पवन चामलिङको उदयपछि भाषा र साहित्यको विकास र विस्तार भयो-पुण्यप्रसाद शर्मा

पिताश्री पं. चामुनारायण शर्मा उपाध्याय न्यौपाने र माताश्री ओममाया देवी न्यौपानेका बाह्रौं सन्तान अर्थात् कान्छा पुत्ररत्न पुण्यप्रसाद शर्मा वि.सं. २०१२ साउन १० गते तदनुसार सन् १९५५ जुलाई २५ का दिन जन्मनुभएको हो । श्री शर्मा जन्मँदा अठारपुराण, चार वेदलगायत सम्पूर्ण धर्मशास्त्रका थाकको सिरानी लागेको थियो । उहाँ चौध वर्षको उमेरमा टेक्दा–नटेक्दै ज्येष्ठ भ्राताश्री शिवराज शर्माको सत्सङ्गमा रहनुभयो । श्री शिवराज शर्माद्वारा सञ्चालित श्रीराज प्रकाशन र नेपाली साहित्य सञ्चयिका दार्जिलिङको निकटस्थ रहेर प्रकाशनका क्षेत्रमा देखापर्नुभएका श्री पुष्यप्रसाद शर्मा वनारस, कोलकता, दिल्ली र सिलगढीका छापाखानाहरुबाट पुस्तक, पत्रपत्रिका प्रकाशन गरी नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, सम्वद्र्धन र वितरण एवम् प्रचार–प्रसार गर्दै आइरहनुभएको छ । यस किसिमको भाषा, साहित्य, संस्कृतिको प्रचार–प्रसार गर्ने कार्य सन् १९८४ देखि स्थायी तवरमा सिक्किम ‘जनपक्ष प्रकाशन’ स्थापना गरेर निरन्तर तुल्याइरहनुभएको छ  ।
श्री पुण्यप्रसाद शर्माले सयकडौं कवि, लेखक, भाषाविद्हरुका कृतिहरु प्रकाशन गरिदिनुभएको छ । उहाँ स्वयम् स्रष्टा हुनुहुन्छ र आफ्ना मौलिक रचनाकृतिका अतिरिक्त, गरिमामय सम्पादनका कार्यमा पनि संलग्न हुनुहुन्छ । नेपाल र भारतका विभिन्न सम्मानित सङ्घ–संस्थाहरुका पुरस्कार र विभूषणबाट सम्मानित र पुरस्कृत भइसक्नुभएका श्री पुण्यप्रसाद शर्मा सिक्किमका सम्माननीय मुख्यमन्त्री श्री पवन चामलिङज्यूका विश्वास र आशीर्वादपात्र व्यक्तित्व हुनुहुन्छ । श्री शर्मासित साहित्य र सिक्किमका समसामयिक परिप्रेक्ष्यहरुमा केन्द्रित रहेर मिलाप मासिकका लागि साहित्यकार महेश प्रसाईंले गर्नुभएको वार्ताको सारसंक्षेपः-

तपाईंले भाषा र साहित्यको अनुष्ठानमा धेरै महत्वपूर्ण कृतिहरुको रचना, सम्पादन र अनुवादको कार्य सम्पन्न गर्नुभएको छ । तथापि, ‘विश्व कविताहरु’को अनुवाद सर्वोत्कृष्ट कृति हो भन्ने लागेको छ । तपाईंको अनुभव कस्तो छ ?
‘विश्व कविताहरु’को अनुवाद नै मेरो जीवनको सर्वोत्कृष्ट कृति हो भन्नुपर्दा मलाई पनि गर्व अनुभव हुन्छ । मैले आफ्ना कृतिहरु लेखें । अरूका कृतिहरु सम्पादन गरें । प्रकाशन गरें । मुद्रणका सिलसिलामा, वितरणका सिलसिलामा अनेक ठाउँ, अनेक व्यक्ति र अनेक प्रवृत्तिहरुसित जम्काभेट गर्न पुगें । सबै प्रकारका अनुभवहरु छन् मसित । ‘विश्व कविताहरु’को अनुवादकको पात्र म भए पनि, पृष्ठभूमिमा सम्माननीय मुख्यमन्त्री श्री पवन चामलिङज्यू र आदरणीय साहित्यकार एवम् दाजु श्री भीम दाहालज्यू (दुवै)को अनुराग र आशीर्वाद छ । उहाँहरुको आशीर्वाद प्राप्त नगरेको भए यस कृतिले मूर्तरुपमा सार्वजनिक हुन पाउने थिएन ।

अनुवादकार्य अत्यन्त कठिन मानिन्छ । तपाईंले नै अनुवादक र मौलिक सर्जकका बीच इमानदारिता जरूरी छ भनेर स्वीकार गर्नुभएको छ नि ? कत्तिको सतर्कतापूर्ण उत्रिनुभएको छ ?
मैले स्वीकार गरिसकेको छु कि अनुवाद कार्य अत्यन्त कठिन छ र जोखिम पनि उत्तिकै छ यसमा । अनुवाद भनेको भाषिक अभिव्यक्तिको ‘सतर्कतापूर्ण कुशल सञ्चार’ हो । ज्ञानको सीमितताका कारण ‘आत्मा विलुप्त’ भइदिन्छ पनि । यस्तो विलुप्तता नहोस् भन्ने प्रयास छ मेरो ।

आफ्नो क्षमताले भ्याएसम्म नेपाली भाषी पाठक–अध्येताहरुलाई विश्वका पचास प्रकारका कविहरुका कविता रसस्वादन गराउने जमर्को गरेको छु । यसैमा चाहिँ सन्तोष छ । अनुवाद कार्यमा म सफल भएँ कि भइन थाहा छैन, विश्व परिकार पस्कन सकेकोमा खुसी पनि छु र गर्वबोध पनि भइरहेको छ मलाई । अरूले ठीक–बेठीक के भने थाहा छैन । मेरो जीवनका विशिष्ट र श्रद्धेय व्यक्तित्वद्वय श्री पवन चामलिङ साहेब र भीम दाहाल साहेबबाट बधाई र धन्यवाद पाइहालें । अब मलाई के चाहियो र !

तपाईं आसामबाट, काठमाडौंबाट र सिक्किमबाट विभिन्न पुरस्कारहरुले विभूषित हुनुभएको छ । कुन ठाउँको सम्मान र पुरस्कारले तपाईंलाई कृतार्थ तुल्यायो त ?
यो प्रश्नको जवाफ धेरै जटिल छ । मलाई आसामले माया ग¥यो । आसामप्रति कृतार्थ छु । काठमाडौंले माया ग¥यो काठमाडौंप्रति कृतार्थ छु । सिक्किमले माया ग¥यो सिक्किमप्रति कृतार्थ छु । तर, माया र सम्मानको तुलना हुँदैन । सबै क्षेत्रका सम्मान र पुरस्कारहरु, माया र अनुरागहरु एउटै हुन्, उस्तै हुन् । तथापि, अर्घेलो नठानियोस् मेरो कर्मक्षेत्र सिक्किम भएकाले ‘निर्माण सम्मान’ प्राप्त गर्दा चाहिँ म केही बढी ‘एक्साइटेड’ भएको हुँ ।

सिक्किमको साहित्यिक गतिविधिहरुमाथि केही प्रकाश परिदिनुहुन्छ कि ?
सिक्किमको साहित्यिक इतिहास धेरै लामो छैन । तथापि, जे भएको छ, जति भएको छ उत्कृष्ट स्रष्टाहरुको रचनाधर्मिताले भएको छ । जुन राज्यका कवि नै शासक हुन्छ राजा भ्रतृहरि जस्तो, त्यस्तो राज्यमा भाषा र साहित्यले फस्टाउन सकेकोमा आश्चर्य मान्नुपर्दैन । पवन चामलिङ मुख्यमन्त्रीको अग्लो पद बोकेको राजनीति र राजनेता साहित्यमा पनि ‘टावरिङ हाइट’को कवि हो । उहाँ नेता हुनुहुन्छ, राजनीति बुझ्नुहुन्छ । सँगसँगै कवि र कविताको मर्म पनि बुझ्नुहुन्छ । कवि र कविताकै भाषा एवम् साहित्यकै मर्म र धर्म बुझ्नुभएकाले उहाँले ‘निर्माण प्रकाशन’का माध्यमबाट सयकडौं स्रष्टाका कृतिहरु प्रकाशन गरेर अनुगृहित तुल्याउनुभएको छ ।
सन् १९९४ अघि अर्थात् पवन चामलिङ उदाउनुभन्दा अघि साहित्यको गतिविधि खासै उल्लेखनीय थिएन । तर, चामलिङ साहेबको उदय भएपछि अकल्पनीयरुपमा भाषा र साहित्यको विकास र विस्तार भयो । सिक्किमको विकास र समृद्धि सँगसँगै स्रष्टा र साहित्य पनि सार्वभौम हुन पाए ।

हिन्दी साहित्यका प्रतिनिधि कथाख्यानहरु र नेपालभित्रका प्रतिनिधि नेपाली कथाख्यानहरुजस्ता विषयमाथि केही गर्ने विचार छ कि ?
म सिक्किमलाई चाहिने पाठ्यपुस्तकहरु र सरकारका प्रकाशनहरुमाथि अत्यन्त व्यस्त भएकाले तपाईंले उठाउनुभएको विषयमाथि समय दिन सकिरहेको छैन । भाषा र साहित्यको सम्वद्र्धन कार्यमा म अत्यन्तै संवेदनशील छु । हिन्दी र नेपाली आख्यानहरुका अतिरिक्त कविता र निबन्धमाथि पनि काम गर्ने सोच बनाएको छु ।

यसबेला भाषा र साहित्यमाथि नवीनतम् कार्य गर्ने केही सोच बनाउनुभएको छ कि ?
भोलिको सुन्दर भविष्य भनेको आजका बालबालिका हुन् । उनीहरुकोक कलिलो मस्तिष्कलाई ऊर्जा प्रदान गर्ने बालसाहित्य हो । हाम्रोतिर बालसाहित्यको उल्लेखनीय विकास हुन सकेको छैन । बालसाहित्यका कृतिहरुको लेखन र प्रकाशनका लागि म अत्यन्त संवेदनशील छु । यसबारे काम गर्ने उत्कट अभिलाषा छ मेरो ।
हामीले बालजगत् र युवाशक्तिलाई विशेष प्राथमिकता दिनुपर्दछ । यिनको विकासबाट नै राज्य समृद्ध हुन्छ, बलियो हुन्छ ।
हाम्रो बौद्धिक खुराक हो साहित्य । जुन राष्ट्रको साहित्य उर्वरा हुन्छ, त्यहाँको धर्ती नै सम्भ्रान्त हुन्छ, समृद्ध हुन्छ । त्यसैले बालविकास र युवाविकासमा साहित्यको भूमिका हुन्छ । राष्ट्रलाई सबल जनशक्ति उत्पादन गर्न उत्प्रेरणामूलक साहित्यको खाँचो भएकाले म बालसाहित्य र युवावर्गलाई आवश्यक खुराक प्रदान गर्ने साहित्यको प्रवद्र्धन गर्नेतिर केन्द्रित छु ।

तपाईंले हालसम्म ३ सय ५० भन्दा बढी साहित्यिक कृतिहरु र ३ सय ५० वटा स्कुल, कलेज र विश्वविद्यालय स्तरका लागि पाठ्यपुस्तक लेखन, सम्पादन र प्रकाशन गरिसक्नुभएको छ । यसैगरी लिम्बू, लेप्चा, भोटिया, नेपाली, हिन्दी, राई, सुनुवार, तामाङ, नेवारी, शेर्पा, गुरूङ र अङ्ग्रेजी आदि गरेर ३ सयभन्दा बढी सङ्ख्यामा पाठ्यपुस्तकहरुको प्रकाशन गर्नुभएको छ । प्रकाशनको सङ्घारमा अझै कति महत्वपूर्ण कृतिहरु तयार गर्नुभएको सुनिन्छ । यस्तो व्यस्त जीवनमा ‘सोसल वर्कर’को भूमिका पनि निर्वाह गर्नुभएकै छ । कसरी सम्भव छ ?
सर्वप्रथम मैले समयलाई चिनेको छु । समय बग्छ, बगिरहन्छ । मुहानतिर फर्कंदैन । म पनि समयको प्रवाहमा चलायमान भइरहन्छु । समय सँगसँगै बग्न सकेको हुँदा मैले उपरोक्त कार्यहरु सम्पादन गर्न सकेको हुँ । मैले समयलाई पूजा आराधना गरिरहें, समयबाट मैले अमूल्य प्रसादहरु पाइरहें, जसले समयलाई दुरुपयोग गर्छ, उसको भलो कहिल्यै हुँदैन ।

श्री चामलिङले भारतीय मुख्यमन्त्रीहरुको लामो शासनको रेकर्ड ब्रेक गर्नुभएकोमा तपाईं कस्तो अनुभव गर्दै हुनुहुन्छ ?
भारतवर्षको राजनीतिक इतिहासमा श्री पवन चामलिङले गर्नुभएको रेकर्ड ब्रेकको कीर्तिमानी कार्य महान् ऐतिहासिक घटनाक्रम हो । उहाँको इतिहास स्वर्णाक्षरले लेखिन्छ । श्री चामलिङप्रति म विशेष गर्व गर्छु, त्यो भिन्नै कुरा हो । सिक्किमेलीले गर्व गर्छन् । भारतीय नेपालीले गर्व गर्छन् । मलाई लाग्छ मित्रराष्ट्र नेपाल र त्यहाँका नेपालीले पनि गर्व गर्छन् । इतिहासमा यस्तो घटना दोहोरिएर देखा पर्दैन ।

यसमा तपाइको मत

अन्य समाचार