नयाँ वर्षको रुपमा सोनाम ल्होछार पर्व मनाइदै

काठमाडौं,
माघ २२ ।

आज नयाँ वर्षको रुपमा सोनाम ल्होछार पर्व मनाइदै छ । सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रुपमा मनाउने मौलिक पर्व हो । यो हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन मनाइन्छ ।

चन्द्रमासमा आधारित मञ्जुश्री पात्रोअनुसार आजदेखि तामाङ समुदायले कुकुर वर्षलाई विदाई गरी सुँगुर वर्षलाई स्वागत गरेका छन् । यो २८५५ औं सोनाम ल्होछार हो । ल्हो अर्थात वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणाली अनुसार गणना गरिने प्राचिन पद्धति हो ।

हिजोबाट नै ल्होछार सुरु भए पनि आज मुख्य दिन हो । आज घरघरमा पूजापाठ, खानपीन, ठूलाबडाबाट टीका तथा आशिर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामुहिक रुपमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाउने प्रचलन छ ।

ल्होछारको अवसरमा आज काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको सहभागीता रहने बताइएको छ । यो पर्वको अवसरमा प्रदेश ३ सरकारले सार्वजनिक विदा दिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार