अपाङ्ग भएका व्यक्तिको हरेक कार्यक्रममा समान पहुँच-प्रधानमन्त्री

काठमाडौं,
मंसिर १७ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, नीति र कानूनमा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा, पुनःस्थापना, सहभागिता र समावेशीकरणलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

सत्ताइसौँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उनले अपाङ्गता भएका व्यक्तिको राज्यप्रदत्त सेवा सुविधा र अवसरलगायत जनलक्षित हरेक कार्यक्रममा समान पहुँच हुनै पर्दछ, उनीहरुले पनि अरुसरह लाभान्वित हुन पाउनै पर्दछ भन्ने मान्यतामा नेपाल सरकार प्रतिबद्ध रहेको जनाए ।

‘अपाङ्गता भएका व्यक्ति विभेद र अवरोधका कारण क्षमता हुँदाहुँदै पनि समाजको सक्रिय नागरिकका रूपमा जीवनका हरेक क्षेत्रमा सहभागी हुनसक्ने विगतको अवस्थामा परिवर्तन ल्याउन वर्तमान सरकार अग्रसर भइसकेको छ’, सन्देशमा भनिएको छ ।

सन्देशमा नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ को पक्ष राष्ट्र भएको उल्लेख गर्दै सरकारले उक्त महासन्धिको धारा ९ लाई कार्यान्वयन गर्ने क्रममा सार्वजनिक संरचना र सूचना तथा सञ्चार प्रणालीमा अपाङ्गता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्न आवश्यक नियम र मापदण्ड लागू गरिसकेको उल्लेख गरिएको छ ।

वि.सं. २०३९ मा बनेको अपाङ्ग संरक्षण तथा कल्याण ऐनलाई पुनःलेखन गरी वि.सं. २०७४ देखि अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन लागू गरिसकिएको जनाउँदै सन्देशमा उक्त ऐनमा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क शिक्षालगायत, पुनःस्थापना, रोजगारी, सहायक सामग्री, जनचेतना, सशक्तीकरण र सामाजिक सुरक्षाका प्रावधान समावेश गरिएको जनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार