मिस मङ्गोल नेपालका विजेताले घोषणा गरे ५० लाख रुपैयाँको छात्रवृति

काठमाडौं,
मंसिर १९ ।

मिस मङ्गोल नेपालका विजेताले ५० लाख रुपैयाँको छात्रवृति कोष घोषणा गरेका छन् । राजधानीमा मङ्गलबार पत्रकार सम्मेलन गरी मिस मङ्गोल नेपाल-२०१८ जाङमु सेर्पा, फस्ट रनरअप प्रीति गुरुङ र सेकेन्ड रनरअप पुनम सेर्पाले संयुक्त रुपमा अभियान घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार असहाय एवम् आर्थिक अभावले विद्यालय जान नपाएका बालबालिकालाई कोषमार्फत छात्रवृति उपलब्ध गराइने छ । यो छात्रवृति राजधानी वा मोफसलमा अध्ययनरत विद्यार्थीलाई जुनसुकै कक्षाबाट एसईईसम्मका लागि दिइने छ ।

आर्थिक अभावले विद्यालय जान नपाएका बालबालिकालाई पढाउने उद्देश्यले छात्रवृति कोष अभियान आरम्भ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

वार्षिक १० भन्दा बढी बालबालिकालाई पढाउने लक्ष्यका साथ सुरु गरिएको यो कोषको मुख्य स्रोत ‘डोनेसन’ र ‘फन्ड राइजिङ च्यारिटी प्रोग्राम’ हुने मिस मङ्गोल नेपाल २०१८ की विजेता जाङमु सेर्पाले जानकारी दिइन् । ‘मिस मङ्गोलको उपाधि जितेपछि पाएको सामाजिक पहिचान र जिम्मेवारीलाई आत्मासाथ गर्दै समाजका लागि केही न केही काम गर्नुपर्छ भन्ने लागेर यो अभियान आरम्भ गरेका हौं’, उनले भनिन् ।

पत्रकार सम्मेलनमा फस्ट रनरअप प्रीति गुरुङले कोषलाई पारदर्शी र विश्वव्यापी बनाउन बेभसाइट निर्माण गरी सबै जानकारी राखिने जानकारी दिइन् । ‘कोषको आधिकारिक वेभसाइटमा दाताको विवरण, कोर्षमार्फत अध्ययन गर्ने छात्रछात्रा, कोषका गतिविधी सबै राख्नेछौं’, प्रीतिले भनिन् । प्रीतिका अनुसार यो कोषका लागि विश्वभरका जोकोहीले अनुदान दिन र वेभसाइटमार्फत जानकारी लिन सक्ने छन् ।

प्रतियोगिताकी सेकेन्ड रनरअप पुनम सेर्पाले यो कोषमार्फत विद्यालय जान नपाएका धेरै बालबालिकाले पढ्ने मौका पाउने बताइन् । ‘अहिलेको समयमा पढ्न पनि नपाउनु दुर्भाग्य हो । त्यसैले चाहेर पनि विद्यालय जान नपाएका बालबालिकाका लागि अभियान आरम्भ गरेका हौं’, उनले भनिन् । यो अभियानले नेपाली सौन्दर्य प्रतियोगितालाई नयाँ उचाईमा पुर्याउने पनि उनले विश्वास व्यक्त गरिन् । एक्सन इन्टरटेनमेन्टको आयोजनामा हुँदै आएको मिस मङ्गोल नेपालले १०औं वर्ष पुरा गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार