सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा मिलोस्-राष्ट्रपति

काठमाडौं,
माघ २२ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रपात्रोअनुसार नयाँ वर्षका रूपमा तामाङ समुदायले मनाउने सोनाम ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

सोनाम ल्होसारका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न सकेमा विश्वसामु नेपाल र नेपालीको पहिचान कायम राख्न सकिने भएकाले यसतर्फ हामी सबैको ध्यान जानुपर्ने बताउनु भएको छ ।

सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, ‘नेपालसहित सिङ्गापुर, मलेशिया, भारत, थाइल्याण्ड, मङ्गोलिया, भियतनाम, भुटान, लाओस, म्यान्मा, जापानलगायत देशमा समेत फरक फरक नाम र शैलीमा मनाइने सोनाम ल्होहार पर्वले विश्वशान्ति र भ्रातृत्व प्रवद्र्धधनमा समेत उत्तिकै टेवा पुग्ने मैले विश्वास लिएको छु।’

राष्ट्रपतिले यस पर्वबाट सबै नेपालीबीच एकता सुदृढ गर्दै नयाँ उत्साह एवम् उमङ्गका साथ देशमा शान्ति, सदभाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ ।

त्यस्तै यो अवसरमा उपराष्ट्रपति र प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार