अतीतदेखि वर्तमानसम्म वसन्त

 

वि.सं. २०१२ फागुन ४ गते तेह्रथुमको म्याङलुङ बजारमा जन्मिएका वसन्त श्रेष्ठ कविमात्र होइनन्, साहित्यिक अभियन्तासमेत हुन् । अमेरिका बसेर आफ्नो मातृभूमि, मातृभाषा, आफ्नो साहित्य र संस्कृतिको संरक्षण र संवद्र्धनमा हुरुक्क हुने वसन्त ‘हुने बिरुवाको चिल्लो पात’ भनेजस्तै केवल चौध वर्षको कलिलो उमेर (२०२६)मा नै तीनजुरे पत्रिकाको सम्पादन गर्न थाल्नु र त्यसपछि प्रवासमा बसेर पनि ‘अन्तर्दृष्टी’, ‘IN TOUCHU’, ‘आवाज’, ‘उत्तर अमेरिकाका नेपाली कवि र कविता’ आदि कृतिको सम्पादन गर्नुका साथसाथै तीन–तीन कवितासङ्ग्रहका कृतिहरू ‘वसन्त श्रेष्ठका कविता’, ‘भावनाका लहरहरू’ र ‘उज्यालो खोज्ने आवाजहरू’ सिर्जना गरी प्रकाशन गर्नुले उनको सन्दर्भमा यो उक्ति चरितार्थ भएको पुष्टी भएको छ भन्दा अतिशयोक्ति नहोला ।

  • खेमनाथ दाहाल

वसन्त र मेरो पहिलो भेट २०२६ सालतिर त्रिचन्द्र्र कलेजमा पढ्दा भएको हो । त्यस बेला उनी आईएससीका र म आईकमको विद्यार्थी थिएँ । केही दिनसम्म हाम्रो परिचय सामान्य रहे पनि नारायण भट्टराईसँग वसन्तको तेह्रथुम देखिकै निकटताका कारण हाम्रो कोठामा उनको आउ–जाउ बढ्न थाल्यो । त्यसबेला नारायण भट्टराई, रमेशचन्द्र पौडेल, पिताम्बर सुब्बा र म बागबजारमा एउटै कोठामा बस्ने गर्दथ्यौँ । कोठामा वसन्तको आउ–जाउको क्रम जति बढ्दै गयो, हाम्रो मित्रता पनि त्यति नै घनिभूत हुँदै गयो र कहिले भक्तपुरको सिनेमा हल, त कहिले पाटन अनि कहिले विश्वज्योति र जय नेपालको सेरोफेरो र विभिन्न ममचा पसलसम्ममा मडारिन पुग्यो । चहार्ने क्रममा यदाकदा तुलसी सुब्बा, भरत चुडाल, तोम बिमलीहरूसमेतको संलग्नताले अझ रौनक थप्दथ्यो । यी सबका अतिरिक्त साथीभाइहरूलाई अभर परेको बेला जहिले पनि वसन्तका सहयोगी हात अगाडि बढ्दथे, उनको उदार मन भावुक बन्दथ्यो र साथीहरूको गर्जो टर्दथ्र्यो बारम्बार । यसरी साथीहरूको समस्याको समाधानमा उद्यत हुने वसन्तको मनोभावमा हजुरबुबा साहु–महाजन लोकमान साहुको परोक्ष देन थियो, बुबा नारायणमान सर तथा आमा सुभद्रा श्रेष्ठको शिक्षा र संस्कार थियो । मलाई लाग्छ, त्यसैले त्यति सानै उमेरमा पनि वसन्तमा एक प्रकारको व्यावहारिकता र बौद्धिकता भेटिन्थ्यो । इन्टर पास गरेपछि हामीमा एक प्रकारको नयाँ हौसला बढ्यो । हामीले केही अतिरिक्त काम गर्ने विचार ग¥यौं र जागिर नखाने केही साथीहरू मिलेर ‘पूर्वेली धुन’ नामक साहित्यिक पत्रिका निकाल्ने निधो ग¥यौं । केही दिन संयुक्त भएर काम पनि ग¥यौं । यही समयमा म घरायसी कारणले काठमाडौं छाडेर महेन्द्र मोरङ कलेजमा पढ्न गएँ । तथापि, वसन्तको अथक प्रयासले पूर्वेली धुन निस्कियो र हाम्रो हात–हातमा प¥यो ।

विछोड भएका वसन्तको र मेरो धेरै वर्षपछि भेट भयो तेह्रथुमको म्याङलुङ बजारमा । त्यो बेला हामी दुवै निर्माण व्यवसायीको रूपमा एउटै पेशामा संग्लन रहेछौं, पृथक चाहना भएर पनि । मलाई लाग्छ, त्यो बेला उनी नारायण सरको असमायिक मृत्युका कारण आइलागेको विरासतका रूपमा थाम्दै थिए ठेकेदारी भने म गुजाराका लागि भौतारिएको थिएँ तेह्रथुमतर्फ । यो दुई–चार दिनको भेटघाटमा हामीले आआफ्ना मनका कुरा खोल्यौं अनिच्छाभित्र बाँच्दाका अनुभूति साटासाट ग¥यौं, दुवै माझियौँ र आफूलाई हलुको पा¥यौं ।

धेरै समयको अनतरालमा फेरि वसन्तसँग भेट भयो, अमेरिकाको भर्जिनियामा सन् २००४को ग्रीष्ममा मेरो । एक दिन साहित्यमा अभिरुचि राख्ने इन्जिनियर भाइ सूर्य गौतमको कार यात्रामा उनी र मेरो बीचमा साहित्य, कवि, कविताका विषयमा कुराकानी भइरहँदा उनले अचानक ‘कवि वसन्त श्रेष्ठलाई चिन्नुहुन्छ ?’ भने । कविता र साहित्यमा वसन्तको नाम जोडिँदा एकछिन त मलाई द्विविधा भयो– मेरो मित्र वसन्त हो वा अर्कै वसन्त हो भनेर । म द्विविधामा हुुनुको कारण थियो– मैले चिनेको वसन्त त स्थापित कवि वा साहित्यकार थिएन, त्यो बेलासम्म मेरो दृष्टिमा । मेरो भाव बुझेर सूर्यले मोबाइल दिँदै भने, ‘ठिकै छ, एकपटक फोन गरेर हेर्नु होस् न ! तपाईंको साथी भए भेट हुन्छ, अर्को अपरिचित भए परिचय हुन्छ ।’ उनको भनाइ मलाई उचित लाग्यो र फोन गरें । यो फोन सम्वादपछिको भेटघाटले हामीलाई बालसखाको अतिरिक्त साहित्य क्षेत्रमा सहयात्री बनायो अमेरिकामा फेरि । भेटघाटपछि उनले पोटोम्याक पार्कमा ए.एन.ए.को कार्यक्रममा मेरो ‘योद्धा’ कृतिको विमोचन तत्कालीन का.वा. राजदूतबाट गर्ने तय गरेर मलाई तयार रहन खबर गरे । केही दिनपछि कृतिको विमोचन भयो । विमोचित कृति र मेरा अन्य कृतिहरूको बिक्रीसमेत गरेर केही डलर गोजीमा हालिदिए वसन्तले । यो डलर मेरा लागि पुस्कारसरह नै भयो । मलाई के खोज्छस् काना, आँखा भनेझैँ भयो नितान्त नौलो पातालमा । यसरी उनले कृतिको विमोचन र डलर गोजीमा हालिदिँदा मैले अतीतका दिनहरूलाई सम्झेँ र त्यो बेलाको वसन्त र आजका वसन्तमा तुलना गरेँ, सहयोगी भावनामा किञ्चित परिवर्तन नभएको देखेर उनीप्रति थप अनुगृहीत भएँ । यो कार्यक्रमपछि मात्र मलाई वसन्तको बारेमा थप जानकारी भयो– उनी त त्यहाँ सामान्य वसन्तमात्र नभएर कवि वसन्त, समाजसेवी वसन्त, त्योभन्दा पनि अझ साहित्यिक अभियन्ता वसन्तको रूपमा स्थापित भइसकेका रहेछन् । अमेरिका बस्दै जाँदा न्यूयोर्क, डी.सी. र भर्जिनियाका विभिन्न साहित्यिक समारोहमा उनले तयार पारेर प्रस्तुत गरेका कार्यपत्रहरू सुनेपछि उनको विद्वता र परिपक्वतामा किञ्चित सन्देह रहेन मलाई । वसन्त र मेरो भेटघाट डी.सी., भर्जिनियाका कार्यक्रमहरूमा बाक्लिँदै गयो । एक–आपसमा कविताहरू सुनाउने क्रम पनि बढ्दै गयो । त्यसबेलासम्म वसन्तका कृतिहरू प्रकाशित भएका थिएनन् तर चाँडै प्रकाशन गर्ने तीव्र चाहना प्रकट गर्दथे उनी, हरेक भेटघाटमा ।

सन् २०१० तिरको भेटघाटमा भने वसन्तका विचारमा केही परिवर्तन आएको महशुस भयो मलाई । समय–समयका भेटघाटमा अ.न.ेसा.स.को प्रशंसा गर्ने उनले यसपटकको भेटघाटमा भने अ.ने.सा.स.प्रति केही असन्तुष्टी जाहेर गरे र अन्त्यमा उनको अध्यक्षतामा नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिका गठन गरेको जानकारी दिए । त्यसमा मैले अलिकति विमति राख्दै उनी स्वयम् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्ष भइसकेको मानिसले समानान्तर साहित्यिक प्रतिष्ठान खोल्नुभन्दा त्यसमै सक्रिय रहेर त्यसलाई अझ जीवन्तता दिने प्रयास गरेको भए राम्रो हुने विचार व्यक्त गरें । मेरो विचारको प्रत्युत्तरमा उनले भने, ‘अ.ने.सा.स.मा कामभन्दा बढी विवाद हुन थाल्यो । अब हामीले भाषा र साहित्यका लागि केही योगदान गर्नुपर्दछ र त्यसका लागि वातावरणसमेत बनाउनुपर्दछ । त्यसका लागि यो प्रतिष्ठान खोल्ने निर्णय गरेर म यसमा संलग्न भएको हुँ, यसमा अन्यथा केही छैन । मेरो पहिलो उद्देश्य भनेको साहित्यकारलाई स्थापित हुन सहजीकरण गर्ने पनि हो । कतिपय स्थापित कवि साहित्यकार पनि आफ्नो घरमा साहित्यकारको मान्यता पाइरहेका छैनन् । साहित्यकारलाई अनुत्पादक कार्यमा संलग्न भयो भनेर परिवारबाट नै उपेक्षा गर्ने गरेको नसुनिएको होइन । त्यसका लागि मैले पहिलो चरणमा हरेक वर्ष कविता प्रतियोगिताको आयोजना गरेर एक लाख रुपैयाँको पुरस्कार प्रदान गर्ने र दोस्रो चरणमा हरेक वर्ष नभए पनि कम्तीमा हरेक दुई वर्षमा नेपाली साहित्यका मूर्धन्य स्रष्टाहरूलाई दस लाख राशिको नगद पुरस्कार दिन पुग्ने कोष बनाएर पुरस्कार वितरण गर्ने सोच बनाएको छु ।’ वसन्तका यी योजना सुनेपछि मैले थप विवाद गरिन र उनलाई सफलताका लागि अग्रिम बधाई दिएँ ।

वसन्तका प्रायः कविताहरू अमेरिकाको भूमिमा रहेर सिर्जिएका भए पनि लाग्छ, नेपाली माटोमा प्रष्फुरित, पुष्पित र पल्लवित भएका हुन् । उनका कवितामा कतै मातृभूमिप्रतिको प्रेम, कतै मर्म प्रकट भएको छ भने कतै समसामयिक चेतना र जीवनका अनुभूति र भोगाइको यथार्थता प्रकट भएको छ । नेपालीले प्रवासी भएर विश्वका कुनै कुनामा बसेर सिर्जना गरे पनि ती सिर्जनामा नेपाली हृदय बाचाल भएर बोलिरहेको पाइन्छ । वसन्तका सिर्जनाहरू पनि यसबाट अछुतो छैनन् । यसको सुन्दर दृष्टान्त ‘बाल्टिमोर मेरा आँखामा’ का यी हरफहरूमा उनको कवि हृदय यसरी प्रकट भएको छ । बाल्टिमोरको कुनै घरको छतमा वसन्तको भौतिक शरीर भए पनि मन मातृभूमिको कल्पनामा तरङ्गित छ ।

बाल्टिमोर !
तिम्रो आँखामा कतै
बुद्धको छायाँ देख्छु
बाल्टिमोर !
तिम्रो भावनाभित्र कतै
सगरमाथाको माया भेट्छु
बाल्टिमोर !

वसन्तका कविता पढ्दै जाँदा उनका कवितामा विम्बहरूको प्रचूर मात्रामा प्रयोग भएको देखिन्छ । यसरी विम्बहरूका माध्यमबाट चेतनाका स्वरहरू, समसामयिक सुस्केराहरू प्रष्फुरण भएको पाइन्छ, जसको उदाहरणका रूपमा उनको ‘भावनाको न्यानो स्पर्श’ कविताका केही हरफहरूमात्र पनि पर्याप्त छन् ।

गुराँस फुल्ने आशमा बिस्तारै
न्यास्रो बढ्न थालेको छ
लाग्छ
बिस्तारै यात्रा अन्त कतै
मोडिन चाहेको छ
भनौँ
रातो गुराँस फुल्ने आशमा
पारिलो घाम झुल्कने विश्वासमा
तुषारापात भएको छ
हो बा ऊ आउँछ ?
भनी सोध्ने छोराको
हँसिलो मुहार
गुराँससँगै नफक्रने भएको छ ।

वसन्तका कतिपय कविताका पङ्क्तिहरू पढ्दा गोपालप्रसाद रिमालका कविताको आभाष हुन्छ पाठकलाई । रिमालका कवितामा जसरी विद्रोह र विरोधका स्वरहरू गुञ्जन्छन्, त्यसैगरी वसन्तले पनि ओकलेका छन्, विद्रोहका ज्वाला र विरोधका स्वरहरू ठाउँ–ठाउँमा ।

कहाँ छेक्न सक्छ र
कलमको शक्तिलाई
कहाँ रोक्न सक्छ र तानाशाही सत्ताले
प्रतिभाको भेललाई
कहाँ बाध्न सक्छ र
भावनाको लहरलाई जन्जीरले
अनि
कहाँ मेट्न सक्छ र
इतिहासको पानालाई सङ्गीनले ।
(भाषाः शान्ति र सिर्जनाको)
तिमीलाई थाहा छ
सधैँ जीवन्त रहेको
वीर नेपालीको तातो रगतले
र कसैको उपनिवेश नबनेको देश
त्यसैले कसैले प्रयास नगरे हुन्छ
आज नेपालीहरू
भियतनाम, चेचनिया र अफगानिस्तानको
नाममा समर्पित बन्ने छैनन् ।

(मेरो देश)

अन्त्यमा, अमेरिका बसेर पनि वसन्तले जुन प्रकारले उन्मुक्त भएर नेपाली भाषा–साहित्यको सेवा गरिरहेका छन्, साहित्यकारलाई अभिनन्दन (माधव घिमिरे, सत्यमोहन जोशी, तारानाथ शर्मा, तुलसी दिवस आदि) लगायत कार्यक्रमहरु गरिरहेका छन् त्यसका पछाडि रहेको अदृश्य शक्ति अर्थात् विद्या भाउजूको चर्चा गरिएन भने वसन्तको चर्चाको पनि अवश्य अवमूल्याङ्कन हुनेछ । मलाई लाग्छ, अमेरिमा पुगेका हरेक स्रष्टाहरूको केही न केही रूपमा सेवा गर्नुहुने विद्या भाउजूका गुणहरू हरेक स्रष्टाका गृहिणीका लागि अनुकरणीय छन् भन्दा अतिशयोक्ति नहोला ।

यसमा तपाइको मत

अन्य समाचार