पल र आँचलको मायामा (भिडियोसहित)

काठमाडौं,
माघ २८ ।

भ्यालेन्टाइन्स डेको पूर्व सन्ध्या पारेर गीतकार सुरेश वाग्लेले एउटा रोमान्टिक यूगल गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गायक राहुल विश्वास तथा गायिका स्नेहश्री थापाको यूगल स्वरको ‘मायामा तिम्रो…’ शीर्षकको गीत सोमबार बिहान यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।

मेघराज लगुनद्वारा सङ्गीतबद्ध उक्त गीतका शब्दहरु सुरेश वाग्ले तथा मेघराज लगुनले रचना गरेका हुन् । सुमित विश्वकर्माले उक्त गीतमा सङ्गीत संयोजन गरेका छन् । कोलकाता तथा काठमाडौंमा रेकर्ड गरिएको उक्त गीतको मिक्सिङ तथा मास्टरिङ भने चेन्नईमा गरिएको हो ।

बिकास सुवेदीद्वारा निर्देशन गरिएको भिडियोमा अभिनेता पल शाह तथा अभिनेत्री आँचल शर्माले अभिनय गरेका छन् ।भिडियोमा गीतकार सुरेश वाग्ले तथा सुशिल काफ्लेले पनि अभिनय गरेका छन् ।

अनिल के मानन्धरद्वारा छायांकन गरिएको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । सुप्रिमले नै भिडियोमा कलर ग्रेडिङको काम समेत गरेका छन् । भिडियोमा अभिनाश मानन्धरले ड्रोन पाइलट तथा सहायक छायाँकारको रुपमा काम गरेका छन् ।

गीतकार वाग्लेको हालै सार्वजनिक भएको अञ्जु पन्त र मनोजराज सिवाकोटीद्वारा स्वरवद्ध गजल ‘सम्झे पनि…’ दर्शक तथा स्रोतामाझ लोकप्रिय भएको थियो । यसै वर्षको प्रारम्भमा गीतकार वाग्लेले आफ्ना एकल रचनाहरुको गजल एल्बम ‘तिमी साथ भएपछि’ काठमाडौंमा लोकार्पण गरेका थिए । उक्त एल्बमका अधिकांश गजल लोकप्रिय छन् ।

यसमा तपाइको मत

अन्य समाचार