फागुनमा दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

काठमाडौं,
माघ ४

दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ हुने भएको छ । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजना आगामी फागुन ९ देखि १३ गतेसम्म राजधानीको सभागृहमा दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ हुने भएको हो ।

बिहीबार नेपाल पर्यटनको बोर्डको प्रेक्षालयमा पत्रकार सम्मेलनको आयोजना गरेर दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका बारेमा जानकारी गराइएको थियो ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ प्रोमो क्लिक गर्दै वरिष्ठ चलचित्रकर्मी यादब खरेलले महोत्सवको औपचारिक शुभारम्भ गरेका थिए ।

अध्यक्ष केपी पाठकले नेपाली चलचित्रको पहिचान स्थापनाका लागि महोत्सव आयोजना गरेको जानकारी दिए । उनले भने, ‘नेपालमा हुने फिल्म महोत्सवले मूल धारका फिल्मलाई उस्तो धेरै ठाउँ दिएको पाइँदैन । त्यही ठाउँ बनाउन लागि परेका हौँ ।’ सिक्न सिकाउन, हेर्न र देखाउन यो महोत्सव आयोजन गर्न लागिएको उनको भनाई थियो ।

निर्देशक दयाराम दाहालले भने, ‘नेपाली चलचित्र उद्योगका लागि गर्न लागिएको यो महोत्सव विशेष लाभदायी हुनसक्ने छ ।’ त्यस्तै कलाकार निर शाहले नेपाली चलचित्र क्षेत्र विकास तथा प्रवद्र्धनका लागि यो महोत्सव अभियान नै हुन सक्ने उल्लेख गरे ।

महोत्सवमा नेपालसहित विश्वका ३१ राष्ट्रका ५९ वटा चलचित्रहरु देखाइने छ । जसमा ६ वटा फिचर र १० सर्ट फिल्म गरी १६ वटा नेपाली चलिचित्र देखाइने छ भने विदेशी फिल्महरुमध्ये ३१ सर्ट फिल्म र ६ वटा फिचर फिल्म रहेका छन् ।

फेस्टिभलमा कथा वाचन प्रतियोगितासहित प्रतिस्पर्धात्मक प्रदर्शनीहरू रहेका छन् । प्रदर्शन भएका मध्ये एक उत्कृष्ट फिचर फिल्म एक हजार अमेरिकी डलरसहित पुरस्कृत हुनेछ । साथै छोटो फिल्मतर्फ उत्कृष्ट फिल्मले पाँच सय अमेरिकी डलर पाउने छ ।

नेपाली पानोरमामा उत्कृष्ट घोषित फिचर फिल्मलाई पचास हजारसहित पुरस्कृत गरिनेछ । उत्कृष्ट नेपाली सर्ट फिल्मले पच्चीस हजार रुपैयाँ पाउने छ । नेपाली फिल्मका लागि उत्कृष्ट निर्देशक तथा लेखकका लागि पनि अवार्ड दिइने बताइएको छ ।

निर्णायक संयोजकको रूपमा कलाकार निर शाह छन भने सदस्यहरुमा निर्देशक नवीन सुब्बा, चिनियाँ निर्देशक प्रा.डा. लियान क्यो, भारतीय फिल्म लेखक प्रेमेन्द मजुमदार, स्विट्जरल्यान्डकी फिल्म प्राध्यापक तथा फोर्ट नाइट फिल्म सेक्सनका सदस्य आनी दिलसेथ रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार