अब ५÷६ जहाजमा खुम्चिएको ज्यादै अपमानजनक स्थिति र विर्दिण हालत नेवानिको नेतृत्व तथा कर्मचारी संरचनाकै लागि पनि ज्यादै लाजमर्दो वास्तविकता थियो । सायद आइकाओले नेवानिलाई युरोपीय आकाश प्रतिबन्ध लगाउने नियोजित षड्यन्त्रकै अङ्ग बनेर तत्कालीन नेतृत्वले कंशाकारलाई चारखाल पु¥याएको थियो कि ?

अब नेपाली राजनीतिका कुनै पनि परिघटनालाई नाङ्गो आँखाले हेर्न सकिने अवस्था निश्चय नै विद्यमान रहेन । अन्यथा, लेखासमितिअन्तर्गतको संसदीय उपसमिति र त्यसले दिएको प्रतिवेदनले किमार्थ त्यस्तो गाईजात्रा हेर्न पाउने थिएन । संसदीय समिति जस्तो माथिल्लो निकायबाट आएको प्रतिवेदनको त्यति अपरिपक्क स्वरुप वास्तवमा कल्पनासम्म गर्न सकिन्न । त्यसको त कामै कसैलाई दोषभागी अनि कसैलाई दोषमुक्त बनाउने रहेको र त्यस दुष्कार्यमा संसदीय उपसमितिमात्र होइन, स्वयं लेखासमितिका अध्यक्ष भरत शाह नै पो विचलित देखिए त ! अनि पो थाहा लाग्यो, यसमा जीतेन्द्र देव होइन स्वयं भरत शाहकै पार्टीका नेता देउवा संलग्न रहेछन् । उता, यसअघि नै संसदीय उपसमितिले गृहसचिव प्रेम राईको हुर्मत लिइसक्यो भने बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारी त थङ्थिलो नै भइसके । तर, कसैलाई के थाहा छैन भने देउवाले त्यस बखतका पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई रातोरात पर्यटनबाट किन खानेपानी मन्त्रालयमा सरुवा गरे ।

रहस्यको कुरा
वास्तवमा वाइड बडी प्रकरण निजी क्षेत्रका कार्पोरेट मालिकहरुले नेवानि सिध्याई आफ्नो एकछत्र बजार प्रभुद्ध कायम गर्ने प्रपञ्चकै उपज हो । अन्यथा, एउटै महाप्रबन्धक सेतो हात्ती रहिरहेको त्यहाँ अर्को कार्यकारी अध्यक्षको के प्रयोजन ? सुन्छु, यस नियुक्तिमा पर्यटनमन्त्रीको सहमति थिएन । त्यसैले भागेर उनी नेपालगञ्ज पुगेका थिए त्यस दिन । फलस्वरुप आज त्यहाँ ती दुई हाकिमहरुबीच ठूलो कटाक्ष रही एकअर्कामा संवाद्सम्म हुन्न । अध्यक्ष उप्रेती टाट पल्टिई व्याजसम्म तिर्न असक्षम नेवानिलाई थला पार्नबाट कसरी बचाउनेभन्दा पनि ७० लाखको महँगो गाडी किन्ने र त्यहाँका सूचनाहरु दुरुपयोग गर्नेमा लिप्त छन् । आखिर प्रधानमन्त्रीबाट ठाडो नियुक्ति पाएका यी हाकिम किन यस्तो हर्कत गर्छन् होला ? निश्चय नै कम रहस्यपूर्ण छैन यो विषय पनि ।

राष्ट्रिय लज्जाको विषय
नेवानिमा आज जे भइरहेको छ, आयल निगममा जे भइरहेको छ अनि दूरसञ्चारमा जे भयो र हुन खोजिरहेको छ, ती सबै ठूलो राष्ट्रिय लज्जाका विषय र प्रकरणहरु हुन् । स्वयम्लाई ‘कम्युनिष्ट’ भन्ने जत्थाबाट यस्तो हुनु त अझ पीडाको समेत विषय हो तर दुर्भाग्य ! तिनको स्वार्थ र पहलकदमीमा आज ती सम्पूर्ण संस्थाहरु विनष्ट हुने भए । करोडौं होइन, अर्बौंको घोटाला छ त्यहाँभित्र । तर, यो केवल पैसाको मात्र कुरा होइन भन्ने वास्तविकता नेपालीजनहरुले कहिले बुझ्ने ? कम्युनिष्ट कार्यकर्ताले कहिले बुझ्ने ? मुन माताको झोलले नै तिनीहरु त्यसप्रकार मुर्झाएको त होइन होला ? अन्यथा, युनियन चर्चको मुख्य उद्देश्य विश्वबाट कम्युनिष्ट समाप्त गर्न हो । भाइ व्युँझ अब त निद्राबाट व्युँझ, भो भयो अति सुत्यौ अब जाग… भन्थे त कवि धरणीधर बाजे पनि । तिमी त त्यति पनि भएनौ, हैट !

वाइड बडी सुचारु भए र युरोपेली आकाश पाए त ८–१० अर्वको व्यापार हुँदो हो मासिक त्यता । त्यसबाट कम्तीमा १ अर्ब त नेवानिकै हुने हो । फेरि ओसाका त हुने भएकै छ । देशभित्र पनि नेवानि व्यवस्थित भयो भने निजी क्षेत्रलाई पनि धक्का हुने भयो । कतै चीन–अमेरिका जस्तो यी कर्पोरेटहरुको बजार युद्धको घानमा त नेवानि परिरहेको अनि वाइड बडी प्रकरण आइलागेको त होइन हामीलाई ? बेवकुफ त नहोऔं है मित्रजनहरु । बेवकुफीको पनि कुनै सीमा त होला ! उडाउला नि छट्टु स्यालले हामीलाई चीलतिर देखाएर खोरको कुखुरा ।

उपसंहार
गहिरिएर हेर्दा वाइड बडी प्रकरण चार अर्बका लागि मात्र नभई सिङ्गो नेवानि धरासायी पार्ने खेलतर्फ उद्यत देखिन्छ । त्यसलाई कामधेनु बनाई आएका देउवाहरु निश्चय नै त्यस चार अर्बभागी हुन् । तर, तिनलाई त्यो तातोदूध पिलाउनेहरुको लक्ष्य निश्चय नै धेरै माथि छ, जो समष्टिमै नेपाली मात्रको शान र मानको रुपमा रहेको राष्ट्रिय ध्वजावाहक नेवानिको राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यापार आफ्नो पोल्टामा पारी एकलौटी मुनाफाका लागि नेवानिकै विनष्ट गर्ने खेलमा लागेका छन् । आश्चर्य के छ भने स्वयम् प्रधानमन्त्रीकै वारिसका रुपमा पुगेका नेवानि अध्यक्ष यस ग्राण्ड डिजाइनको चङ्गुलभित्र फसिसकेका छन् । यस्तोमा फेरि एकपल्ट कंशाकार चारखाल पुगे भने कुनै अनौठो हुने छैन, किनभने हालै उनीमाथि जुन कालोमोसो दल्ने प्रकरण भयो, त्यो पनि त्यसै नेवानिभित्रका आत्मघातीहरुकै आन्तरिक मिलीभगतबाट भएको थियो । विचरा ती त्यति पनि थाहा पाउन्नन् कि के हो, जो आफ्नै संस्था सिध्याउनेसम्मलाई चिन्न सक्दैनन ! के तिनीहरु माकुराकै बच्चा हुन् त ?

मिलापको माघ अङ्कबाट

यसमा तपाइको मत

अन्य समाचार