दाङको बंगलाचुलीमा आगलागीमा परेर तीन बालबालिकाको मृत्यु

दाङ,
मंसिर २८ ।

आगलागीमा परेर दाङको बंगलाचुलीमा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका–८ गुराँसेका नवराज पुनको घरमा आगो लाग्दा उनका ७ वर्षीय छोरा कृष्णबहादुर, ५ वर्षीया छोरी अस्मिता र साढे २ वर्षीया छोरी अन्जुको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परेर ७ वटा बाख्रा र ४ वटा गाईसमेत मरेका छन् । घरमा बालबालिका मात्र भएका बेला आगलागी भएको बताइएको छ । फूसको छानो भएको दुई तले कच्ची घरमा सोलारको ब्याट्री पड्किएर आगलागी भएको प्रहरीले बताएको छ । हिजो साँझ ६ बजेतिर लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा राति १२ बजे मात्र नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै दाङको तुलसीपुरस्थित एक घरमा समेत आज भीषण आगलागी भएको छ । वीरेन्द्रनगर चोकमा रहेको भीमप्रसाद घिमिरेको घरमा रहेको जुत्ताको होलसेल पसलमा आगलागी भएको हो । आगलागीबाट तीन तले घरमा रहेका सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार