गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो भवनको निर्माण शुभारम्भ

रुपन्देही,
पौष १८ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो भवनको निर्माण कार्य सुरु भएको छ ।
मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले विमानस्थलको महत्वपूर्ण अङ्गको रुपमा रहने कार्गो भवनको शिलन्यास गरी निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।

९० करोड ३६ लाख ३४ हजार ६ सय रुपैयाँमा २ वर्ष भित्र सम्पन्न गर्ने गरी शर्मा–लुम्बिनी–गजुरमुखी जेभीसगँ सम्झौता भएको विमानस्थल आयोजनाले जनाएको छ ।

भवन आठ हजार स्क्यावर मिटर क्षेत्रफलमा निर्माण हुनेछ । निर्माण सुरु भएको कार्गो भवन अन्तर्राष्ट्रिय मापदण्ड अन्र्तगत स्तरीय र अत्याधुनिक किसिमले निर्माण हुने विमानस्थल आयोजनाका प्रमुख ई.प्रवेश अधिकारीले बताए ।

कार्गो भवनको गुरुयोजना निर्माण देखिकै फेजबाट काम सुरु गरेका छौँ, उनले भने– भवन अन्तराष्ट्रिय मापदण्ड स्तरीयको हुनेछ । उनका अनुसार एप्रोन देखि कार्गो भवनको बीचमा घाघरा खोला पर्ने हुदाँ विमान आउन मिल्ने गरी पुल निर्माण समेत गरिने छ ।

उनले करिब ९ अर्ब रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी रहेकोले कागजपत्रहरु माथिल्लो निकायमा पुगेको जनाउँदै रकम निकासा भएलग्त्तै मुआब्जा वितरण हुने जानकारी दिए ।

कार्यक्रममा मन्त्री रविन्द्र अधिकारीले सम्झौताको म्याद अवधी भित्र भवन निर्माण सम्पन्न हुने स्वाभाविक भएपनि म्याद अवधीको ४ महिना अघि नै भवन निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउन निर्देशन दिए ।

उनले ठेकेदारले २० महिना भित्र निर्माण कार्य सम्पन्न गरे सरकारले ठेकेदारलाई बोनस समेत उपलब्ध गराउने घोषणा गरे । उनले २०१९ को अगस्त महिना सम्म विमानस्थल तयार भएपनि सेप्टेम्बर महिनामा सञ्चालनमा ल्याउने योजना अनुसार निर्माण कार्य जारी रहेको जानकारी गराए ।

यसमा तपाइको मत

अन्य समाचार