कृष्णनगरको गोलघरमा श्यामको नेतृत्वमा मनाइयो पृथ्वी जयन्ती

कपिलवस्तु,
पौष २८ ।

देश विदेशका विभिन्न ठाऊँमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९७ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । यही सन्र्दभमा कपिलवस्तुको कृष्णनगरको गोलघरमा नेपाल मुक्ति मञ्च एवम् राष्ट्रीय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का केन्द्रीय सदस्य श्यामकुमार मिश्राको नेतृत्वमा भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रहेका रुद्रप्रताप शाहले पृथ्वीनारायण शाहकै योगदानले आज हामी नेपाली भनेर गर्व गर्ने ठाउँ बनेको बताए । ‘नेपाल एकीकरण गरेर नेपाललाई एक सूत्रमा बाँध्ने काम पृथ्वीनारायण शाहले नै गर्नुभयो, हामी उहाँलाई राष्ट्रपिताको रुपमा सम्मान गर्नुपर्छ ।’ शाहले भने ।

कार्यक्रममा राप्रपा राष्ट्रबादीका केन्द्रिय महामन्त्री एवम् जिविस पूर्व अध्यक्ष कृष्णकुमार चौधरीले पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै नेपाललाई हिन्दूराज्य चाहिएको बताए । ‘हामी राम्रो कामको अनुशरण गर्दैनौं, बरु नराम्रो कामलाई नक्कल गर्न अगाडि सर्छौं’ चौधरी भने ।

कार्यक्रममा राजपा केन्द्रिय सदस्य रविदत्त मिश्र, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, कृष्णनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेशचन्द्र गुप्ता, कृष्णनगर नगरपालिका वडा नं. २ का वडाध्यक्ष सञ्जय गुप्ता, विनय शर्मालगायतले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहकै देन रहेको चर्चा गर्दै शाहको योगदानलाई भुल्न नहुने बताए ।

भारत बढनी नगर पंचायतका चेयरमेन निशार अहमद तथा भारत सिद्धार्थनगर भाजपा युवा मोर्चाका पूर्व जिल्ला अध्यक्ष राजकुमार शाहीले सदियौंदेखि नेपाल र भारतबीच रोटीबेटी बीचको सम्बन्ध रहेको औल्याए ।

नेपाल मुक्ति मञ्चका जिल्ला अध्यक्ष श्याम कुमार मिश्रले पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै नेपाललाई अब फुटाउन नहुने जिकिर गरे । ‘नेपालमा हिन्दूराष्ट्रको खाँचो रहेको छ, सरकारले उत्सवको रुपमा यो दिनलाई मनाउनु पर्नेमा सरकारी बिदा समेत कतौटी गरेकोमा दुःख लागेको छ’, मिश्राले भने ।

यसमा तपाइको मत

अन्य समाचार