नेपाल प्रज्ञा-प्रतिष्ठानमा २९७औँ पृथ्वी जयन्ती एवम् राष्ट्रियता एकता दिवस

काठमाडौं,
पौष २७ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानमा २९७औँ पृथ्वी जयन्ती एवम् राष्ट्रियता एकता दिवसका उपलक्ष्यमा ‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयक प्रवचन कार्यक्रम आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा बिहिबार आयोजित कार्यक्रममा सम्माननीय प्रधानमन्त्री तथा प्रज्ञा–प्रतिष्ठानहरूका प्रमुख संरक्षक केपी शर्मा ओलीले विशेष प्रवचन दिनुभयो ।

उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली राष्ट्रियताको केही विशेष अर्थ रहेको उल्लेख गर्दै ‘यो राष्ट्रियता स्वतन्त्र र स्वाधीन राष्ट्रियता’ भएको बताउनुभयो । “दुनियाँका १९३ राष्ट्रमध्ये केही केही राष्ट्र उपनिवेश भए पनि नेपाललगायत केही थोरै देश मात्र स्वाधीन राष्ट्रको रूपमा उभिए । उत्तरमा चीन, दक्षिणमा भारत उपनीवेश हुँदा पनि नेपाल स्वाधीन रहन सफल भएकाले यसको धेरै अर्थ रहेको छ ।” उहाँले भन्नुुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायणले चार वर्ण छत्तीस जातको फूलबारी भनेपछि कोही तल्लो कोही माथिल्लो, केही विष्णुका अवतार कोही यत्तिकै जन्मिएका, कोही सूर्यवंशी, चन्द्रवंशी कोही किराफट्याङ्ग्रा जस्तो असमान व्यवहार गरेका कारण केही समय पहिले नेपाली जनतालाई भड्काउन सक्ने अवस्था रहे पनि अहिले त्यस्तो नरहेको उनले बताउनुभयो । उहाँले सांस्कृतिक रूपमा भिन्न धारणा भिन्न मत हुन्छ भए पनि त्यसलाई सहज रूपमा लिनुपर्छ भन्दै विविधतालाई सम्पत्ति मान्ने हाम्रो मान्यता रहेको दाबी गर्नुभयो ।

“समान सुरक्षा, समान अधिकार, समान अवसरको सिर्जना र कार्यान्वयन गरेपछि अब हामीलाई कसैले भड्काउन सक्दैन”, प्रधानमन्त्रीले भन्नुभयो, “स्वाधीन, विविधतायुक्त जुन हाम्रो राष्ट्रिय मान्यता थियो त्यो अब मूर्तरूपले अगाडि बढेको छ । सार्वभौम समानताका आधारमा हामी सबैलाई समानता कायम गर्छौं । हाम्रो राष्ट्रियता कसैसँग शेखी गर्ने होइन । तर, हामी हाम्रो राष्ट्रिय हित, सार्वभौम स्वतन्त्रता, राष्ट्रिय हितलाई धक्का दिन दिँदैनौ । यसको अर्थ अरू कसैको राष्ट्रियतालाई धक्का दिन्छौँ भनेको होइन ।”

प्रधानमन्त्रीले नेपाली राष्ट्रियता एकअर्काको पक्षमा उभिने, न्यायका पक्षमा उभिने भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली राष्ट्रियतामा राष्ट्रिय हित हेर्नुपर्छ, न्यायोचित हुनुपर्छ, अन्तर्राष्ट्रिय उत्तरदायित्व हेर्नुपर्छ । विश्वशान्तिको पक्षको राष्ट्रियता नेपाली पहिचान हो । शान्ति मान्छेको सर्वोत्तम आकांक्षा र सर्वोत्तम बाटो हो ।” उहाँले इतिहासलाई सम्मान र पुर्खालाई आदर गर्नु पर्ने बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रज्ञा–प्रतिष्ठानका संरक्षक रवीन्द्र अधिकारीले लामो समयदेखि पृथ्वीनारायण शाहलाई कसरी हेर्ने भन्ने बहस चलेको बताउँदै शाहको वस्तुनिष्ट ढङ्गले मूल्याङ्कन गर्नुपनेमा जोड दिनुभयो । शाहका दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गर्र्दै उहाँले भन्नुभयो, “राष्ट्र निर्माणका लागि शाहले खेलेको भूमिकाको सही मूल्याङ्कन गरिनु पर्छ ।”

नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ९रायन०, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य ९केके कर्माचार्य०, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला र उपकुलपति प्रा।डा। वासुदेव त्रिपाठीको उपस्थिति रहेको उक्त संयुक्त कार्यक्रमका सभापति नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले विगत ६ वर्षदेखि प्रज्ञा–प्रतिष्ठानले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मयजन्ती एवम् राष्ट्रिय एकता दिवस मनाइरहेको उल्लेख गर्दै नेपाल राष्ट्रको निर्माणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयो, “पृथ्वीनारायण शाहकै कारण आज हामी स्वाधीन नेपालका नागरिक भएर बाँचन पाएका छौँ । गर्व गर्न पाएका छौँ ।” कुलपति उप्रेतीले वर्षमा एक दिन राष्ट्र र राष्ट्रियताका बारेमा समस्त नागरिकले विमर्श गर्नु पर्ने खाँचो औँल्याउँदै त्यस्तो एक दिन पुस २७ लाई तोक्न सरकार समक्ष माग समेत गर्नुभयो ।

प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले पृथ्वीनारायण शाह कालजयी पुरुष भएको बताउनुभयो । उहाँले कार्यक्रममा सहभागीहरूको स्वागत गर्दै इतिहासको सम्मान गर्नुलार्ई प्रतिगमनको संज्ञा दिनु नहुने तर्क गर्नुभयो । उहाँले सरकारले प्रज्ञा–प्रतिष्ठानलाई राष्ट्रिय एकता दिवस मनाउने दायित्व दिएको उल्लेख गर्नुहुँदै राष्ट्र, राष्ट्रियता र स्वाधीनताका लागि पृथ्वीनारायण शाह कालजयी पुरक्ष भएको प्रष्ट्याउनु भयो ।

योजना तथा कार्यक्रम महाशाखा प्रमुख सन्ध्या पहाडीले सञ्चालन गर्नुभएको कार्यक्रममा बटुकहरूले स्वस्तिवाचन तथा कलाकारहरू ‘नेपालजननी वन्दे’ संस्कृत पद्यको स्वर गायन गर्नुभएको थियो ।

सोही दिन प्रज्ञा–पुस्तकालय भवन परिसरमा स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटा एवम् कविशिरोमणि लेखनाथ पौड्यालको अर्धकदको प्रतिमा प्रधानमन्त्रीले अनावरण गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार