नेपाली साहित्य पनि विश्वसाहित्यको दाँजोमा लेखिएका छन्-टंक सम्बाहाम्फे

टंक सम्बाहाम्फे हङकङेली तथा नेपाली साहित्य फाँटमा रेखाकविका नामले सुपरिचित छन् । नेपाली साहित्य प्रतिष्ठान हङकङका वर्तमान अध्यक्ष, अनेसास हङकङ र बिनेसाम हङकङ च्याप्टरका सल्लाहकारसमेत रहेका उनी नयाँ समय डटकम र सेवारो अनलाईन टिभीका प्रधान सम्पादक पनि हुन् । धनकुटाको चौबीसे गाउँपालिका–३, कुरुले तेनुपाबाट सन् १९९६मा हङकङ छिरेयता नेपाली साहित्यको भण्डारका लागि अथकरुपमा लागि परेका साहित्यकार सम्बाहाम्फेले ‘युद्धभित्र उभिएका बुद्धहरू’ कवितासङ्ग्रह, ‘मनोभाव’ र ‘सार’ गीतिएल्बम बजारमा ल्याइसकेका छन् । यसका अतिरिक्त उनका अनगिन्ति साहित्य तथा यससम्बन्धी लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । सम्बाहाम्फेले यतिबेला पहिचानका लागि साहित्यमा खरो ढङ्गले कमल चलाउँदै आएका छन् । राष्ट्रिय भाषा नेपालीको उत्थान सँगसँगै जातीय पहिचान पनि आवश्यक ठान्ने साहित्यकार टंक सम्बाहाम्फेसँग मिलापका लागि कृष्ण भुसालले गरेको कुराकानीः–

अहिले के लेख्दै हुनुहुन्छ ?
म अहिले छोटा विधाहरु गीत, कविता, मुक्तक, हाईकु, लघुकथा र फेसबुक स्टाटसहरु लेखिरहेको छु ।

साहित्य लेखन कहिलेदेखि सुरु गर्नुभएको हो ?
मैले साहित्य लेखन २०४४ सालदेखि लेख्न सुरु गरेको रहेछु । आज तपाईंले सोध्नु भयो र पुरानो डायरी पल्टाउँदा यही मिति पाएँ । म त्यसबेला माध्यमिक तहमा पढ्दै रहेछु ।

यहाँका प्रकाशित कृतिहरू कति छन् र अझै कुन–कुन विधाका कति कृतिहरू लेख्ने र प्रकाशन गर्ने कार्य योजनामा हुनुहुन्छ ?
अहिलेसम्म प्रकाशित तीन कृति छन् । एक कवितासङ्ग्रह ‘युद्धभित्र उभिएका बुद्धहरु’ (२०५७) र दुई गीतिएल्बम ‘मनोभाव’ र ‘सार’ छन् । नेपाली लोक आधुनिक ती दुवै एल्बम चर्चित गायक गायिकाहरुको स्वरमा रहेका छन् । लेखिसकेका विधाहरु तर प्रकाशनको तयारीमा भने १० पुस्तक छन्, कथा, कविता, हाईकु, मुक्तक, लेख संस्मरण आदि गरेर । अब यी पुस्तकहरु पछिल्लो चरणमा प्रकाशन गर्दै लैजाने योजनामा छु । लेख्ने क्रम त विविध विधामा जारी नै छ ।

तपाईंलाई आफ्ना मौलिक कृतिहरू निकालेपछि कस्तो अनुभूति हुने गर्छ ?
मैले आफ्ना मौलिक कृतिहरू निकालेपछि नेपाली तथा विश्वजगत्का लागि केही बौद्धिक काम गरेछु जस्तो लाग्छ । किनकि साहित्य लेखन विशुद्ध बौद्धिक काम हो । विश्वजगत्का लागि भने मेरा कृतिहरु अङ्ग्रेजीकरण भएपछि हुनेछ । केही मेरा कविता अङ्ग्रेजीकरण गरिएको छ, त्यो विश्वजगत्का लागि भयो ।

एकथरी मानिसहरू भन्छन्, साहित्यमा यौन चाहिन्छ । अनि अर्काथरी मानिसहरू भन्छन्, साहित्यमा यौन वर्जित छ । यहाँको विचारमा के होला ?
नेपाली साहित्यमा यौन चाहिन्छ । त्यही यौनका विषय नेपाली साहित्यमा काम लेखिएकोले हाम्रो देश समाज र परिवारमा यौनहिंसा भएका छन् । यौन मानवीय जीवनको मुख्य अंश हो । जब कोही लेखकले साहित्यमा यौन वर्जित छ भनेर भन्छ भने ऊ कसरी जन्म्यो । म प्रश्न गर्न चाहन्छु । यौन चाहिन्छ भन्नाले छाडा प्रवृत्तिको लेखनमा होइन यौनजीवनको महत्व दिएर लेखिनु जरुरी छ । सुरक्षित यौनको कुराले मानिसलाई यौनजीवनमा सहयोग गर्छ । त्यसैले म भन्छु नेपाली साहित्यमा यौन चाहिन्छ । र, लेखिन जरुरी छ, कसैले नकार्न सकिन्न ।

तपाईंलाई वर्तमान समयमा निस्केका आख्यान/अनाख्यान कृतिहरूमध्ये कसकसका कुनकुन कृतिहरू कुन हदसम्म मन पर्छन् ?
मलाई वर्तमान समयमा निस्केका आख्यान÷अनाख्यान कृतिहरू धेरै मन पर्छन् । तर, यसैका यी कृतिहरु हुन् चाहिँ भन्दिनँ किनभने कृति र लेखक आआफ्ना रोजाइमा हुन्छन् पर्छन् । किनकि मलाई मनपर्ने लेखक र कृति अरुलाई मन नपर्न सक्छ । त्यसकारण यी कुराहरु गौण राखेको हुँ । नेपालमा सर्वाधिक पढिने विधा आख्यान कृतिहरु हुन् भन्ने सुन्छु । र, सर्वाधिक छापिनेचाहिँ कविता भन्ने पनि सुन्छु । तर, सुन्नु र व्यवहारमा फरक हुन्छ । खासगरी मलाई भने आख्यानमात्र नभएर अन्य विधा पनि त्यत्तिक्कै मन पर्छन् र पढ्छु ।

उत्तरआधुनिकता भनेको के ? तपाईंका विचारमा नेपालमा यसको प्रयोग केकसरी भइरहेको छ ?
उत्तरआधुनिकता भनेको नै मलाई सीमाहीन लेखन भन्ने लाग्छ । उत्तरआधुनिकताले केन्द्र भत्काएर विकेन्द्रीकरण गर्छ र विविध केन्द्रको स्थापना गर्छ । लेखनको सीमालाई भत्काएर सीमाहीन अथवा स्वतन्त्र बनाउँछ । यो उत्तरआधुनिकता साहित्य लेखनको चरित्र र विशेषता हो भन्ने लाग्छ मेरो बुझाइमा । उत्तरआधुनिकता भन्नासाथ डेरिडाको कुरा आउँछ, उनले अनेक हिसाबले व्याख्या गरेका छन् । त्यो कुरा जान्न किताबको ठेली नखोली हुन्न । र, नेपालमा उत्तरआधुनिकता लेखनको प्रयोग आयामेली लेखक इन्द्रबहादुर राई बैरागी काइँला र ईश्वरवल्लभले प्रयोग गरेका हुन् । त्यसपछि क्रमशः अन्य लेखकहरुमा फैलिँदै हामीसम्म आइपुगेको हो । हुनचाहिँ यसको प्रभाव लक्ष्मीप्रसाद देवकोटा बालकृष्ण गोपालप्रसाद रिमालमा पनि देखिएका हुन् तर उनीहरुले परिभाषित गरेनन् । लगभग अहिले नेपालमा उत्तरआधुनिकता भरपुर प्रयोग भएको पाएको छु । म आफै पनि उत्तरआधुनिकता फलोअर भएको छु ।

तपाईं डायस्पोरिक साहित्यकारको रुपमा परिचित हुनुहुन्छ ? कति भयो विदेशिनुभएको ?
परिभाषाले विदेश गएर त्यतैका विषयमा कमल चलाउने साहित्यकारलाई डायस्पोरिक साहित्यकारको रुपमा नेपालमा चिन्ने गरिन्छ । र, मलाई डायस्पोरिक साहित्यकारको रुपमा चिन्नुहुन्छ । अब यसलाई कसरी स्पष्टीकरण दिऊँ भन्ने लाग्छ किनकि म हङकङमा बसेको मितिले २२ वर्ष जस्तो भएछ । तर, म हङकङको स्थायी बासिन्दा भए पनि नेपाली नागरिता र पासपोर्ट होल्डर हुँ । यो भएकोले म नेपालमा पनि भोट दिन पाउँछु र हङकङमा पनि पाउँछु । यो हिसाबले म डायस्पोरिक साहित्यकार हो कि होइन, तपाईं आफै छुट्याउनु होस् । तर, नेपालमा भने डायस्पोरिक साहित्यकारको रुपमा चिन्नुहुन्छ । बिल्लाचाहिँ भिराउनुभएको छ जे होस् । लेख्ने मेरो जीवनको सपना र गन्तव्य हो लेखिरहन्छु जे भन्नु भए पनि ।

त्यहाँ के–के साहित्यिक गतिविधि सञ्चालन गरिरहनुभएको छ ?
हङकङमा मासिक रुपले साहित्यिक गतिविधि सञ्चालन विगत ८ वर्षदेखि भइरहेका छन् । यसको गतिविधि हङकङ नेपाली साझा साहित्य शृङ्खलाले गर्दै आएको छ, जसको संस्थापक सदस्य म आफै पनि हुँ । शृङ्खलामार्फत् रचना वाचन, समीक्षा, पुस्तक प्रकाशन, विमोचन र पुरस्कार वितरणसमेत गर्छौं । साथै, नेपाली साहित्य प्रतिष्ठान हङकङको वर्तमान अध्यक्ष पनि हुँ । अन्य थुप्रै साहित्यसम्बन्धी धेरै छन् सबैले नेपाली वाङ्मयलाई अभिवृद्धि गर्ने र साहित्य विकास गर्ने काम नै गरिरहेका छन् ।

डायस्पोरा लेखनलाई तपाईंको दृष्टिबाट कसरी मूल्याङ्कन गर्नुभएको छ ? मानकतालाई ख्याल गरेर लेखिएका छन् या रहर एवम् रोइला र कुण्ठामात्र लेखिएका छन् ?
डायास्पोरा नेपाली साहित्य लेखन एउटा छुट्टै विषय बनेको छ । यस विषयमा एमए तहमा धेरैले थेसिस लेखेका छन् र अहिले लेखिँदै पनि छन् । र, कतिले पीएचडीसमेत गरेका छन्, कतिले गर्दैछन् । डायास्पोरा नेपाली साहित्य लेखनले नेपाली साहित्यमा छुट्टै स्थान, दृष्टि र दृष्टिकोण दिएको छ । मेरो मूल्याङ्कनमा यो नेपाली साहित्यमा नयाँ र धेरै राम्रो आयाम भन्ने लाग्छ । फरक स्वादको, ढङ्गको, विचारको, शैलीको, रङको लेखन आउने भएकोले अब नेपाली साहित्य झनै शक्तिशाली र धनी भएर गएको छ । डायस्पोरा लेखनको मानकतालाई ख्याल गरेर लेखिएका कति छन् र कति छैनन् पनि । कतिले रहर एवम् रोइला र कुण्ठामात्र पनि लेखेका छन् । तर, जुन राम्रा लेखिएका छन्, तिनलाई डायस्पोरिक साहित्यको मानकको रुपमा लिनुपर्छ । नेपालमै पनि लेखिएका कति रहर एवम् रोइला र कुण्ठामात्र लेखिएका छन्, होइन र ?

डायस्पोरिक साहित्यको अवस्था कस्तो देख्नुहुन्छ ?
डायस्पोरिक नेपाली साहित्य लेखनको अवस्था तीव्र गतिमा बढिरहेको देख्छु । किनभने डायस्पोरा साहित्यकारहरुले कुनै प्रकाशन संस्था कुरिरहनु पर्दैन । आफ्नो कृति प्रकाशनका लागि आफै सक्षम छन् । त्यसैले अहिले डायस्पोरिक साहित्य लेखनको अवस्था झ्याङ्गिदै गएको अवस्था हो । भलै यसले व्यावसायिका पाएको त छैन तर डायास्पोरिक नेपाली साहित्य लेखनमा उत्साहचाहिँ बेजोडले जागेको छ । लगभग विश्वभरि हरेक दिन एउटा पुस्तक छापिन्छ जस्तो लाग्छ । यसले गर्दा डायास्पोरिक नेपाली साहित्य लेखन खस्केको देखिन्न, बरु मौलाएको अवस्थाचाहिँ देखिन्छ ।

साहित्यिक गुट–उपगुटहरूलाई तपाईं कुन रूपमा लिनुहुन्छ ?
साहित्यिक गुट–उपगुटहरूलाई म खासै विशेष रुपले हेर्दिनँ । नेपालमा मात्र होइन विश्वभरि नै यस्तो प्रवृत्ति पाइन्छ । साहित्यिक गुट–उपगुटले साहित्यिक व्यक्तिहरु फुटमा परिन्छ । कहिले एक्लो त कहिले साथ पनि पाइन्छ । तर, विशुद्ध साहित्यकार कहिल्यै साहित्यिक गुट–उपगुटमा लाग्नुहुन्छ जस्तो लाग्दैन । तर, यो दुनियामा सोचेभन्दा फरक रुपले साहित्यिक गुट–उपगुटहरु परिचालित छन् । पुरस्कार दिलाउने, उचाल्नेदेखि लिएर खसाल्नेसम्मका काम यही साहित्यिक गुट–उपगुटहरुले गरिरहेका छन् । अब विशुद्ध भन्ने हराइसक्यो, बाँच्नका लागि पनि साहित्यिक गुट–उपगुट पक्रिनुपर्ने दिन आयो । म भने त्यस्तो साहित्यिक गुट–उपगुटमा कतै पनि छैन ।

 

नेपाली साहित्यलाई विश्वसाहित्यको दाँजोमा यहाँ कहाँनेर पाउनुहुन्छ ?
नेपाली साहित्यलाई विश्वसाहित्यको दाँजोमा यहाँ कहाँनेर खोज्ने भन्ने शब्दले निकै दुखित तुल्याउँछ किनकि नेपाली साहित्यलाई विश्वसाहित्यको दाँजोमा लेखिएका छन् । तर, विश्वबजारमा पु¥याइएका छैनन् । यही कुराले बुझ्नुहोस् नेपाली साहित्यलाई विश्वसाहित्यको दाँजोमा यहाँ कहाँनेर पाइन्छ भनेर । नेपालको सरकारी निकायले नेपाली साहित्यलाई बेवस्ता गर्छ । नेपाल प्रज्ञा–प्रतिष्ठान छ, त्यहाँ राजनीतिकरण छ । विशुद्ध साहित्य लेखेर योगदान दिने मान्छे त्यहाँ पुग्ने बाटो राजनीतिकरणले छेकिएको छ । यो हिसाबले नेपाली साहित्यलाई विश्वसाहित्यको दाँजोमा यहाँ कहाँनेर भेटिन्छ, आफैले खोज्ने बेला आएको छ ।

नेपाली साहित्यलाई अनुवाद गरेर विश्वस्तरमा लैजान किन सरकारी र गैरसरकारी तहबाट उदासिनता देखाइएको होला ?
नेपाली साहित्यलाई अनुवाद गरेर विश्वस्तरमा लैजान किन सरकारी र गैरसरकारी तहबाट उदासिनता देखाइएको होला भनेर जुन प्रश्न गर्नुभयो । त्यसको उत्तर प्रष्ट छ, सरकारले त्यसै पनि साहित्यलाई बेवास्ता गर्छ । नेपाली साहित्य श्रीवृद्धिका लागि त्यस्तो बजेट छुट्याएको हुन्न । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट छपाइका केही कामहरु हुन्छन्, त्यो अपुग हो । गैरसरकारी तहबाट पनि केही काम भएका छन्, त्यो पनि अपुग नै हो । खासमा सरकारी र गैरसरकारी तहमा समन्वय छैन । साहित्यका लागि भनेर संविधानको कुनै धारा छुट्याइएको जस्तो लाग्दैन । यी आदि इत्यादि कारणले सरकारी र गैरसरकारी तहमा उदासिनता देखिएको हो र छ नै ।

घर–परिवारबाट तपाईंको लेखनलाई कत्तिको सपोर्ट मिलेको छ ? आफ्नो पेसा या व्यवसायले तपाईंलाई लेखनमा कत्तिको ऊर्जा मिल्ने गर्छ ?
घर–परिवारबाट मेरो लेखनमा राम्रो पाएको छु । त्यो सपोर्टले नै म यो स्थानमा पुग्न सफल भएको हुँ । मेरो लेखनको ऊर्जा नै मेरो जीवनसङ्गिनी हुन् । उनले सधैँ म सुस्ताएको बेला के भो, किन लेख्नु भएन ? भनेर सोध्छिन् र फेरि लेख्न तम्सिन्छु । यदि साथमा उनी नहुने हो भने मेरो लेखन त्यतै कतै अल्मलिन पनि सक्थ्यो । मेरो पेशा र लेखनको परिस्थित ज्यादै फरक छ । तर पनि मेरो रगतमा साहित्यिक सिर्जना सञ्चारित भएको हुनाले पेसाले ऊर्जा दिएको अनुभव गर्छु । खाना वा खाजा खाने बेलाको छुट्टी ट्रेन वा बसको यात्रा गर्दा लेख्ने गर्छु । छुट्टीका दिनहरु परिवार सङ्घ–संस्था र आफैले खोलेको सेवारो अनलाइन टिभीमा समय खर्चिन्छु ।

पुरस्कृत भएका नेपाली साहित्यका पुस्तकहरूका बारेमा तपाईंको धारणा के छ ?
पुरस्कृत भएका नेपाली साहित्यका पुस्तकहरूका बारेमा मेरो धारणा अलि फरक छ । पुरस्कार भनेको लेखकका लागि खासै केही होइन र पुरस्कारका लागि साहित्य लेखिनु पनि हुन्न भन्छु । साथै, म पुरस्कारका लागि लेख्दिनँ पनि तर कसैले राम्रो मूल्याङ्कन गरेर दिन्छ भने त्यसमा मेरो आपत्ति पनि हुन्न । पुरस्कृत भएका नेपाली साहित्यका पुस्तकहरू सबै उत्कृष्ट छन् भन्न म सक्दिनँ । कति उत्कृष्ट छन् त कति छैनन् । किनकि पुरस्कारले कुनै पनि लेखकको कृति दर्ज हुँदैन, हुन सक्दैन । बरु आमपाठकले कुन कृति कति उत्कृष्ट छ भन्ने कुराको निक्र्याेल गर्नु उचित होला भन्ने ठान्छु ।

आफूले अहिले बिताएको यो जीवनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
मैले जिएको जीवन वा बिताउँदै गरेको जीवनबाट अत्याधिक सन्तुष्टि छु । म साहित्यिक माहोलमा जन्मेको मान्छे होइन । मेरो पारिवारिक पृष्ठभूमि साहित्यिक होइन तर पनि साहित्य अनुरागी बन्न पुगेँ र नेपाली साहित्य लेखेर अँगाल्न पुगेँ । जीवन जगत्लाई मैले जानेसम्म, बुझेसम्म, भोगेसम्म, देखेसम्मका अनेक विषयमा साहित्यिक, वैचारिक विषयवस्तु दुनियासामु ल्याउन सक्ने क्षमता निर्माण यही साहित्यको ऊर्जाले दियो । सायद त्यसैले होला मेरो जीवनको चिनारी यही साहित्यको रङले दियो । टंक सम्बाहाङफे भन्ने व्यक्तिलाई एउटा अलग उचाई दियो । हो म यही कुराले जीवनमा अत्याधिक सन्तुष्टि छु । मैले पनि अमरत्वको बाटो पहिल्याउने आँखा, विचार र ऊर्जा पाएँ । हुन त मैले गर्न बाँकी नै छ र पनि यहाँसम्म जिएको जीवन अति प्रिय छ ।

स्वमूल्याङ्कनका आधारमा तपाईं सफल कि असल मानिस हो ? आफ्नो प्रतिविम्बन आफैँले गर्नुहोस् न ?
स्वमूल्याङ्कनका आधारमा आफूलाई सफल मानिसको रुपमा हेर्छु किनकि मैले चालेका पाइलाहरु अहिलेसम्म त्यति असफलतामा परेका छैनन् पनि । सोच विचारका साथ बढ्दा पक्कै पनि असफल होइन्न । मसँगै लेख्ने कति साथीहरुलाई समयको धुलोले पुरिदियो । जो उनीहरुले लेख्नै छोडिदिए । तर, म भने अडिग र निरन्तर लेख्दै आएको छु । यस्तै, लेख्दै आए निरन्तरताले चर्चाको शिखरमा पु¥याउँदो रहेछ । सायद यही कारणले पनि मिलापजस्तो पत्रिकाले मलाई खोज्दै आयो । र, यो अन्तर्वार्ता दिने मेरो संयोग जु¥यो । अरु धेरै अनलाइन र प्रिन्ट मिडियाले यसरी स्थान दिनुभएको छ । यो नै मेरो मूल्याङ्कनमा सफलताको पदचाप हो । यिनै हुन् मेरो आफ्नै प्रतिविम्बन, जहाँ असफलता होइन सफलतामात्र देख्छु ।

लेखनमा आउन लागेका नयाँ लेखकहरूलाई के सल्लाह दिन चाहनुहुन्छ ?
म सिकारु लेखक हँु र नयाँ लेखनका लागि आजीवन सिकारु नै हुन्छु जस्तो लाग्छ । पर्फेक्ट भन्ने कुरा वा अन्तिम सत्य हँुदै हँुदैन । किनकि आजको साइबर युगले अन्तिम सत्यलाई फेल ख्वाएको छ र पर्फेक्ट भनिएको पनि अर्को समय र परिस्थितिले अनपर्फेक्ट बनाइदिन्छ । यही कारणले गर्दा सामान्य सल्लाह, सुझाव म के दिन चाहन्छु भने साहित्य लेख्ने प्लट, परिस्थिति, विषयवस्तु सबै फरक भएर गएका छन् । त्यसैले पहिलेजस्तो स्वअध्ययनले मात्र हँुदैन । अध्यायनसँगै खोज–अनुसन्धान पनि हुन जरुरी छ । अहिले पहिलेजस्तो स्वैरकल्पना लेखिन्न । तथ्य र सत्यको बीचमा उभेर यथार्थपरक लेख्नुपर्ने हुन्छ वा लेखिन्छ अहिले । यिनै मूलभूत कुराहरु अङ्गीकार गर्दै विश्वसाहित्यको प्रवाहलाई नजर गरेर कलम चलाउन सल्लाह दिन्छु ।

तपाईं कुनै साहित्यिक विचार लेखनको अभियानमा हुनुहुन्छ कि ?
हजुर, म रेखाकविता लेखन अभियानमा छु अथवा छौँ । यो लेखन संयुक्त फरक कविता लेखन हो । जुन अभियानको कविता प्रथमपल्ट सन् २०१० को सेप्टेम्बर १२ तारिखका दिन सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको थियो, कवि देश सुब्बाको । यो नै रेखाकविता लेखन औपचारिक सुरुवात हो, जसको उर्वर वा उत्पतिस्थल हङकङ भूमि हो । त्यसपछि क्रमशः लेखकहरुको सङ्ख्या थपिँदै ५ वटा देशमा छरिएर रहेका १२ जना कविहरुको सहभागिता छ । पहिला रेखाकविता भनिँदै अहिले रेखासाहित्य भनिन पुगेको छ । यस लेखनका जम्मा ५ वैचारिक बुँदाहरु छन्, जुन बुँदाले परिभाषित गरेका कवितामात्र रेखाकविता वा रेखासाहित्य हुनेछन् । बँुदाहरु समानता, क्षेत्रता, सामयिकता, सहनशीलता र आलङ्कारिता रहेका छन् । यसमा अरु ५ उपबँुदाहरु पनि रहेका छन् ।

अन्त्यमा ?
मिलाप परिवारलाई हार्दिक धन्यवाद । यस पत्रिकाले मेरो साहित्यिक विचार उजागार गर्ने स्थान दियो र पाठकहरुसामु पु¥याउने जमर्को ग¥यो । कति पाठकहरुका लागि म पहिलोपटक देखिएको लेखक पनि हुन सक्छु । तर, ३१ वर्षदेखि निरन्तर नेपाली साहित्यसँग बुर्कुसी मार्दै आएको छु । मेरो साहित्य लेखनमा लोभ लालच केही छैन, छ भने राम्रो र उत्कृष्ट लेख्नेमात्र हो ।

मिलापको पौष अङ्कबाट

यसमा तपाइको मत

अन्य समाचार