कवि शिरोमणि लेखनाथ पौड्यालको परिचर्चा र कविगोष्ठी

काठमाडौं,
पौष ३० ।

प्रज्ञा-प्रतिष्ठानले कवि शिरोमणि लेखनाथ पौड्यालको १३५औँ जन्मजयन्तीका उपलक्ष्यमा ‘कविता वाचन तथा परिचर्चा’ कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा बोल्दै प्रा.डा. वासुदेव त्रिपाठीले कविशिरोमणि लेखनाथ पौड्याल नेपाली कविहरूका शिर भएको बताए । उनले पौड्यालको काव्यिक प्रबृत्तिको चर्चा गर्दै भने, ‘उहाँका कविता अत्यन्तै सशक्त, प्रभावशाली र समयसापेक्ष छन् ।’

कार्यक्रममा सभाध्यक्ष प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कविशिरोमणि लेखनाथ पौड्याललाई अहिलेको समयमा पुनर्पाठ गरिनु पर्ने धारणा व्यक्त गरे ।

उपकुलपति डा. जगमान गुरुङले पौड्यालको काव्यिक गुणको चर्चा गर्दै आउँदो वर्ष उहाँको जन्मस्थानमै साहित्यिक सम्मेलन गरिने बताए ।

काव्य विभाग प्रमुख डा. हेमनाथ पौडेलले कविशिरोमणि पौड्याल युगलाई बुझेका कवि भएको उल्लेख गर्दै उहाँका कवितामा नैतिक, समाजिक तथा दार्शनिक चेतना पाइने बताए ।

कविशिरोमणि लेखनाथ पौडेल बाहिरी आँखाले मात्रै नभएर भित्री आँखाले जगत्लाई हेर्नुपर्ने मान्यता राख्ने कवि भएको भन्दै कविले जुनसुकै चेतना ग्रहण गरे पनि उसको सिर्जना समाज र समयसापेक्ष हुनुपर्ने विचार व्यक्त गरे।

कार्यक्रममा प्रल्हाद पोखरेल, प्रभा भट्टराई, देवु लुइटेल, डा. सुधनकुमार पौडेल र लोचन भट्टराईले लेखनाथका एक एक वटा कविता वाचन गरेका थिए । कविहरू आर.एम. डंगोल, विवश पोखरेल, तेजविलास अधिकारी, रामबाबु सुवेदी र भुवनहरि सिग्देलले आ–आफ्ना कविता सुनाएका थिए । कार्यक्रम लक्ष्मी गौतमले सञ्चालन गरेकी थिइन ।

यसमा तपाइको मत

अन्य समाचार